नेपाली भाषा शिक्षक समिति: अन्तरवार्ता
Showing posts with label अन्तरवार्ता. Show all posts
Showing posts with label अन्तरवार्ता. Show all posts

Wednesday, May 20, 2020

भाषामा अहिले उग्रवाद चाहिँदैन बालकृष्ण पोखरेल

4:37 AM 0
भाषामा अहिले उग्रवाद चाहिँदैन बालकृष्ण पोखरेल

भाषामा अहिले उग्रवाद चाहिँदैन

बालकृष्ण पोखरेल 

करिब छ दशकअघि हामीले झर्रोवादी आन्दोलन सुरु गरेका थियौं।  त्यतिबेला नेपाली भाषाको लेख्य र कथ्यबीचको अन्तर कम गर्ने अभियान नै चलाएको थियौं। वर्णविन्यासमा एकरुपता र सहजता सिर्जना गर्न थुप्रै नियम प्रस्ताव गरेका थियौं। 
timthumb
तर, त्यतिबेला म बालकृष्ण पोख्रेललाई के थाहा थियो भने, 'दश कोषमे पानी बदले पाँच कोषमे बानी'।
नेपाली कथ्यकै स्वरुप स्थान विशेष फरक-फरक छ। कथ्यको मान हुनुपर्छ, कथ्यको सम्मान हुनुपर्छ। कथ्यको छुट्टै डिक्सनरी निस्किनु पर्छ। कथ्यमा पिएचडि गरिनुपर्छ। कथ्यलाई दुहेर इतिहासका लुकेका कुरा दुहिनु पर्छ। तर, एक कथ्य र अर्को कथ्यबीच झगडा गराउने बाटोमा जान मिल्दैन। कुनै कथ्य शब्द वा शैलीलाई नै मानक बनाउन मिल्दैन।
त्यो बेला हाम्रो झर्रोवाद निकै नै उग्र थियो।
हामीले त्यसबेला नौलो पाइलो चलाएको हो। हामी भाषा जोगाउन युद्धमा होमिएका थियौं। युद्धकालमा जहिले पनि उग्र नीति हुन्छ। तर, युद्धपछि धेरै उग्र नीतिहरू छोड्नु पर्ने हुन्छ। झर्रोवादको एक ढंगको विजय भएपछि हामीले आन्दोलनताका उठाएका कतिपय कुराहरू छोड्यौं, सुधार गर्यौं। झर्रोवादी आन्दोलनकै कारण नेपाली भाषाले अहिलेको स्वरुप प्राप्त गरेको हो। 
झर्रोवादी आन्दोलन नभएको भए अहिले घरघरमा जस्तो नेपाली बोलिन्छ, यो भाषा यस्तो रुपमा रहने थिएन। अहिलेको कुमाउँनी वा गढवाली भाषाकै अवस्थामा पुग्ने थियो। किनभने, त्यो बेला नेपाली भाषा 'क्युँकीवल्की'  र 'अगरमगर'को आँधीमा उडिसकेको थियो। हिन्दी मात्रै होइन,अंग्रेजी र  ऊर्दु भाषाको प्रभावबाट पनि नेपाली भाषालाई जोगाएको थियो।
अंग्रेजी शब्द लिनु अंग्रेजीको प्रभावमा पर्ने होइन तर अंग्रेजीको नियम लिनु प्रभावमा पर्नु हो। नेपाली भाषाले हिन्दी शब्द लिन सक्छ तर हिन्दी नियम लिनु चाहिँ प्रभावमा पर्नु हो।
नेपाली भाषा आफ्नो खुट्टाले टेकेर उभिन आफ्नो मुटु, कलेजो, टाउको फेला पार्नु पर्थ्यो। मैले 'पाँच सय' वर्ष नामक किताब लेखेँ। यसले नेपाली भाषाको लामो प्रमाणित इतिहास रहेको प्रमाणित गर्‍यो। यसपछि पनि नेपाली भाषाको इतिहासमा प्रशस्त काम भइसकेको छ। नेपाली भाषा कम्तिमा पनि साढे तेह्र सय वर्ष पुरानो इतिहास रहेको प्रमाणित भएको छ।  
व्याकरणको परिवर्तन पुस्तैपिच्छे गर्ने कुरा होइन। सयौं वर्षमा केही कुरा फेरिन्छ भने त्यसलाई स्वभाविक रुपमा फेरिन दिनुपर्छ।  
नफेरिने भए मनुष्य मान्छे हुने थिएन, कनिष्ठ कान्छो हुने थिएन, मत्स्य माछो हुने थिएन। भाषा त सुटुक्क फेरिने कुरा हो।
तर, जानीजानी, सिपालु  भएर, म भाषा परिवर्तन गर्छु, सजिलो बनाउँछु भनेर हुँदैन। अहिले जसरी नयाँ वर्णविन्यास थोपर्ने प्रयास भइरहेको छ, यो देख्दा मलाई हाँस्न मन लाग्छ।
व्याकरण र वर्णविन्यास छोटो-छोटो समयमा गरिरहने हो भने यसले भाषालाई अस्थिर र अस्पष्ट बनाउँछ। यो परिवर्तन हुन पहिले जनजीवनमा परिवर्तनलाई राम्रोसँग भिजिसक्न दिनुपर्छ।
साढे १३ सय वर्षभन्दा पुरानो पुरानो नेपाली भाषा आहिले आफ्नो जीवनको वयस्क अवस्थामा छ। जे आउँछ,त्यसलाई नेपाली बनाइदिन्छ। आफ्नो पन दिन्छ। यो भाषा बलियो र सशक्त भएकाले नै हो।
जस्तो भानुभक्तको पालाको 'एकदिन नारदमुनि सत्यलोक पुगिगया लोकको गरुँ हित भनी'मा भएको 'पुगी गया'अब नेपाली भाषामा छैन। तर, यो परिवर्तन कहिँ कसैले तोक लाएर गरिदिको परिवर्तन होइन। यो त जनजीवनमा प्रयोग फेरिएपछि बल्ल यसरी लिपिबद्ध गरिएको हो। मानक पनि यसरी नै निर्माण हुन दिनुपर्छ। यसैलाई मानक बनाउँछु भनेर थोपर्नु हुँदैन।
अहिले नेपाली भाषामा यस्तो कुनै पनि परिवर्तनको टड्कारो आवश्यकता देखिँदैन। नेपाली भाषा परिपक्व र वैज्ञानिक छ। यसमा नियम र परिवर्तन थोपरिनु हुँदैन।

(भाषाविद् पोखरेलसँग रोहित खतिवडाले गरेको कुराकानीमा आधारित सामग्री सेताे पाटी ८ट कमबाट साभार)

‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’

4:24 AM 0
‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’
- जोतारे धाइबा
चावहिल सरस्वतीनगरस्थित निवासमा पुग्दा डा. तारानाथ शर्मा नेपाली भाषामा पछिल्लो समय आक्रमणमा परेका शब्द र अक्षरहरुको टिपोट गरिरहेका भेटिए ।
पछिल्लो समय भाषामा तोडमोड गरिँदा एक भाषा मर्मज्ञको मनमा के खेलिरहेको होला भनेर सोध्दा उनले खिन्नता र झोंक मिसिएको भावमा भने, ‘म चुपचाप बसेको छुइनँ, सबै हेरिरहेको छु । अहिले भाषा बिगार्नेहरुले भयंकर बिगारे । यिनीहरुलाई बिगार्ने नै भन्छु म !’
भाषा बिगार्न निर्णय गर्नेलाई उनी भाषाविद् मान्न तयार भएनन् । थपे, ‘भाषा नजान्ने मान्छेलाई पनि भाषाविद् भन्छन् कहीँ ? भाषा जान्ने मान्छेले त आफ्नो इतिहास पनि हेर्नुपर्छ । विदेशी दलाल भएर तिनीहरुको वर्णमालामा हाम्रो भाषालाई ढालेर भाषा बन्छ ?’
एक समय नेपाली भाषा शुद्ध हुनुपर्छ भनेर लागेका झर्रोवादी आन्दोलनका एक अगुवा हुन् डा. शर्मा । त्यतिमात्र होइन, निबन्ध, कथा, समालोचनामा उत्तिकै दक्षतासाथ कलम चलाउने उनले कुनै समय नेपाली पाठ्यपुस्तकसमेत लेखेका थिए ।
शर्मालाई सोधियो-भाषालाई यसरी बिगारेको देख्दा चित्त कत्तिको कुँढिएको छ ?
‘मेरी आमालाई कसैले लात्ताले हिर्कायो भने कस्तो लाग्छ ? त्यस्तै भएको छ,’ भाषालाई अचाक्ली माया गर्ने मन खोले उनले, जुन यो समय निकै आहत भएको रहेछ ।
लामो हिज्जे परम्परामा रहेका विद्या, बुद्ध, भक्त जस्ता संयुक्त वर्ण अहिले खुट्टा काटेर लेखेको देख्दा उनको मन निकै पिरोलिएको छ । अनि कतिपय वर्णहरु (ञ, ण, श, ष, व) अनावश्यक भन्दै हटाइँदा र एउटै डिकोमा लेखिँदै आएका समास शब्द (विराटनगर, लक्ष्मीप्रसाद) लाई छुट्याएको पढ्दा सकसक लाग्दोरहेछ ।
Tara-Nath-Sharma-6-768x460
दार्जीलिङदेखि बनारससम्म
भाषालाई आमासमान मान्ने शर्माको रुचि र चाख अहिलेको होइन, विद्यार्थीकालदेखि नै उस्तै छ ।
इलाम बरबोटेबाट भारतको दार्जीलिङ पुगेका शर्माले नौ कक्षादेखि आईएसम्म त्यहीँ पढे । दार्जिलिङ बसाइका क्रममा उनको सरसंगत पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, शिवकुमार राई, रुपनारायण सिंह जस्ता भाषा-साहित्यसेवीहरुसँग भयो । त्यो संगतबाट उनले शुद्ध नेपाली सिके । नेपाली भाषा शुद्ध बनाउनुपर्छ भनेर लागे । ‘गाउँघरका मान्छेहरुले कस्तो बोल्छन्, म त्यही लेख्थेँ । अंग्रेजी र हिन्दीका अप्ठेरा शब्द लेख्दिनथेँ । आफैं खोजेर नेपालीपनमा जोड दिन्थेँ,’ उनले सुनाए ।
दार्जिलिङबाट उनी ०१३ सालतिर भारतकै बनारस पुगे, बीए पढ्न । त्यहाँ धेरै नेपालीहरु पनि हुन्छन् र पढाइ राम्रो हुन्छ भनेपछि बनारस युनिभर्सिटीमा भर्ना भए । त्यहाँ उनको भेट बालकृष्ण पोखरेलसँग भयो । बिराटनगरका पोखरेल पनि त्यहीँ पढ्न आएका रहेछन् । नेपाली भाषाको शुद्धताबारे दुबैको रुची मिल्यो ।
शर्मा सम्झिन्छन् – ‘बालकृष्ण पनि मजस्तै शुद्ध नेपालीका पक्षमा रहेछन् । तर, यसलाई शुद्ध नेपाली नभनी झर्रो नेपाली भनौं भन्ने कुरा गरे उनले । थापा, बस्नेत, कटुवाल इत्यादि झर्रा अर्थात् चोखा क्षेत्री भएजस्तै नेपालीलाई पनि झर्रो भनौं भन्ने उनको कुरा थियो । त्यो मलाई साह्रै मन पर्‍यो ।’
त्यहीबेला कोषराज रेग्मी र उनका भाइ चूडामणि रेग्मी पैसा उठाएर पत्रिका निकाल्ने तयारीमा रहेछन् । तिनीहरु पनि बनारस युनिभर्सिटीमा अंग्रेजी पढ्थे । वल्लभमणि दाहाल र शर्माका दाजु पर्ने गणेशप्रसाद भण्डारी पनि त्यहीँ थिए । उनीहरु सबै मिलेर पत्रिका निकाल्न कम्मर कसे । पत्रिकाको नाम ‘नयाँ कदम’ राख्दा हिन्दीको गन्ध आउँछ भनेर ‘नौलो पाइलो’ राखे ।
बीएपछि बालकृष्ण भाषा विज्ञानमा र तारानाथ अंग्रेजीमा एमए गर्न कोलकाता, पटना पुगे । उनीहरु गएपछि पनि कोषराज रेग्मीहरुले केही समय पत्रिका चलाए । शर्मा भन्छन् – ‘कोषराज बिराटनगर फर्केपछि जनवार्ता र चूडामणिले भद्रपुरमा जूही भन्ने पत्रिका निकालेर झर्रा शब्दहरु चलाइ नै रहे । बालकृष्ण र मैले काठमाडौं पुगेपछि झर्रो आन्दोलनलाई झन् अगाडि बढायौं ।’
झर्रोवादले नेपाली भाषाको माउ भाषा संस्कृत भएकाले त्यसका वैयाकरणकार पाणिनिले सिकाएअनुसार चल्नुपर्छ भन्नेमा जोड दिएको थियो । जसको उद्देश्य थियो, भरिसक्य नेपालका सबै जातजातिले बुझ्ने र उच्चारण गर्न सजिलो हुने साझा भाषा बनाउने । पाणिनीको ‘सिद्धान्त कौमुदी’ असाध्यै वैज्ञानिक र पवित्र भएको उनले पटकपटक जोड दिइरहे ।
अंग्रेजीमा भाषा विज्ञानमा विद्यावारिधि गरेका ८२ वर्षे शर्मा दोहोर्‍याइरहन्छन्, ‘संस्कृत हाम्रो हजुरआमा भाषा हो । नेपाली भाषा संस्कृतबाट आएको भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । पाणिनिको व्याकरणले सिकाएको भन्दा अरुतिर जान खोज्यौं भने हामी लर्बरिन्छौं, बिग्रिन्छौं ।’
तर, अहिले मूल मर्ममै प्रहार गर्ने गरी नेपाली भाषाको वर्णविन्यास भत्काइँदा उनी टुलुटुलु हेर्न बाध्य छन् । झोँक्किन्छन् – ‘अहिले भाषालाई जोगाउन केही गरौं भने हाम्रो अधीनमा केही छैन । हाम्रो अधीनमा भए पो हामी सोच्थ्यौं त ! हाम्रो अधीनमा भए त नेपालीकरण गर भन्छौं नि ! हाम्रो साझा भाषा नेपाली हो, नेपालीलाई सबैले बुझ्ने भाषा बनाऊ ।’
अहिले भाषालाई चलाउनेहरु विद्वान् नभएको उनी ठोकुवा गर्छन् । ‘तिनीहरु त्यसै विद्वान् भएका छन् । अलि दिन नेपाली पढाए, अनि त ए हामी विद्वान् भयौं, भाषाविद् भयौं भन्नतिर लागे । त्यसरी हुँदैन नि ! भाषामा मनलाग्दी गर्नेहरू पनि कहीँ विद्वान् हुन्छन् ?,’ उनले झपार्ने लवजमा भने ।
केही नजान्ने मूर्खहरुले शासन चलाउँदा देश बिग्रिएजस्तै भाषामा पनि बढ्ता जान्ने हुनेहरुले विकृति ल्याएको उनले औंल्याए । यति भनिरहँदा उनले के सम्झिए कुन्नि, जिभ्रो टोके । र, पल्लो कोठातिर चियाउँदै मसिनो स्वरमा भने – श्रीमतीले कसैलाई गाली नगर्नू भनेकी छन्, सबैलाई बराबरी गर्नू रे !
भाउजूसँग डराउँदै ‘भाषाविद’ माथि प्रहार
नेपाली भाषाजस्तै हिन्दी पनि संस्कृतले जन्माएको भाषा हो । तर, शर्मा नेपाली भाषालाई संस्कृतकी पवित्र छोरी मान्छन् । किनकि हिन्दी भाषामा उर्दू, अरबीलगायत अन्य मिसिएर त्यसको संस्कृतपना हटेको छ । नेपालीमा भने त्यस्तो धेरै अचाक्ली छैन । संस्कृतले सिकाएकै बाटोमा हिँडिरहेको छ ।
तर, हिन्दी भाषाको प्रचार र प्रभाव बढेर नेपालमा पनि हिन्दीकै चलनचल्ती बढी देख्न थालेका छन् शर्माले । पत्रिका, रेडियो, टीभी जता पनि हिन्दी शब्द नचलाएको ठावैं देख्दैनन् । चिन्ता गर्छन्, ‘हिन्दीले गर्दा हाम्रो भाषा खाएको छ ।’ ठूलो देश भएकाले हिन्दीको प्रचार हुनु स्वाभाविक भए पनि हामीले आफ्नो भाषाको मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।
पछिल्लो समय भने वर्णहरु मिसिएर बनेको संयुक्ताक्षरलाई अंग्रेजी पाराले लेख्न थालेको देख्दा उनी बढ्तै झोंक्किएका छन् । क्र, कृ, क्व, क्ष, द्य, द्ध जस्ता संयुक्त अक्षरलाई हलन्त गरेर लेख्दा हामीले चलाउँदै आएको संस्कृतको नियम मिचिने उनको चिन्ता छ ।
अंग्रेजीबाट प्रभावित भएर अहिले संयुक्त अक्षरलाई हलन्त दिएर जथाभावी टुक्र्याउन थालिएको उनलाई लाग्छ । भन्छन्, ‘अंग्रेजीमा जस्तो अक्षरहरु एक-एक गरेर जोड्दा पो सजिलो हुन्छ भन्न थालेका छन् । हामीले उनीहरुले जस्तो गरेर हुँदैन, संयुक्ताक्षर गर्नैपर्छ । ऐ, औ छोडेर अब हामीले अइ र अउ लेख्ने ? संयुक्ताक्षर सिक्न अप्ठेरो भो, त्यसैले हलन्त गर्नुपर्छ भन्ने हो ? अलिकता सिक्नुपर्छ त ! नसिकी त्यसै आउँछ ?’
परिमार्जित नियम भन्दै भाषालाई जथाभावी चलाउँदा यसले विद्यार्थीलाई झन् बराल्ने र हाम्रो भाषालाई पनि थप बिगार्ने खतरा उनले देखेका छन् । यस्तो अवस्थामा भाषाको मौलिक परम्परा कायम राख्न झर्रोवाद झनै सान्दर्भिक भएको उनको ठहर छ । झर्रोवादलाई झन् अगाडि बढाएर नेपाली शुद्ध पार्नतिर जुट्नुपर्ने आवश्यक ठानेका छन् ।
तपाईंहरुले मौलिक स्वरूप जोगाउनुपर्छ भनिरहँदा छँदाखाँदाको ञ, ण वर्ण नचाहिने भनेर मास्ने काम भइसक्यो नि !
यो प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गरे, ‘हामीले ‘पुराण’, ‘कृपण’ भन्नु पर्दैन ? संस्कृत शब्द लेख्नुपर्दैैन ? विवरणलाई विवरन लेख्ने ? गनित लेख्ने ? हावा कुरा नगरौं न । हाम्रो उच्चारण अनुसार हिज्जे छ जम्मै । सबै उच्चारणका अक्षरहरु राख्नुपर्छ । तिनीहरुलाई हटाएर सरल पार्नु भनेको भाषा बिगार्नु हो ।’
संस्कृतको नभई आगन्तुक शब्द भएकाले पहिलेको शहीद अहिले सहिद लेख्दा हुने उनले सुझाए । तर, फूल र फुल नछुट्याई ह्रस्व लेख्ने नियम ल्याएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । भने, ‘उसले फुल ल्यायो भन्दा के ल्यायो ? अण्डा कि पुष्प, कसरी बुझ्नु ? भेदचाहिँ नछुट्याउने अनि शुद्ध गर्ने भन्दै जे पायो त्यही लेख्ने ?’
हिज्जेको परिमार्जित नियम पाठ्यक्रम विकास केन्द्रले विद्यालयको पाठ्यक्रममा लागू गरिसक्यो नि भनेर सुनाउँदा यसमा उनले खासै अचम्म मानेनन् ।
‘पाठ्यक्रम विकास केन्द्रमा राम्रो मान्छे कहाँ छन् र ! देशमा प्रधानमन्त्री त राम्रो छैन भने पाठ्यक्रममा कहाँ राम्रो हुन्छ ? त्यसको कुरै नगरौं । केही जानेका छैनन् तिनीहरुले । ती फटाहा हुन् ।’
फेरि सम्झिए, श्रीमतीले कसैलाई नराम्रो नभन्नू भन्या थियो, मैले भनिहालेँ ।
नयाँ नियममा पदवियोगमा पनि गल्ती देख्छन् उनी । पाणिनिले ‘पृथकार्था नाम एकार्थी भाव समास’ भने झैं पृथक्-पृथक् अर्थ दुई वा सोभन्दा बढी शब्द एक ठाउँ राखेपछि एउटा अर्थ जनाउँछन् भने समास हुन्छ र त्यो सँगै लेख्नुपर्छ भनेका छन् । त्यही नियम पछ्याउनुपर्ने उनी बताउँछन् ।
यसमा उनले उदाहरण नै दिए, ‘एकजना मावली दाजु हुनुहुन्थ्यो देवीप्रसाद भन्ने । देवी प्रसाद खानुहुन्छ भन्दा के अर्थ आउँछ ? देवीचाहिँ प्रसाद खानुहुन्छ । अब देवीप्रसाद खानुहुन्छ भन्दा के भो ? अर्को अर्थ आएन ? त्यसैले एकै ठाउँ राख्नुपर्छ कि पर्दैन भन्ने त्यहीँबाट बुझिहालिन्छ नि !’
नेपाली भाषा सरल पार्ने नाममा उच्चारण अनुसार हिज्जे लेख्ने नियम ल्याइएको छ । यसमा शर्मा पनि हिज्जे र उच्चारणबीच साह्रै राम्रो मेल हुनुपर्ने मान्छन् । तर, उच्चारण अनुसार हिज्जे कुनै भाषामा पनि नहुने उनी बताउँछन् । उनले भने, ‘भाषाका उच्चारण (कथ्य) र लेखन (लेख्य) दुई कुरामध्ये उच्चारणमा व्याकरण र लेखनमा हिज्जेको कुरा आउँछ । हिज्जे अनुसार उच्चारण हुनुपर्छ । उच्चारण अनुसार हिज्जे गरेर पनि साध्य हुन्छ ? अंग्रेजीलाई त्यस्तो गरे भने के हुन्छ ? कसैले सोच्छ त्यस्तो ?’
शर्मालाई लाग्छ, अहिले विद्वान् भएर देखिनेहरू एक नम्बरका पैसावाज हुँदा भाषाको दुर्गति भएको हो । आफ्ना विद्वान् साथीहरु पहिला त क्या बुझ्ने भए पनि अहिले ठ्याम्मै नबुझ्ने भएकोमा उदेक लाग्छ उनलाई । शंका गर्छन्, कता कता लागे, कसैले पैसा दियो कि ? क्रिश्चियनहरु आएर हाम्रो भाषा र धर्म बिगार्नेमा सक्रिय भएको देख्दा चिन्ता अझ चुलिएको छ ।
भाषाको कुरा गर्नेहरूबाट थरीथरी कुरा आउँदा मानक नेपाली भाषा कसरी बन्ला त ?
अंग्रेजीको दासत्वबाट छुटाएर हिन्दीलाई पछ्याउन छाडेपछि अहिलेको नेपाली भाषा नै मानक हुने उनलाई लाग्छ । त्यसका लागि अहिले विद्वान् भएर देखा पर्नेहरूलाई पनि नेपालीलाई माया गर, राष्ट्रवादी होऊ भनेर बुझाउन जरुरी देख्छन् ।
अब त थाकें, ५ लाख ७५ हजार लेखिएछ !
झर्रो आन्दोलनमा लागेका सहयात्रीहरुले एक-एक गरी चोला छोड्दै जाँदा तारानाथ पछिल्लो समय आफूलाई एक्लो महसुस गरिरहेका छन् । कोषराज, वल्लभमणि, गणेशप्रसाद बितिसके । चूडामणिले जूही पत्रिका चलाइरहे पनि खासै प्रभावकारी हुन सकेको छैन । उता बिराटनगरमा बस्दै आएका बालकृष्ण उमेरको शिखरमा पुगेर लेख्न र बोल्न नसक्ने गरी गलेका छन् ।
उनी पनि भन्छन्, अब त थाकेँ ! कसले के-के भाँडभैलो गर्छन्, उनीहरुकै पछि लागेर के हिँड्नु ! शर्मा हिसाब नै निकाल्छन्, अहिलेसम्म पाँच लाख ७५ हजार ६ सय ६२ वटा लेखोट लेखेछु । जम्मै नोटहरु भरिभरि छ ।
तर, जति लेखे पनि मान्छेहरुले वास्ता नगरेको र नपढेको देख्दा खिन्न बन्छन् । ब्लडप्रेसर र सुगरले च्यापेको वयोवृद्ध उमेरमा पनि उनले भाषाको माया भने छाडेका छैनन् । हक्की स्वरमा भन्छन्, ‘हाम्रो साझा भाषा नेपाली हो । आफ्नो भाषा शुद्ध पारेर सबैले बुझ्ने बनाऔं ।’
onlinekhabar.com बाट साभार