नेपाली भाषा शिक्षक समिति: समाचार
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Tuesday, October 10, 2023

नेपाली भाषा शिक्षक समितिद्वारा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण (भिडियोसहित)

7:18 AM 0
नेपाली भाषा शिक्षक समितिद्वारा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण (भिडियोसहित)

 


पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तर्गत नेपाली भाषा शिक्षक समितिको आयोजनामा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

असोज २१ र २२ गते गरी २ दिनसम्म अनलाइन मोडमा भएको प्रशिक्षणमा कक्षा ६ देखि १२ का अनिवार्य नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका १८ ओटा कविताको संरचना र लयविधानबारे प्रा. डा. देवी नेपालले सहजीकरण गरेका थिए । पहिलो दिन लोकलय र मुक्त छन्दका कविताका संरचना र लयसम्बन्धी सहजीकरण गरेका नेपालले दोस्रो दिन शास्‍त्रीय छन्दका कविताका लय र संरचनाबारे चर्चा गरेका थिए । मुक्त छन्दका कवितालाई समेत लयबद्ध प्रस्तुत गर्ने र कतिपय शास्‍त्रीय छन्दका कवितालाई गद्य रचनाको शैलीमा पाठ गर्ने गरेको आफूले देखेको भन्दै नेपालले यस्तो अवस्थाबाट कवितालाई कविताकै रूपमा अध्यापन गर्न सहज होस् भन्ने हेतुले आफूले कविताको संरचना र लयसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको अभियानले समग्र नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै हरेक विद्यालयमा पुगेर हरेक शिक्षकलाई प्रशिक्षण दिन असम्भव हुने परिस्थितबाट मुक्त हुनका लागि पनि यस्ता कार्यक्रम लाभदायी हुने धारणा राखे । कविता जुनसुकै छन्दमा भए पनि स्थानीय पहिचानलाई ख्याल गर्दै वाचन गर्न सकिने बताउँदै गति र यतिमा विशेष ख्याल राख्नुपर्नेमा उनको जोड थियो । सुप्रसिद्ध कविका रूपमा समेत परिचित नेपालले प्रशिक्षणकै क्रममा कविता लेखन अभ्यासका उदाहरणसमेत दिँदै गद्य कवितामा रहेको अन्तर्लयलाई बुझेर शिक्षण गर्न शिक्षकहरूसँग आग्रह गरे । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको जिम्मेवारीसमेत पूरा गरिसकेका डा. नेपाल वाल्मीकि क्याम्पसमा प्राध्यापनरत छन् । उनका छन्दसम्बन्धी ज्ञान दिने ‘छन्दपराग’ लगायत डेढ दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।

पहिलो दिनको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बश्यालले सिक्ने/सिकाउने अभियानमा आफूहरू लागिरहेको बताउँदै नेपाली विषय समितिको सक्रियता लोभलाग्दो रहेको अनुभव सुनाए । उनले पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमसँगै आवश्यक सम्पूर्ण सामग्रीहरू एकै साथ तयार पार्न सुझावसमेत दिए ।

विशेष अतिथि पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले विधागत विशेषतालाई बुझेर अध्यापन गर्नुपर्नेमा जोड दिए । विद्यालयहरूमा पुग्दा जुन उद्देश्यले पाठ्यपुस्तकमा सामग्री समावेश गरिएको थियो, त्यसको मर्ममा पुगेर शिक्षण हुन नसकेको अनुभव आफूले प्राप्त गरेको भन्दै अधिकारीले पाठ्यक्रम विकास केन्द्रले नै यसतर्फ ध्यान दिनुपर्ने महसुस भएको भनाइ राखे । यस्तो अवस्थामा प्रविधिमैत्री शिक्षक समाजले गरेको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।

कक्षा ८ को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘फर्क आफ्नै देश’ शीर्षकको कविताका कवि विक्रमपवन परियारले सो कविता वाचन गरेका थिए ।

दोस्रो दिनको प्रशिक्षण कवि डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो । कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘उज्यालो यात्रा’ का कविसमेत रहेका ज्ञवालीले आफ्नो कविता पढाउने शिक्षकहरूसँग भर्चुअल मोडबाटै भए पनि भेट्न पाएकोमा खुसी व्यक्त गरे । ‘शिक्षक मात्रै त्यस्तो आशा गर्न सकिने वर्ग हो, जसले समाज परिवर्तन गर्न सक्छ’ ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको नेपाली भाषालाई मास्नका लागि खेल भइरहेको छ, अब नेपाली भाषा जोगाउनका लागि शिक्षकहरू नै लाग्नुपर्दछ ।’ विधाका माध्यमबाट भाषिक सिप सिकाइरहँदा आफ्नो उद्देश्यमा स्पष्ट हुनुपर्नेमा जोड दिँदै विद्यार्थीलाई परिवर्तन गर्नका लागि शिक्षण केन्द्रित बनाउन उनले आग्रह गरे । शिक्षक विश्वकै राजदूत भएको उनको भनाइ थियो ।

विशेष अतिथि कक्षा ८ को पाठ्यपुस्तकमा समावेश गरिएको कविता ‘प्यारो प्रकृति’ का कवि प्रल्हाद पोखरेलले सो कविता वाचन गर्दै शिक्षकहरूसँगको सान्निध्य प्रिय लागेको अनुभव सुनाए ।

दुवै दिनका कार्यक्रम नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहराको अध्यक्षतामा भएको थियो । नेपाली विषयका शिक्षकहरूलाई पनि प्रविधिमैत्री बनाउने अभियानमा आफूहरू लागेको बोहराले बताए । कार्यक्रममा समितिका सदस्य तारादेवी आचार्य र ध्रुव गिरीले स्वागत गरेका थिए भने सञ्चालन रुपिन्द्र प्रभावीले गरेका थिए ।

Saturday, October 7, 2023

प्रशिसका केन्द्रीय महासचिव सस्मितको पाँचौँ कृति सार्वजनिक

8:44 AM 0
प्रशिसका केन्द्रीय महासचिव सस्मितको पाँचौँ कृति सार्वजनिक



प्रकाश अधिकारी

पोखरा । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गरे । प्रमुख अतिथि लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालपछि सुस्ताएर गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे ।

अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफसलको साहित्यलाई हेर्ने दृष्ट्रिकोणलाई लक्षित गदै भने, “हाम्रो साहित्यले अन्धराष्ट्रवाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।”  सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त साहित्यकारका रूपमा चित्रित गरे । उनले गणितको विषयवस्तुलाई अध्ययन गरेर त्यसलाई अगाडि पस्किन सक्यो भने पठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवासमेत गरे ।

पेसाले मावि तहका कुशल गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो । यसअघि धुमिल आकाश (शैक्षिक उपन्यास), विलोकन (मुक्तक सङ्ग्रह), बहाव (गजल सङ्ग्रह), र डायरीमा टाउके (हास्यव्यङ्ग्य) निबन्ध सङ्ग्रह प्रकाशाति छन् । कुरैकुराको खेती भुँडपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

समीक्षक रामप्रसाद सुवेदीले पुस्तकको “कुरैकुराको खेती” उत्कृष्ट कृतिका रूपमा आएको बताए । सुवेदीले अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट भाषाशैलीमा अभिव्यक्ति दिएको भनाइ राखे । लघु आकारका निबन्धमार्फत विसङ्गतिविरुद्ध विद्रोहका रूपमा “कुरैकुराको खेती” आएको बताए ।

लेखकीय भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभए पनि सामाजिक, राजनैतिक, शौक्षिक बेथितिले प्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि जन्मिएको आफ्नै अनुभवको सङ्ग्रह भएको बताए । विभिन्न समयमा आफूले भोगेका दुःख, दर्द र भोगाइलाई इमानदार भएर लेखेको उनको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा. षडानन्द पौडेल, विनेसामका केन्द्रिय सङ्गठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष भूपति बश्याल, प्रकाशक भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आचार्यले स्वागत र सचिव प्रेम थापा मन सञ्चालनले गरेका थिए । अनलाइन मोडमा सञ्चालन भएको कार्यक्रममा संसारभरका प्रसिद्ध लेखक, साहित्यकार, कवि,  पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 


 

 

 

Sunday, March 19, 2023

प्रशिस गण्डकीद्वारा शिक्षकलाई तालिम

8:10 AM 0
प्रशिस गण्डकीद्वारा शिक्षकलाई तालिम

पोखरा । प्रविधिमैत्री शिक्षक समाज नेपाल,  गण्डकी प्रदेशले  Digital pedagogy for ICT and 21st century skills Integration  सम्बन्धी   एकदिने कार्यशाला आइतबार पोखरामा सम्पन्न गरेको छ ।

शिक्षकहरूको लागि प्रविधिमा पहुँच पुर्‍याउन र बदलिँदो  समयसँगै  हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम तथा उच्च तहमा  सिकाइलाई प्रविधिसँग जोडेर प्रभावकारी र सिकारु अनुकूल सिकाइ सहजीकरणको वातावरण निर्माण गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रदेश अध्यक्ष श्रीकान्त पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशका ३० जना प्रधानाध्यापक  र शिक्षकहरूको सहभागिता रहेको कार्यशालामा त्रिभुवन विश्वविद्यालय  र नेपाल खुल्ला विश्वविद्यालयका प्रशिक्षकहरू  डा.  जीवन खड्का, डा. वेदप्रसाद ढकाल, रोमकान्त पाण्डे, डा.जीवन खनाल, प्रा. डा. तारादत्त भट्टलगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा सहयोगी संस्था 21st CS Nepal, NOU/TU, JAMIK Finland, HAMK Finland  का  professors Graham Burns , Eila Burns , Seija Koskela , Kirsi Korkealehto , Irmeli Lignell and Simo Uusinokka   हरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई  पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले  उद्‍घाटन गर्दै  शिक्षकहरुलाई प्रविधिसम्बन्धी सिप सिकाउने र प्रविधिमैत्री वातावरणमा अध्यापन गराउने विषयमा प्रविधिमैत्री शिक्षक समाजसँग आगामी दिनमा हातेमालो  गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज, नेपालका महासचिव  देवीप्रसाद शर्माले संस्थाको परिचय सहित उपस्थित सबैलाई स्वागत  गरेका थिए ।

सहभागीहरूका तर्फबाट  रोमहर्षण पौडेलले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राखे । अध्यक्षता प्रविधिमैत्री मैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशका संयोजक श्रीकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव संविधान लामिछानेले गरेका थिए ।



Tuesday, March 23, 2021

नेपाली भाषा शिक्षक समितिका संयोजक बोहरालाई सैनिक महाविद्यालयको सम्मान

8:54 AM 1
नेपाली भाषा शिक्षक समितिका संयोजक बोहरालाई सैनिक महाविद्यालयको सम्मान

कैलाली । प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरग नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहरा मङ्गलबार कैलालीमा सम्मानित भएका छन् ।

सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीको दसौँ वार्षिकोत्सवका अवसरमा सोही विद्यालयमा विगत ६ वर्षदेखि कार्यरत बोहरालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो । करिब २ दशकदेखि शिक्षणमा क्रियाशील बोहरासँग ‘पश्चिम घटना र विचार’ राष्ट्रिय दैनिकमा प्रधान सम्पादक भई पत्रकारिता गरेको अनुभव पनि छ । प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनी साहित्यमा पनि कलम चलाउँछन् ।

बोहरासँगै शिक्षकद्वय लोकेन्द्र सिंह र गोविन्द रेग्मी तथा कर्मचारीतर्फ टेकराज भट्ट, राजेन्द्रप्रसाद भट्ट, निर्मला चौधरी र सिंहराज चौधरी पनि सम्मानित भएका छन् । त्यसै गरी सैनिकतर्फ दीपक खड्का सम्मानित भएका छन् । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी निर्मलकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक  कार्यक्रम तथा पुरस्कार वितरण गरिएको थियो । उपरथी थापाले  युगसापेक्ष शिक्षा दिई विश्व शैक्षिक  बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन  गर्ने  कार्यमा महाविद्यालय अविराम लागिरहने विश्वास व्यक्त गरे ।

महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले धन्यवाद ज्ञापन व्यक्त गर्दै आगामी दिनमा महाविद्यालयको अझ बढी उन्नयन र प्रगति हुने विश्वास दिलाए

शिक्षक केपी कलौनीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत गर्दै महाविद्यालयका सम्पर्क अधिकृत सेनानी गोविन्द विष्टले कोरोना कहरमा पनि महाविद्यालय  पठनपाठनमा निरन्तर चलिरहेको उल्लेख  गरे ।

२०६७ चैत १० गते स्थापित विद्यालयमा हाल कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।



Friday, October 2, 2020

देशभरका नेपाली भाषा शिक्षकका लागि अनलाइन तालिम

6:18 AM 3
 देशभरका नेपाली भाषा शिक्षकका लागि अनलाइन तालिम

 पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको आयोजनामा देशभरका नेपाली भाषा शिक्षकका लागि विषयगत अनलाइन तालिम सम्पन्न भएको छ ।

असोज ८ गते सुरु भई ८ दिनसम्म सञ्चालन भएपछि बिहीबार आयोजित समापन समारोहमा प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बश्यालले नेपाली विषय समितिले सिङ्गो प्रविधिमैत्री शिक्षक समाजलाई नै गौरव लाग्ने कार्यक्रम गरेको बताए । नेपाली विषयमा पनि प्रविधिको प्रयोग हुन सक्छ र ? भन्ने शङ्कालाई समितिले चिरेको बताउँदै अब हरेक विषयलाई प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्नेमा बश्यालको जोड थियो । नेपाली भाषा, साहित्यका मूर्धन्य व्यक्तित्वहरुको सहभागितामा रहेको तालिम हरेक दिन १ हजार जनाको क्षमता भएको जुम भरिनुले तालिम प्रभावकारी र ऐतिहासिक भएको उनको ठहर थियो ।

समितिका संयोजक हर्क बोहराले प्रविधिमैत्री शिक्षक समाजमा आबद्ध नेपाली भाषा शिक्षकहरुको साझा मञ्चका रुपमा नेपाली भाषा शिक्षक समिति रहेको बताए । यसअघि ३० दिने अनलाइन तालिम सम्पन्न गरिसकेको समितिले सिर्जना शिक्षकका कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिँदै आगामी दिनमा पनि भाषा, साहित्य र शिक्षणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । अझै देशभर रहेका नेपाली भाषाका शिक्षकहरुलाई समितिमा आबद्ध भई अघि बढ्न आग्रह गर्दै बोहराले सबै मिलेर अघि बढेमा नेपाली भाषाको सम्मान बढ्नुका साथै व्यवस्थित सिकाइ सहजीकरण गर्न सकिनेमा जोड दिए । उनले पहिलो चरणको तालिमपछि नेपाली भाषा शिक्षकहरुबाट निर्मित कक्षा १० र ८ का शैक्षिक सामग्री सम्पादनका क्रममा रहेको जानकारी पनि दिए ।

प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले नेपाली भाषाको अध्यापन त्यसै पनि रोचक हुने र त्यसैमाथि प्रविधिको प्रयोग गरी अध्यापन गर्न सक्दा सुनमा सुगन्ध हुने धरणा सुनाए । सहभागीहरुका तर्फबाट भूपेन्द्र बी. सी. शारदा श्रेष्ठले मन्तव्य राखेका कार्यक्रममा तालिम अवधिभरको प्रतिवेदन प्रभा लम्सालले र धन्यवाद ज्ञापन केन्द्रीय उपाध्यक्ष हिमा थापाले गरेकी थिइन् ।


तालिमको उद्घाटन सत्रदेखि नै हरेक दिन भाषा-साहित्यका विशिष्ट व्यक्तिहरुलाई प्रमुख अतिथिका रुपमा निम्त्याएर भाषा, साहित्य र शिक्षणका विषयमा चर्चासमेत कार्यक्रममा गरिएको थियो । कार्यक्रममा प्रा. डा. रामनाथ ओझा, प्रा. डा. यादवप्रकाश लामिछाने, डा. रामप्रसाद ज्ञवाली, नेपाली भाषा शिक्षक परिषद् कास्की, डा. कर्णाखर खतिवडा, अध्यक्ष डिल्लीराम अर्याल, प्रा. राजेन्द्र सुवेदी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा अनलाइन कक्षा व्यवस्थापनका विषयमा होमनाथ भट्टराई, पाठ्यक्रम प्रबोधीकरणका विषयमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, पावरप्वाइन्टका विषयमा प्रशुराम चौधरी र होमनाथ भट्टराई, कविता रचना र शिक्षण तथा वर्णविन्यासका विषयमा डा. देवी नेपाल, अनुसन्धानमूलक लेख रचनाका विषयमा डा. केशव भुसाल र ब्लग निर्माण र डिजाइनका विषयमा रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए । सो अवधिमा तारा आचार्य, मिलन श्रेष्ठ, होमनाथ भट्टराईले स्वागत गरेका थिए भने सञ्चालन रुपिन्द्र प्रभावी र प्रतिमा पौडेलले गरेका थिए । सम्पादन समितिका सदस्यद्वय केशव कँडेल र रुक्मणि पौडेलले विशेष सहयोग गरेका थिए ।

विश्वव्यापी कोरोना महामारीका कारण विद्यालयमा नियमित पठनपाठन हुन नसकेको अवस्थाको सदुपयोग गर्दै समाजले केन्द्र, प्रदेश र जिल्ला समितिहरुका तर्फबाट शिक्षकहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन गरिरहेको छ ।

Thursday, September 3, 2020

२ वर्षका लागि वैकल्पिक शिक्षाको तयारीमा सरकार (भिडियोसहित)

9:48 AM 1
२ वर्षका लागि वैकल्पिक शिक्षाको तयारीमा सरकार (भिडियोसहित)

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको २ वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा शिक्षा मन्त्रालय लागिरहेको बताएका छन् । कोभिड-१९ नियन्त्रण हुन कम्तीमा २ वर्षा लाग्ने विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको भनाइलाई आधार मानेर सरकार निर्देशिकाको तयारीमा लागेको मन्त्री पोखरेलले बताए ।

 प्रविधिमैत्री शिक्षक समाज, सङ्खुवासभाले आयोजना गरेको शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वैकल्पिक पद्धतिमा जानका लागि स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकास मन्त्री, शिक्षासँग सम्बन्धित व्यक्तिहरु र प्रधानमन्त्रीसँग समेत छलफल भएको भनाइ राखे । कोरोना समुदायमा गएको भनेर आधिकारिक रुपमा नभनिए पनि समुदायमा गइसकेको भन्दै उनले यस अवस्थामा प्रत्यक्ष रुपमा विद्यालय खोल्न सकिने अवस्था नरहेको धारणा दोहोर्‍याए ।


 मन्त्री पोखरेलले अमेरिकामा १ लाख विद्यार्थी कोरोनाबाट प्रभावित बनेको उदाहरण दिँदै नेपालमा त्यो अवस्था आए धान्न नसकिने बताए । हाम्रा विद्यालयहरु सङ्क्रमणको केन्द्र नबनोस् भनेर वैकल्पिक पद्धतिमा ध्यान केन्द्रित गरिएको उनको भनाइ थियो । हाल सञ्चालित वैकल्पिक पद्धति सुरु भए पनि प्रभावकारी नभएको भन्दै उनले केही समयका लागि शैक्षिक क्रियाकलाप पूरै वैकल्पिक पद्धितमा निर्भर रहने जनाए । पाठ्यपुस्तकसँगै शैक्षिक सामग्री वितरण, रेडियो-टेलिभिजनबाट सिकाइ, अनलाइन माध्यमको प्रयोग गर्नुपर्नेमा जोड दिँनै पोखरेलले भने, "यिनले पनि समेट्न नसक्ने अस्थामा घरलाई नै शिक्षालय बनाऊँ, अभिभावकलाई साथ लिऊँ, घरमा सिकेको कुरालाई पनि मूल्याङ्कनको आधार बनाऊँ र विद्यालय र विद्यार्थीसँग प्रत्यक्ष रुपमा शिक्षक जोडिऊँ ।"

 उनले शैक्षिक सत्र खेर जान नदिन पाठ्यक्रम विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भएको पनि जानकारी दिए । "पाठ्यक्रमलाई नयाँ ढङ्गले समायोजन गरेर सिकाइ सुनिश्चित गर्ने कामका लागि धमाधम काम भइरहेको छ" पोखरेलले भने । संसद् स्थगित भएका कारण शिक्षा ऐनका मस्यौदाहरु थन्किएका बताउँदै शिक्षकहरुका कतिपय माग सम्बोधनका लागि शिक्षा मन्त्रालयले मात्रै निर्णय गरेर  नहुने बताए । शिक्षक गुणस्तरीय नभई शिक्षा गुणस्तरीय नहुने उनको धारणा थियो ।

 प्रशिस सङ्खुवासभाका अध्यक्ष सन्तोष विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले वैकल्पिक सिकाइको कुरा गरिए पनि प्रविधियुक्त साधनहरुको अभाव भएकाले त्यसको व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

यस्तै, नेपाल शिक्षक महामङ्घ, सङ्खुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकहरुको मागका सम्बन्धमा शिक्षा मन्त्रालय सकारात्मक हुनुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सचिव सन्तोष श्रेष्ठले गरेका थिए ।

समाजले १२ दिनसम्म प्रविधिसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

 


Thursday, August 20, 2020

प्रविधिमैत्री शिक्षक समाज, कैलालीको ८ दिने अनलाइन तालिम सम्पन्न

9:10 AM 4
प्रविधिमैत्री शिक्षक समाज, कैलालीको ८ दिने अनलाइन तालिम सम्पन्न

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, जिल्ला समन्वय समिति, कैलालीले सञ्चालन गरेको ८ दिने सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अनलाइन तालिम बिहीबार साँझ सम्पन्न भएको छ ।


जिल्ला समन्वय समितिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बस्यालले सिकाइका लागि धीरता आवश्यक पर्नेमा जोड दिए । देशभरका शिक्षकहरुको सिप विकासका लागि प्रविधिमैत्री शिक्षक समाजले निःशुल्क अनलाइन तालिम दिएर शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ थियो । अब शिक्षकहरु कक्षाकोठामा जाँदा प्रविधिमैत्री भएर जानैपर्ने भन्दै बस्यालले द्रुत गतिको इन्टरनेटको विकास गरेर अनलाइन पढाइलाई निरन्तरता दिन ३ ओटै तहका सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।

शिक्षा तालिम केन्द्र, डोटीका प्रमुख चेतराज पन्तले अब टी. पी. डी. तालिम पनि प्रविधिकै माध्यमबाट सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । गत वर्ष पनि अनलाइन तालिम सञ्चालन गरिएको र यो वर्ष पनि भर्चुअल मोडबाट नै तालिम सञ्चालन गरिने र त्यसका लागि प्रविधिमैत्री शिक्षक समाजको सहयोग लिइने उनको भनाइ थियो । शिक्षकले सिकेको कुरालाई कक्षाकोठामा प्रयोग गर्नुपर्ने धारणा राख्दै पन्तले शिक्षकको पेसागत सक्षमताका लागि सूचना तथा सञ्चार प्रविधिको ज्ञान र सिप अनिवार्य भएकोमा जोड दिए ।

उपाध्यक्ष रोशन उपाध्यायको स्वागत, वीरेन्द्रप्रसाद न्यौपानेको प्रतिवेदन तथा कलावती उपाध्याय र शारदा तिमिल्सिनाको संयुक्त सञ्चालनमा भएको कार्यक्रममा प्रशिस सुदुरपश्चिम प्रदेशका अध्यक्ष गङ्गाराम ओझा, केन्द्रीय उपाध्यक्ष हिमाकुमारी थापालगायतले शुभकामना दिएका थिए ।

साउन २९  गतेदेखि सुरु भएको तालिममा उद्धव सिंह, परशुराम उपाध्याय, वीरेन्द्र न्यौपाने, राधा बिष्ट, शारदा तिमिल्सिना, हर्क बोहरा, रोशन उपाध्यायलगायतले माइक्रोसफ्ट वर्ड एक्सल पावरप्वाइन्ट मोबाइल एप्स इमेल इन्टरनेटसम्बन्धी सिप र तिनको कक्षाकोठामा प्रयोगका सम्बन्धमा सहजीकरण गरेका थिए ।