नेपाली भाषा शिक्षक समिति: साहित्य
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Monday, June 22, 2020

नमराज जैशीको कविता 'प्यारा फर्की आउनुहोस् घर'

4:38 AM 0
नमराज जैशीको कविता 'प्यारा फर्की आउनुहोस् घर'

प्यारा फर्की आउनुहोस् घर

                          - नमराज जैशी


आखाबाट साउने झरी बगाउछन,बाआमा घरमा यता।
कसलाई सुनाउ सुन्ने कोहि छैन यहाँ,मेरा मनका ब्यथा।
के गर्दै बसिरहेका छौ मेरो प्यारा ,सात समुन्द्र पर।
आमा बाको मुख हेर्नेभए चाडै,फर्की आउनुहोस घर।

मसानघाट भरिएकाछन बिश्वभरी,खचाखच लासले।
कयौ आमाका कोख खाली बनायो ,यो पापी भाईरसले।।
के हुन्छ थाहा छैन मलाईयहाँ,लाग्दैछ मनमा डर।
जसरी भयपनी मेरो प्यारा,फर्की आउनुहोस घर।।

साग, सिस्नो खाई बाचउला,यहि आफ्नै देशमा।
मरे सबै सङ्गै मरौला पियारा,नबस त्यो परदेशमा।।
हुनेखाने महलभित्र छन यहाँ,छैन गरिबको भर।
यिनै गरिबको सेवा गर्न प्यारा,फर्की आउनुहोस घर।।

बस्न बाध्य छन बिचरा मनुष्य,घरभित्र भोक भोकै।
पिडामा डुबिरहेकोछ आज,सारा सन्सारमा लोकै।।
मरिन्छ्की भन्ने पिरले जगतको,भाकोछ मुटु थरर।
मरे आफ्नै देशमा मरौला प्यरा,फर्की आउनुहोस घर।।

कालापानी,लिपुलेक हुँदै,लिम्पियाधुरामा आई।
आमाको छाति चिरा पारिसक्यो,पापी डोजर चलाई।।
छातिमाथी चिरा पर्दा आमा हाम्री,रोईरहेछिन बर्बर।
आमाको अस्मिता बचाउन प्यारा,फर्की आउनुहोस घर।।

नेताज्यू लुटदैछन देश यहाँ ,गिद्ध र स्यालले झै गरि।
जनतालाई मात्रै चिन्ता छ यहाँ,बाच्ने होला कसरी।।
सिङ्गो मानव जगतनै अहिले,रोईरहेछ धर धर।
देशको माया मन्मा राखेर प्यरा,फर्की आउनुहोस घर।।

Sunday, May 31, 2020

भूपीसि‌ंह धामीको गजल

1:08 AM 0
भूपीसि‌ंह धामीको  गजल

गजल

                       - भूपीसिं‌ह धामी

दुईचार शब्द कलमले नबाेले सीमामा।
अरे मित्राैँ यहाँ बाेल्छ काेले सीमामा।

जवाफ त  के तँ  प्रश्न नै गर्न  पाउँदैनस्,
जब गाेर्खे कलमीकाे रापले पाेले सीमामा।

पुग्ने छ टाउको एक दिन तेरै दिल्लीमा,
तिम्रा यी स्यालले र्‍याल घाेले सीमामा।

सहिदकाे त्यागी मन्त्र जप्दै आमा बचाउन,
आज कलमी सेनाकाे अड्डा खाेले सीमामा।

दुश्मन मार्न खुकुरी छ ,काल मार्न कलम,
तर पनि किन बाेल्दैन आफ्नाेले सीमामा ।

                              दार्चुला लेकम ,बिटाेरा
                             हाल (धनगढी ,कैलाली )

हरिहर अधिकारीका २ निबन्ध

1:02 AM 4
हरिहर अधिकारीका २ निबन्ध

मेरो जीवनयात्रा (निबन्ध) 

                                      - हरिहर अधिकारी 
जीवनका धेरै वसन्तहरु पार गरिसकेँ मैले । यात्रा निरन्तर चलेको छ । जीवनको अन्त्यसँगै सायद रोकिएला । जीवनरुपी यात्रालाई नै मैले मेरो रमाइलो यात्राका रुपमा लिने गरेको छु । हुन त जीवन आरोह–अवरोह, सुख–दुःख, मिलन–बिछोड, हाँसो–रोदन आदिको संगमस्थल हो भन्छन् । कसैको जीवन पीडा नै पीडाले भरिएको पनि हुन सक्छ तर महसुुुस रमाइलो गरेकाले कष्टमै पनि जीवनयात्रालाई रमाइलो मान्दछु म । अरुको ठेक्का कसले लिन सक्छ र ! 

बाल्यकालीन यात्राबाट म आफ्नो यात्रा वर्णन गर्न खोज्दै छु । सानोमा म बिरामी भएर मृत्युको मुखमा पुगेको थिएँ रे । बिरामीबाट तङ्ग्रिने अवस्थामा आएको र हिड्न खान खोजेको स्मृतिबाहेक त्यस अघिका कुरा मलाई खासै स्मरण छैन । मेरो शरीर सुकेर हाड र छाला मात्र बाँकी थियो रे । पच्चीस दिनसम्म अचेत अवस्थामा मुढो लडेझैँ लडेको थिएँ रे छुन र हेर्न पनि घिन लाग्ने । गाउँका ठोरी बाले थाहा पाएर ‘यो मर्दैन, मर्यो भने मेरो छोरो सट्टामा दिउँला’ भन्दै झारफुक गरेपछि मेरो पुनर्जन्म भएछ । सायद ठोरी बा नभएको भए मेरो जीवनायात्रा त्यहीँ समाप्त हुन पनि सक्थ्यो ।  
मलाई मान्छेहरु सजिलोसँग बुझिदिन्छन् । गल्ती गर्न पुग्छन् । म आफूले आफैँलाई त बुझ्न सकिरहेको छैन तर अरु भने सजिलै बुझ्छन् । म अरुभन्दा पृथक ढङ्गबाट सोच्ने गर्छु । 
कान्छो सन्तान भएकाले होला आमाको अमृतपान गरेको मलाई अझै याद छ । सानामा म गाउँमा सीताराम भन्ने व्यक्तिसँग साह्रै डराउँथे र उसलाई देख्नासाथ भाग्ने गर्थेँ । उनी अझै छन् तर सानामा झैँ डर लाग्दैन मलाई उनलाई देखेर । पाँच वर्षको थिएँ होला मेरो शिक्षा आर्जन गर्ने कार्यको प्रारम्भ भयो । मेरो शैक्षिक यात्रा जन्मभूमि जुडिबेलाबाट होइन सर्लाहीको मावली घरबाट प्रारम्भ भयो । मामा र मामाको छोरा गोपीले मलाई कखरा सिकाउनुभयो । नजिकैको सरकारी स्कुलमा जान्थेँ म । सरकारी स्कुलको पढाइ त्यही त हो नि कसलाई विद्यार्थी पढाउने फुर्सत हुन्थ्यो र । स्थानीय भएकाले शिव सर चाहिँ नियमित पढाउनुहुन्थ्यो, मेहनत गर्नुहुन्थ्यो । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्न लगाउँदै स्कुलले महेन्द्रराजमार्ग (हालको पूर्वपश्चिम लोकमार्ग) परिक्रमा गराएको मलाई अलिअलि याद छ । सायद त्यो समय बहुदलीय प्रजातन्त्र पुनस्र्थापित नहुँदै २०४६ सालतिर पञ्चायतलाई तुलसाको मठमा सारेको बेलाको थियो ।  

पाँच कक्षा पढ्दापढ्दै म आफ्नै जन्मभूमि जुडिबेला आएर जुडिबेला हाइस्कुलमा पढ्न थालेँ । पढाइमा म राम्रो विद्यार्थीमै गनिन्थेँ । धेरै समय म अध्ययनमै खर्चिन्थेँ । केही समय फुटबल खेल्नमा बिताउँथे । प्रवेशिका उत्तीर्ण गरेपछि १०+२ र स्नातक तह जनज्योतिबाट उत्तीर्ण गरेँ । स्नातक तहको प्रथम वर्षमा म प्रथम भएर पुरस्कार पनि पाएको थिएँ । जनज्योतिको स्ववियु चुनावमा सदस्य पदमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित पनि भएको थिएँ । अनेरास्ववियुको जिल्ला कमिटि उपाध्यक्ष र कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेको थिएँ मैले त्यस समयमा । वितृष्णा जागेपछि राजनीति नै छोडिदिएँ । अहिले मित्र बाबुरामको हालत हेर्दा राजनीतिमा मैले ठिकै गरेँ जस्तो लाग्छ । 

त्यसपछि ठाकुररामबाट एम.एड. उत्तीर्ण गरेँ । आदरणीय गुरु जगतनारायण कुमारले कक्षा ११ र १२ मा पढाउने अवसर दिनुभयो नेपाली विषय शिक्षकका रुपमा । त्यसपछि मैले रोजगारीका लागि पछाडि फर्कनु परेन । यसक्रममा जगत सरका अलावा म टीका दाइ, प्रेमसर, खड्गसर (गोपालसर) र खुलाल सरले पुर्याउनु भएको योगदान कुनै पनि परिस्थितिमा भुल्न सक्दिन । गुण भुलेर बैगुनी बन्नु छैन मलाई । यसको अर्थ म वहाँहरुको अन्धभक्त चैँ बन्न सक्दिन । यो कुरा वहाँहरुले पनि बुझ्नुहुन्छ नै । 

१०+२ देखि एम.एड. गर्ने बेलासम्म मैले पढाइका अतिरिक्त धेरै प्रयासहरु गरेँ । ती सबै प्रयासहरु रोजगारी केन्द्रित थिए । केही प्रयासहरु भने सामाजिक कामसँग पनि सम्बन्धित थिए । मितज्यूसँगको काठमाडौँ यात्राका क्रममा रेस्टुरेन्टको अवस्थालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । रेस्टुरेन्टमा काम गर्ने केटीसँग विवाह गरेर उसलाई पैसा कमाउन लगाउने र आफू मोजमस्ती गर्ने, बाइक चढ्ने श्रीमान्हरु पनि प्रत्यक्ष देख्ने अवसर पाएँ मैले । नारीका विवशताहरु महसुस गर्न पाएँ । नेपाली सेनामा जागिर खानेदेखि ममता सामुदायिक वनमा काठ काट्नेसम्मको काम गरेँ । धेरै काममध्ये निमावि असनवामा स्वयम्सेवक शिक्षकका रुपमा काम गरेको अनुभव भने विशेष स्मरणीय रहन पुग्यो । निमावि असनवामा शिक्षण गर्दा र त्यहीँ राहत दरबन्दीमा नियुक्ति हुने प्रयास गर्दाका तितामिठा अनुभवहरुले नै मलाई शिक्षक बनायो । अन्यथा त्यसअघि मैले शिक्षक हुने वा बन्ने सोचसम्म पनि बनाएको थिइनँ । जे सोचेँ कहिल्यै पुरा भएन जे सोचिन सोच्न आवश्यक ठानिन त्यही हुँदै गयो । 

जुडिबेलामा कक्षा ११ र १२ पढाउँदै गर्दा मैले त्रिविबाट पुनः सिङ्गल सब्जेक्ट (प्राइभेट) का रुपमा बी.ए. उत्तीर्ण गरेँ । त्यसपछि एम.ए. (प्राइभेट) स्वअध्ययनका माध्यमबाट उत्तीर्ण गरेँ । एम.ए.भन्दा अघि पहिलो पटक निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषयमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेँ । त्यसपश्चात् लगतै माध्यमिक तहमा नेपाली विषयमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेँ । स्मरणीय कुरा दुबै पटक म अस्थायी करारमा स्वा.ज.वा. शिक्षा विषयमा नियुक्ति पाई कार्यरत विद्यालय श्री मावि जुडिबेलामा नै नियुक्ति भएर आउने अवसर मिल्यो । सायद यस्तो अवसर कमैलाई मात्र मिल्छ होला । एम.ए. शोधपत्रका क्रममा साहित्यकार राजेन्द्र विमलसँग साक्षात्कार हुने अवसर मिल्यो । एम.एड. शोधका क्रममा २०६६÷०६७ तिर मातृका सरबाट पनि म प्रेरित भएको थिएँ । 

शिक्षक सम्मानित पेसा हो, आफू जलेर अरुलाई उज्यालो दिने । शिक्षकले आफ्ना लागि होइन अरुका लागि गर्छ, अरुका लागि मर्छ शिक्षक । आफू भर्याङ बनेर अरुलाई माथि उकाल्छ शिक्षक । आफू धर्तीको धुलोमा रमेर अरुलाई चन्द्रमामा पुर्याउँछ शिक्षक । आफू रोएर अरुलाई हसाउँछ शिक्षक । आफ्नो घर बिगारेर अरुको घर सपार्छ शिक्षक । आफ्नो घर सपार्न लाग्ने शिक्षकले विद्यालय सपारेको हुँदैन । जुन शिक्षकले आफ्नो घर सपार्न सकेको हुँदैन त्यस शिक्षकले विद्यालय अवश्य सपारेको हुन्छ । 

तर खै यी आदर्शहरु शिक्षकमा ? सबै हराउँदै छन् लोपोन्मुख छन् गैँडा बाघझैँ । शिक्षण पेसा हो व्यापार होइन । तर सबै व्यापार गरिरहेका छन् । तिनै आफूmलाई आदर्श शिक्षक कहलाउँछन् । गुरुको गरिमा पहिर्याउँछन् र मख्ख पर्छन् । 

राजनीतिमा वितृष्णा जागेझैँ शिक्षणप्रति पनि ममा वितृष्ण जागृत भइरहेको छ । फरक यति हो राजनीति हातमा थियो फालिदिएँ तर शिक्षण दिलमा छ≤ मुटुमा छ≤ धड्कनमा छ≤ नसा नसामा बहिरहेछ≤ चाहेर पनि म..........। 

मलाई मान्छेहरु सजिलोसँग बुझिदिन्छन् । गल्ती गर्न पुग्छन् । म आफूले आफैँलाई त बुझ्न सकिरहेको छैन तर अरु भने सजिलै बुझ्छन् । म अरुभन्दा पृथक ढङ्गबाट सोच्ने गर्छु । म आफ्नो पेसा र कर्मप्रति सकारात्मक र वफादार भएर सोच्ने गर्छु । म कसैलाई खुसी पार्न वा कसैलाई दुःखी बनाउन सोच्दिन । म आफ्ना लागि मात्रै पनि सोच्दिन । म न अहिलेका लागि सोच्छु न पछिका लागि । म त केवल परिवर्तनका लागि सोच्दछु सुधारका लागि सोच्दछु । सुन्दर भविष्यका लागि र सुन्दर समाजका लागि सोच्दछु । कालोलाई कालो भन्छु । सेतोलाई सेतो भन्छु । कालोलाई कालोभन्दा सेतोलाई सेतोभन्दा कतिपयको मन दुख्दो रहेछ । मन दुखाउनेहरुलाई मेरो एउटै जवाफ छ ः कालोलाई सेतो र सेतोलाई कालो भन्नुभन्दा मर्नु बेस ।

कालोलाई नि सेतो रैछ भन्न जानिएन 
इमानबाहेक अरु पैसो गन्न जानिएन । 
मुखमा राम राम बगलीमा छुरा जमाना 
कंशरुपी कलियुगे राम बन्न जानिएन । ।

यस्तै यस्तै गर्दै व्यतीत भइरहेको छ मेरो जीवनरुपी यात्रा । अझै यात्रा लामो छ या छोटो दैव जानुन् । मैले जानेको चैँ यति हो कि हरेस खाएको छैन खाइँदैन पनि । इमान बेच्नुभन्दा मर्नु जाती हो । कार्यकर्ता बनिन्छ अन्धभक्त बनिँदैन । कालोलाई सेतो मरे पनि भनिँदैन । बरु फूलसँगै हाँसिदिन्छु । जिन्दगीलाई यात्रा ठानेर एक्लै हिँडिदिन्छु । 
२०७६ भदौ १६ 

मनपरी शास्त्र (निबन्ध) 

भाग  एक : प्रस्तावना र मननविधि 

पौराणिक युगमा मात्र किन ? प्राचीन समयमा मात्र किन ? अरु बखत शास्त्र रच्न नहुने हो त ! पक्कै पनि होइन । 

नयाँ शास्त्र हजुरहरु समक्ष प्रस्तुत गर्दै छु । मन पराउनुस् या नपराउनुस् । फरक पर्दैन । शास्त्र मन पराउन होइन । आलोचना गर्न होइन । इन्कार गर्न पनि होइन । यो त केवल अनुसरण गर्नका लागि हो । तसर्थ, यस शास्त्रलाई तपाईँ केवल अनुसरण गर्न सक्नुहुन्छ । मनन गर्न सक्नुहुन्छ । 

तपाईँले शास्त्रलाई हृदयङ्गम गरेपश्चात् यथार्थ लाग्छ । आफैँले भोगेजस्तो लाग्छ । अन्तिम सत्य त्यही हो जस्तो लाग्छ । पात्रहरु पनि आफैँ पो हुँ कि भन्ने भान पर्छ । कुनै रोमान्टिक फिल्म हेर्दाको क्षण जस्तै । यस शास्त्र अध्ययन गरेपश्चात् अझ भनौँ गहन अध्ययन गरेपश्चात् तपाईँलाई पनि त्यस्तै लाग्नेछ । तर म भने कुनै फिल्म, टेलिफिल्मको दृश्य प्रारम्भ हुनु अगावै देखाए झैँ यो लेख्न बाध्य छु –

यस शास्त्रका घटना तथा पात्रहरु काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा मकै वा गहुँजस्तै पिठो मात्र हुनेछ । बाँकी रहनेछ घुन ।

भाग दुई : नगरपालिकाको आह्वान   
“तपाईँलाई थाहा छ कि छैन ?” 
“अहँ ! मलाई त केही पनि थाहा छैन ।” 

“हाम्रो नगरपालिकाले सबै नगरबासीलाई आफ्ना छोराछोरी र्बोिर्डङ स्कुलमा पठाउन आह्वान गरेको छ नि !” 
ऊ रिसायो अनि भन्या,े “वाहियात कुरा गर्ने ? त्यो पनि मास्टर जस्तो भएर ।” मैले भनेँ,“मास्टर जस्तो होइन मास्टर नै हुँ ।” उसले थप्यो, “त्यही हो त बुद्धि !” मैले पनि थपेँ, “बुद्धि नभएर नै मास्टर भएछु । त्यसैले सबै भन्छन् मलाई बुद्धि मास्टर ।” 

जवाफमाथि जवाफ पाएर होला ऊ अलि नम्र भयो अनि भन्यो, “नगरपालिका त स्थानीय सरकार हो । सामुदायिक विद्यालयमार्फत निःशुल्क, सर्वसुलभ र अनिवार्य शिक्षाको व्यवस्था गर्नु उसको कर्तव्य र जिम्मेवारी हो, कार्यक्षेत्र हो । संविधानले पनि यही व्यवस्था गरेको छ ।” मैले पनि तत्कालै जवाफ दिएँ, कागजमा छ या त छ भाषणमा । 

त्यसपछि मैले उसलाई हाम्रो नगरपालिकाको शैक्षिक क्यालेन्डर देखाउँदै पढ्न लगाएँ । ऊ ध्यानपूर्वक क्यालेन्डरतिर नजर लगाएर पढ्न थाल्यो । त्यसमा लेखिएको थियो 
उनको ध्यान पुनः मनपरी शास्त्रमा गयो । दोस्रो त्रैमासिक परीक्षासम्म पठनपाठन गर्नुपर्ने पाठ÷एकाइ सङ्ख्या : ६ देखि १० सम्म विषय :........ । उनलाई त कुनै समस्या भएन । तर धेरैलाई त्यसले समस्या पार्नेछ । बुद्धि मास्टरले त बुद्धि नपुर्याएरै भए पनि असोजमा दोस्रो परीक्षा हुन्छ भनेर पाठ त्यो बेलामा नै १० पुर्याएका थिए । अहिलेसम्म त धेरै अगाडि पुगिसकेको छ ।
विद्यालय खुल्ने दिन : सामुदायिक ०/संस्थागत २२ 
फेरि उसलाई क्यालेन्डरको अर्कोतिर पढ्न लगाएँ । ऊ अघिको भन्दा पनि बढी ध्यानपूर्वक पढ्न थाल्यो । त्यहाँ यसो लेखिएको थियो– 

प्रत्येक शुक्रबारको पाँचौँ घण्टीपश्चात् विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने । 
मलाई हप्काउने ती महाशयको ओठतालु सुके । केही भन्न नसकेर प्याकप्याक परे जस्ता देखिए । मैले सुरुमा भनेका कुरामा बल्ल तिनलाई पत्यार लागेछ । उनी भन्न थाले, “किन त्यस्तो आह्वान गरेछ त ?” 
मैले जवाफ दिएँ , “कम्युनिष्ट सरकार भएर रे ! शुन्य दिन खुल्नु भनेको खुल्दैन भनेको । कहिलेकाही खुल्ने सरकारी विद्यालयमा पढाएर आफ्ना छोरीछोरीको भविष्य नबिगारुन् भन्ने चाहना होला नगर सरकारको ।” बिचैमा मेरो कुरा काट्दै अर्कोले थप्यो, “सरकारी स्कुलले दिने शिक्षा बुर्जुवा हो । बोर्डिङले दिने शिक्षा जनवादी हो । कि कसो बुद्धि मास्टर ।”
“कहिलेकाही त जड्याहाले पनि तार्किक र यथार्थ कुरा गर्छन् ।” मैले मनमनै भनेँ । 

भाग तीन : कहीँ नभाको जात्रा मनपरी शास्त्र
मनपरी शास्त्रमा चार वटा परीक्षा उल्लेख गरिएको थियो । ( पुनश्चः भाग एकका मसँग वार्तालाप गर्ने सज्जन उनी प्रष्टवक्ता पनि हुन् ले नगर शैक्षिक पात्रोलाई नगर मनपरी शास्त्र भनी नामकरण गरिदिएछन् । जातले मगर भए पनि कर्मले उनी पहिलो पटक पण्डित अर्थात् ब्राह्मण भएका छन् । ) पहिलो परीक्षा असारमा, दोस्रो असोजमा, तेस्रो पुसमा र चौथो चैत्रमा तोकिएका थिए । दोस्रो असोजमा छ, थियो, हुनेछ । त्यसलाई कुनै पनि कालले छुन सकेनछ । बुद्धि मास्टरले यस सम्बन्धमा सम्बन्धित निकायमा जिज्ञासा राख्दा ‘त्यो त क्यालेन्डर स्तरीय बनाउनका लागि मात्र हो’ भन्ने जवाफ पो पाएछन् । क्यालेन्डर त संविधान जस्तै लागेछ उनलाई लेखिदिए पुग्ने । 

‘दोस्रो त्रैमासिक परीक्षा तालिका २०७६’ भनेर उनको मेसेन्जरमा मेसेज आएछ । सुरुमा त उनी झस्केछन् असोजमा पनि शीतलहर चल्यो भनेर । त्यो समय शीतलहरको थियो पुसको । हाम्रो पात्रो मोबाइलमा हेरेर उनी बल्ल ढुक्क भएछन् । धन्य छ हाम्रो पात्रो नत्र........... । 

उनको ध्यान पुनः मनपरी शास्त्रमा गयो । दोस्रो त्रैमासिक परीक्षासम्म पठनपाठन गर्नुपर्ने पाठ÷एकाइ सङ्ख्या : ६ देखि १० सम्म विषय :........ । उनलाई त कुनै समस्या भएन । तर धेरैलाई त्यसले समस्या पार्नेछ । बुद्धि मास्टरले त बुद्धि नपुर्याएरै भए पनि असोजमा दोस्रो परीक्षा हुन्छ भनेर पाठ त्यो बेलामा नै १० पुर्याएका थिए । अहिलेसम्म त धेरै अगाडि पुगिसकेको छ । धेरैलाई समस्या पार्ने कारण चाहिँ यस्तो छ परीक्षाको कारण माघ पहिलो हप्तासम्म पठनपाठन हुँदैन । माघ दोस्रो र तेस्रो हप्ता सरस्वती पुजाको चर्चापरिचर्चा मै बित्नेछ । अन्तिम सातादेखि एसइइ तयारी परीक्षाको मौसम सुरु हुन्छ । २÷४ दिन मात्रै मुश्किलले पढाइ हुनेछ । पढाउन बाँकी पाठ सङ्ख्या चाहिँ ६ । एउटा पाठ पढाउन लाग्ने न्यूनतम समय १२ पिरियड । जम्मा पिरियड ७२ । अनि ‘लाएन बाली खाएन खेती’ । 

बुद्धि मास्टर फेरि पनि चकित परेछन् केही समयपश्चात् । उनी नियमित विद्यालय जान्थे । सकभर बिदामा बस्दैनथे । उनको विद्यालय जाने र विद्यालयबाट घर आउने समय पनि तोकिएको अनुसार नै हुन्थ्यो । उनकै विद्यालयका अधिकांश शिक्षकहरु उनको इमानदारपन देखेर ‘सम्मान पाउला’ भनी उनलाई खिसी गर्थे तर पनि उनी आफ्नो ड्युटी इमानदारीताका साथ गरिरहन्थे । उनी चकित पर्नुको कारण चाहिँ यस्तो थियो –  जो नियमित स्कुल आउँदैन; कक्षामा पुरै समय पढाउँदैन; काममा भन्दा कुरामा बढी ध्यान दिन्छ; नियममा भन्दा बढी समय बिदामा बस्छ; भोज भनेपछि मरिहत्ते गर्छ त्यही शिक्षकले चाहिँ कोर्स चाँडै सिध्याएकामा प्रअबाट धन्यवाद पाएछन् । यसबाट भाषा विषयका शिक्षक उनलाई नयाँ उखान फुरिहाल्यो ‘कहीँ नभाको जात्रा ः: मनपरी शास्त्र’ । 
भाग चार : मनपरी गर्नेहरु
मनपरी शास्त्र तयारी समितिका पदाधिकारीहरु निम्नानुसार रहेका छन् भन्ने शीर्षक लेखिएको थियो । तल नामहरु क्रमशः यसरी राखिएका थिए : 
प्रमुख सल्लाहकार एवम् संरक्षक     ः     नगर प्रमुख खाताराम दारु 
सल्लाहकार                      :     नगर उपप्रमुख दारुपिडित देवी 
सल्लाहकार                      :     कार्यकारी अधिकृत दामलाल बाहुन 
संयोजक                        :     शिक्षा शाखा प्रमुख भ्रष्टेन्द्र मण्डल 
सदस्यहरु                        :     उमावि प्रअ झन्कर भट्टराई 
                                :     उमावि प्रअ दोग्लाकिशोर एककप 
                               ः     प्रअ/बोडिङ संचालक लाडायन दहीचिउरे कार्की 
                               ः     बोडिङ प्रअ ....................
 अन्य थुप्रै नामहरु पनि त्यस सूचीमा समावेश गरिएका थिए । उनीहरु सबैको मनपरी शास्त्र तयार पार्नमा लागि विभिन्न कोणबाट सहयोग रहेको थियो । शास्त्र कपीपेस्टको उत्कृष्ट नमुना थियो । एनप्याब्सनको क्यालेन्डरबाट अधिकांश कुरालाई जस्ताको तस्तै होइन मिलाएर छापिएको थियो ।  नगरपालिकाको आह्वानलाई मूर्त रुप दिन सक्ने गरी मनपरी शास्त्रको रुपरेखा तयार पारिएको थियो । पैँतालिस दिनको वर्षे बिदालाई पैँसट्ठी दिन बनाइएको थियो । मनपरी पनि यति थियो कि त्यसको पालना गर्नु सामुदायिक विद्यालयको पहिलो प्रमुख कार्य थियो ताकि नगरको आह्वान सहजै लागू होस् । 

भाग ५ : निष्कर्ष
विशेष गरी मनपरी जसले गर्छ त्यसले सहरमा घडेरी किन्छ । घर बनाउँछ । सन्तानलाई महङ्गा निजी विद्यालयमा पढाउँछ । भविष्य समुन्नत र उज्ज्वल बनाउँछ । स्थानीय सरकारदेखि संघीय सरकारसम्मका मान, सम्मान, विभूषण, पद्वी आदि पाउँछ । सोचेको पनि पाउँछ । नसोचेको पनि पाउँछ । यसरी गाली गर्न पनि पाउँछ –सबैभन्दा इमानदार छु । सत्चरित्रको छु । एक कप चियासम्म पनि भ्रष्टाचार गरेको छैन । फेरि पनि मेरै खेदो खन्छन् बा । भलाइको त जमाना रहेन ।  
वि.सं.२०७६ पुस २० 

Wednesday, May 20, 2020

लघुकथा- चेतनाको बिजाङ्कुुरण– रुपिन्द्र प्रभावी

5:02 AM 0
लघुकथा- चेतनाको बिजाङ्कुुरण– रुपिन्द्र प्रभावी
लघुकथा
                                    चेतनाको बिजाङ्कुुरण

                                                               – रुपिन्द्र प्रभावी 


संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरिएन र ! भैंसी काटेर गाउँलेलाई भोज खुुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले दिएको नोट लिनेहरुलाई कम्तिमा चार पटकसम्म भोट हाल्न लगाइयो । हुुन पनि भक्तबहादुरको आफू सांसद भएपछि कम्तिमा तीन महिनामा एकचोटि आएर गाउँका पीडा सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता हाम्रो कानमा गुुञ्जिरहेको थियो । मानौं, भक्तबहादुुरको अन्धोभक्त नै थियौं हामी । भक्तबहादुुर अत्यधिक बहुुमतले विजयी भएर सांसद बने  । सरकारमा उनकै दल गयो ।

            हामीले चुुूूनावको नतिजा घोषणा हुुनासाथ विजय जुुलुुस निकाल्यौं । मध्य रातमा मस्त निदाएका गाउँलेहरुलाई जुुलुुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुुलीको खम्बाले मूर्तरुप पाऊला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हँुुदै धेरै महिनाहरु बिते तर भक्तबहादुुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वाषर््िाकोत्सवमा प्रमुुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर, बिडम्बना ! सांसद भक्तबहादुुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए ।
        
             ठ्याक्कै आठ वर्षपछि भक्तबहादुुूूर गाउँ आए । कतिपयले उनलाई ठम्याउन सकेनन् । उनी पहिलेजस्तो सुुईखुट्टे थिएनन् । उनको काया पूरै फेरिएको थियो । चिन्नेहरुले पनि नचिनेको अभिनय गरे । यसपालि  उनले गाउँमा न घोषणापत्र छर्न पाए, न त प्रतिबद्धता गर्न नै भ्याए किनकी  भक्तबहादुुरको  अन्धोभक्त भएबापत पाएको सास्तीबाट उनीहरुमा राम्ररी चेतनाको बिजाङ्कुरण भइसकेको थियो ।