विष्णु घिमिरेको लेख- नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु - नेपाली भाषा शिक्षक समिति

Saturday, May 30, 2020

विष्णु घिमिरेको लेख- नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु


नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु

- विष्णु घिमिरे
लेखसार

प्रस्तुत आलेख नेपाली भाषा शिक्षणका प्रचलित विधिहरुको निर्क्यौल गर्न केन्द्रित रहेको छ । यसमा शिक्षण पद्धति र विधि बिचमा रहेका तात्त्विक भिन्नताहरु पनि खुट्याइएको छ । भाषा शिक्षणका सन्दर्भमा अनेकौँ विधि एवम् तरिकाहरुको प्रयोग हुने गर्दछ । यसमा भाषा शिक्षण विधिको परिचय, विधि र पद्धति, विधिका प्रकार आदि शीर्षकमा आधारित रहेर तर्क प्रस्तुत गरिएको छ । व्याख्यान, प्रदर्शन, प्रश्नोत्तर, प्रयोगात्मक, खेल, अनुवाद, निगमन, आगमन, छलफल, प्रत्यक्ष, सुनाइ सम्बद्ध, बोलाइ सम्बद्ध, पढाइ सम्बद्ध, लेखाइ सम्बद्ध, मौखिक संरचना तथा सन्दर्भ, परियोजना, कक्षा प्रस्तुतीकरण, भाषा पाठ्यपुस्तक, सम्प्रेषणात्मक र कार्यमूलक गरी जम्मा बीस वटा विधिहरुको संक्षिप्त परिचय दिइएको छ भने अन्य तीस वटा विधिहरुको नाममात्र उल्लेख गरिएको छ । यसरी नेपाली भाषा शिक्षणका प्रचलित विधिहरुको निरुपण गर्नु लेखको अभीष्ट रहेको छ ।

विशेष शब्दावली : विधि, पद्धति, शिक्षण, परियोजना, सम्प्रेषण ।

१. परिचय
`भाष् ´ धातुमा `आ´ प्रत्यय लागेर बनेको `भाषा´शब्दको सोझो अर्थ विचार व्यक्त गर्ने सार्थक ध्वनि समूह भन्ने हुन्छ । भाषा विचार विनिमयको सबैभन्दा बलियो साधन हो । `शिक्षण´ भनेको शिक्षा दिने वा ज्ञान आर्जन गराउने काम हो । त्यस्तै `विधि´ भन्नाले काम गर्ने ढङ्ग, शैली, तरिका, रीति तथा प्रणाली भन्ने बुझिन्छ । भाषा शिक्षण सिपको शिक्षा हो । अन्य विषय शिक्षण र भाषा शिक्षणका बिचमा प्रशस्त भिन्नताहरु हुने भएकाले शिक्षण विधिमा पनि एकरूपता हुँदैन । शिक्षण विधि शिक्षक र विद्यार्थी सक्रिय हुने तरिका हो।

कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि विद्यार्थीलाई कुनै विषय सिकाउन शिक्षकले निर्देश गर्ने र विद्यार्थीले सोही अनुरुप गर्ने कार्य ढङ्ग नै शिक्षण विधि हो । शिक्षण विधिका बारेमा विभिन्न विद्वानहरुले अनेकन तर्कहरु पेस गरेका छन् अनि यसका विभिन्न प्रकारहरुको चर्चा गरेका छन् । वास्तवमा एउटा प्रतिभावान शिक्षकलाई विभिन्न शिक्षण विधिको सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक पक्षको बलियो प्रस्तुति महत्त्वपूर्ण हुन्छ । भाषा शिक्षणमा विविधता ल्याउनुपर्छ । दिनहुुँ एकै तरिकाले शिक्षण गर्दा कक्षा निरस र पट्यारलाग्दो हुने गर्दछ त्यसैले पाठ्यवस्तु अनुसार विविध विधिको प्रयोग गर्नुपर्दछ । प्रस्तुत आलेख भाषा शिक्षणका विधिहरु वरिपरि केन्द्रित रहेको छ ।

२. समस्याकथन र उद्देश्य

नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु के के हुन् ? परम्परागत र आधुनिक विधिहरुका विशेषताहरु के के हुन् ? आदि प्रस्तुत आलेखका समस्याहरु हुन् । भाषा शिक्षणका प्रचलित विधिहरुको निरुपण गर्नु तथा परम्परागत र आधुनिक केही विधिका विशेषताहरु खुट्याउनु यस आलेखको उद्देश्य रहेका छन् ।

३. अध्ययन विधि

प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचासँग सम्बन्धित रहेको छ । पुस्तकालयीय अध्ययनबाट सामग्रीहरु सङ्कलन गरी वर्णनात्मक तथा विश्लेषणात्मक विधि अपनाएर लेख तयार पारिएको हो ।

४. भाषा शिक्षण विधि

अन्य विषय शिक्षण र भाषा शिक्षण विधिमा केही भिन्नता र केही समानता हुन्छन् । भाषा शिक्षणमा अभ्यासको भूमिका निक्कै उच्च हुने गर्दछ ।

भाषाका सिपअनुसार फरक फरक शिक्षण विधिहरुको उपयोग गर्नुपर्दछ । सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सिपहरुको शिक्षण गर्नका लागि साहित्यका विभिन्न विधाहरु जस्तै कथा, कविता, निबन्ध, जीवनी, मनोवाद आदिको उपयोग गर्ने गरिन्छ । यी विभिन्न विधाहरु एकै तरिकाले शिक्षण गर्न सकिँदैन र त्यस्तो गर्न खोजेको खण्डमा भाषा शिक्षणको उद्देश्य पुरा हुन सक्दैन । मानौँ खाने त एउटै अन्न हो तर त्यसलाई कहिले उसिनेर, कहिले पकाएर, कहिले तारेर, कहिले साँधेर, कहिले पोलेर कहिले अर्को वस्तुसँग मिसाएर, कहिले भुटेर र कहिले काँचै खाँदा जुन भिन्न भिन्न स्वाद लिन पाइन्छ ठिक त्यसैगरी पाठ्यवस्तु अनुरुप कहिले व्याख्या गरेर, कहिले अभिनय गरेर, कहिले प्रदर्शन गरेर, कहिले परियोजना कार्यमा सहभागी गराएर आदि विभिन्न ढङ्गले भाषा शिक्षण गर्यो भने भाषा सिकाइको स्वादमा विभिन्नता आई कक्षा निकै रोचक, प्रभावकारी हुन सक्छ ( शर्मा र पौडेल,२०६७ : ११) ।

४.१ भाषा शिक्षण पद्धति(Approach) र विधि(Method)

सामान्य ढङ्गले सोच्दा-बुझ्दा पद्धति र विधि एउटै जस्तो लागे पनि वास्तवमा यी दुई एकै होइनन् । पद्धति स्वयममा सिद्ध एउटा मान्याताहरुको साझा प्रक्रिया हो । एउटा पद्धतिभित्र धेरै विधिहरु समावेश हुन सक्छन् । पद्धति विधिभन्दा वृहत् आकारको हुन्छ । पद्धतिभित्र विधि समावेश हुन्छ । भाषा शिक्षणका पद्धतिलाई सामान्य र विशेष पद्धतिमा वर्गीकरण गरी अध्ययन गर्ने गरिन्छ । माधव प्रसाद पौडेलले सामान्य पद्धतिअन्तर्गत प्रस्तावित पद्धति, वर्णनात्मक पद्धति र उत्पादनात्मक पद्धतितिको र विशेष पद्धति अन्तर्गत निगमनात्मक पद्धति, आगमनात्मक पद्धति, मौखिक संरचना सन्दर्भ पद्धति र सम्प्रेषणात्मक पद्धतिको चर्चा गरेका छन् । यद्यपि स्मरणीय के छ भने यी दुईमा स्पष्ट अन्तर भए पनि प्रयोग व्यवहारका कतिपय सन्दर्भमा र भाषा शिक्षणका कतिपय अवस्थामा पर्यायवाची रूपमा समेत उपयोग गरिन्छ । भाषा शिक्षणका प्रकृतिको व्याख्या एवम् विश्लेषण गर्ने कार्य पद्धति अन्तर्गत पर्दछ भने विधि कक्षाकोठामा शिक्षण गर्दा वा विभिन्न सामग्रीहरुको प्रयोग गर्दा अपनाइने तौर तरिका मात्र हो । यसप्रकार विधि पद्धतिभित्रको एउटा प्रक्रिया हो ।

४.२ भाषा शिक्षण विधिका प्रकार

भाषा शिक्षणका प्रकारहरु अनेकौँ हुन सक्छन् । भाषा शिक्षणका विधिहरु यति नै छन् भनेर एकिन गर्न सकिने अवस्था छैन । भाषा शिक्षणको सिद्धान्तको ख्याल गर्दै भाषिक सिप विकास गराउनका लागि पाठ्यवस्तु र विद्यार्थीको तहअनुसार विधिमा भिन्नता तथा विविधता ल्याउनु आवश्यक हुन्छ । विशेष गरी विद्यालय तहमा नेपाली भाषा शिक्षण गर्दा उपयोगमा ल्याइएका र ल्याउन सकिने केही विधिहरुको संक्षिप्त चिनारी यसरी प्रस्तुत गरिएको छ :

४.२.१ व्याख्यान विधि
व्याख्यान, प्रवचन तथा भाषण विधि पनि भन्न सकिने यो निकै पुरानो प्रचलन हो । यो विधिमा सम्बन्धित विषयवस्तुको स्पष्टीकरणका लागि शिक्षकद्वारा व्याख्या गरिन्छ । यो विधि तुलनात्मक रूपमा उच्च तहमा केही उचित देखिए पनि साना कक्षामा प्रभावकारी मानिँदैन यद्यपि विद्यालय तहमा अहिलेसम्म पनि कविता, कथा, निबन्ध, एकाङ्की आदि शिक्षण गर्दा यही विधिलाई बढी प्रयोग गर्ने गरिन्छ । व्याकरण शिक्षणमा समेत अझै यही व्याख्यान विधिको प्रयोग बढी भइरहेको देखिन्छ । यो विधि विद्यार्थीमैत्री हुँदैन त्यसैले यसतर्फ सचेत रहन जरुरी छ ।

४.२.२ प्रदर्शन विधि
प्रदर्शन विधि भन्नाले भाषा शिक्षणका सन्दर्भमा भाषिक सिप विकासका लागि सकेसम्म धेरै सामग्रीहरु जस्तै उदाहरण, चित्र, तालिका, फोटाहरु, प्रतिमूर्ति, नक्सा, नमूनाहरु देखाएर स्पष्ट पार्दै सिकाउने तरिका भन्ने बुझ्नुपर्छ । भाषाका चारै सिप विकासका लागि उपयोग गरिने सबै विधाहरुको शिक्षणका क्रममा प्रदर्शन विधिको उपयोग गर्न सकिन्छ । प्रदर्शनलाई अन्य विधिको पूरक मात्र नठानी छुट्टै विधिको रूपमा प्रयोग व्यवहार गर्नुपर्दछ ।

४.२.३ प्रश्नोत्तर विधि
निर्दिष्ट विषयसँग सम्बन्धित शिक्षकले प्रश्न सोध्ने र विद्यार्थीले उत्तर दिने प्रक्रिया अपनाउनुलाई प्रश्नोत्तर विधि भन्न सकिन्छ । विद्यार्थीको तह, उमेर, रुचि, आवश्यकता जस्ता पक्षको ख्याल गरेर उपयोग गर्न सके सबै तहमा यो विधि प्रयिग गर्न सकिन्छ । विद्यालय तहमा शब्दभण्डार, भाषातत्त्व, विधागत विषयमा आधारित सिप शिक्षणका क्रममा यो विधिको प्रयोग हुने गर्दछ । खासमा यो शिक्षक केन्द्रित विधि भए पनि शिक्षक विद्यार्थी दुबैको उत्तिकै सक्रियता हुने भएकाले प्रभावकारी मानिन्छ ।

४.२.४ प्रयोगात्मक विधि
भाषा शिक्षणका क्रममा प्रयोगात्मक विधिको प्रयोग भाषिक सिपको मजबुतिमा सहायक हुने गर्छ । शिक्षकले आवश्यक सहजीकरण गर्ने तर काम विद्यार्थीले नै गर्ने तरिका यसमा अपनाइन्छ । प्रयोगशाला विज्ञानको मात्र हुँदैन भाषाको पनि हुन्छ तर हाम्रो सन्दर्भमा यसको प्रयोगमा प्रगति भएको देखिँदैन । भाषाको कक्षालाई नै आवश्यकता अनुसार भाषा प्रयोगशाला जस्तै बनाउनु आवश्यक छ । विद्यालय तहमा विशेष गरी भाषातत्त्व सिकाउन यो विधि बढी उपयुक्त हुन्छ । शब्द व्युत्पादन, शब्दभण्डार, भाषाकाे प्रयोग, रचनात्मक शैली, व्यावहारिक लेखन आदिमा प्रयोगात्मक विधि बढी प्रभावकारी हुन्छ ।

४.२.५ खेल विधि
विद्यालयमा विद्यार्थीले खेल्दै रमाउँदै सिक्दै भाषिक सिपमा दक्ष हुने वातावरण बनाइनुपर्छ । भाषिक सिप विकासमा उपयोगी हुने विभिन्न खेलहरुलाई उपयुक्त तरिकाले प्रयोगमा ल्याउनु नै खेल विधि हो । बालबालिकाको तह, अनुभव, रुचि एवम् भाषिक समझको ख्याल गरी ड्रिल (पुनरावृत्ति), शब्दजाल, कोठे पद, हिज्जे प्रतियोगिता, अन्त्याक्षरी, चिट्ठा र भूमिका निर्वाह, अभिनय जस्ता विभिन्न खेलहरुलाई भाषा शिक्षणका विधिका रूपमा उपयोग गर्न सकिन्छ ।

४.२.६ अनुवाद विधि
भाषा शिक्षणको कक्षामा उपस्थित बालबालिका एकै खालको पृष्ठभूमिबाट आएका हुँदैनन् । नेपाल बहुभाषिक मुलुक भएकाले प्रायः सबैजसो कक्षामा मिश्रित भाषिक पृष्ठका विद्यार्थीहरु हुन्छन् । `अनुवाद´ विशेष गरी दोस्रो भाषा शिक्षणका लागि निर्धारित विधि हो । यो निकै पुरानो विधि हो । पछिल्लो समयमा यसको लोकप्रियता घटेको देखिन्छ । जटिल, असान्दर्भिक र सम्प्रेषणका दृष्टिले अनुपयुक्त ठान्न थालिए पनि दोस्रो भाषा शिक्षणमा यसको प्रशस्त प्रयोग भइरहेकै देखिन्छ । भाषा सिकाइमा अनुवादले उपयुक्त अर्थ, शब्द र रचना खोज्न विद्यार्थीहरुलाई मद्दत गर्ने, भाषाप्रतिको सचेतता विकास गर्ने, दुई भाषा बिचको तुलनात्मक भिन्नता ठम्याउने र वैकल्पिक अभिव्यक्तिको खोजी गर्ने क्षमता बढाउन सक्ने कुरा औँल्याउन थालिएको छ ( अधिकारी, २०६७:६७) ।

४.२.७ निगमन विधि
नियमको कण्ठस्थीकरणमा जोड दिने शिक्षक केन्द्रित भाषा एवम् व्याकरण शिक्षणको परम्परागत विधिलाई निगमन विधि भनिन्छ । अद्यापि यो विधि हाम्रो भाषा कक्षाबाट बाहिरिन सकेको देखिँदैन । उच्च तहमा यो विधि त्यति धेरै अव्यावहारिक नभए पनि विद्यालय तहमा यो विधि उपयुक्त हुँदैन । यसले विद्यार्थीको सिर्जनशील क्षमता, अनुभव, रुचि तथा मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्दछ । धेरै विद्यार्थी सङ्ख्या, शिक्षकको परम्परागत सोच, पाठ्यपुस्तकमा मात्र भरपर्ने संस्कृति आदि कारणले धेरैजसो भाषाका कक्षामा अहिले पनि यही परम्परागत विधिको प्रयोग भइरहेको देखिन्छ ।

४.२.८ आगमन विधि
शिक्षकको मित्रवत सहजीकरणमा उदाहरण र प्रयोगमा जोड दिई सरल ढङ्गले भाषा शिक्षण गरिने विधिलाई आगमन विधि भनिन्छ । यसमा उपयुक्त र सान्दर्भिक उदाहरणहरुको प्रयोग गरी नियमको स्वत: सिकाइ हुने प्रक्रिया अपनाइन्छ । अभ्यासमा प्रशस्त जोड दिइने यो विधिमा उदाहरण र प्रयोगको आवृत्तिबाट नियम आगम हुन्छ भनिन्छ । यस विधिलाई परम्परागत नियम घोकेर भाषा सिकाउने निगमनात्मक विधिको विकल्पमा प्रयोग गरिएको हो । यसलाई उपयोगी, कार्यमूलक, व्यावहारिक एवम् बालमनोवैज्ञानिक विधि मानिन्छ ।

४.२.९ छलफल विधि
भाषिक सिप शिक्षणका गर्दा उपयोग गरिने विभिन्न विधा शिक्षणका क्रममा छलफल विधिलाई प्रयोगमा ल्याउन सकिन्छ । विद्यार्थीहरुलाई ससानो समूहमा विभाजन गरी छलफलमा संलग्न गराई प्रस्तुतीकरण गर्न लगाउनाले पढाइ, लेखाइ, बोलाइजस्ता सिपमा दक्षता हासिल गराउन सहज हुन्छ । छलफल गर्ने बानीले व्यावहारिक जीवनका अनेकौँ समस्याहरुका समाधान निकाल्न समेत सहज हुने भएकालेे यसलाई एउटा उपयुक्त विधिका रूपमा कक्षाकोठामा प्रयोग गर्न सकिन्छ । भाषाको कक्षामा विद्यार्थी निष्क्रिय श्रोताको रूपमा नभई सक्रिय सहभागीको रूपमा हुनुपर्ने भएकाले छलफल विधिलाई प्रशस्त मात्रामा उपयोगमा ल्याउनु आवश्यक छ भनिएको हो ।

४.२.१० प्रत्यक्ष विधि
प्रत्यक्ष विधिलाई विशेषगरी दोस्रो भाषा सिकाउनका लागि प्रयोग गरिन्छ तर जुनसुकै कक्षामा पनि यसको उपयोग हुने गर्दछ । भाषाको स्तरीय वा मानक रुपको प्रयोग सिकाउनलाई स्तरीय रुपकै प्रयोग गर्नु नै प्रत्यक्ष विधिको मर्म हो । दोस्रो भाषा शिक्षणको सन्दर्भमा लक्ष्य भाषाकै प्रयोगलाई सिकाइको माध्यम बनाउनु पनि प्रत्यक्ष विधि हो । यस विधिमा शिक्षणीय भाषालाई साध्यका साथै साधन समेत बनाइन्छ । त्यसैले यसमा पहिलो पहिलो भाषा वा मातृभाषाको उपयोगलाई पुर्णत: प्रतिबन्ध लगाउनमा जोड दिइन्छ ( अधिकारी, २०६७:६८)।

४.२.११ सुनाइ सिप सम्बद्ध विधि
सुनाइ सिप विकासमा गरिने विभिन्न क्रियाकलापहरुलाई सुनाइ सिप सम्बद्ध विधि भन्न खोजिएको हो । मिहिन रूपमा अध्ययन गर्दा शिक्षण प्रक्रिया र विधि बिचमा तात्विक अन्तर देखिँदैन त्यसैले यहाँ प्रक्रियालाई नै विधि ठानिएको हो । यस अन्तर्गत ध्वनि , वर्ण, शब्द, वाक्य छुट्याउन लगाउने वा विभेदीकरणको अभ्यास गराउने, श्रुति निर्देशन, श्रुति उच्चारण, श्रुति उच्चारण, श्रुति लेखनजस्ता विभिन्न क्रियाकलापहरुलाई उपयोग गर्न सकिन्छ ।

४.२.१२ बोलाइ सिप सम्बद्ध विधि
बोलाइ सिप सिकाउनका लागि पनि खास खास तरिकाहरु अपनाउने गरिन्छ । कथा, कविता, निबन्ध, जीवनी, रुपक आदि जुन विधा उपयोग गरिए पनि बोलाइ सिप विकासका लागि उपयोग गरिने विधिहरु उस्तै उस्तै हुने गर्दछन् । बोलाइ सिप विकासमा उपयोग गरिने बिधिहरुमा कुराकानी/ संवाद, परिचयात्मक कार्यक्रम, प्रश्नोत्तर, वस्तु तथा चित्र वर्णन, कथा, चुट्किला कथन, गीत गायन, घटना वर्णन, चिट्ठा खेल, अभिनय, विचार प्रस्तुतीकरण आदि पर्दछन् । विद्यार्थीको अनुभव, रुचि, आवश्यकता आदि पक्षको विश्लेषण गरी यस विधिका क्रियाकलापहरु निर्धारण गर्नुपर्दछ ।

४.२.१३ पढाइ सिप सम्बद्ध विधि
भाषा शिक्षण गर्दा पढाइ सिप विशेषको उन्नयनका लागि अपनाउन सकिने तौरतरिकाहरुलाई पढाइ सिप सम्बद्ध विधि भनिन्छ । पढाइ सिपको विकासले अन्य विषयको सिकाइमा समेत प्रत्यक्ष प्रभाव पार्ने वास्तविकतालाई मनन गर्दै हाल यस क्षेत्रमा नीतिगत रुपमै जोड दिन थालिएको छ । राष्ट्रिय प्रारम्भिक पढाइ कक्षा कार्यक्रम (NEGRP) पनि यसैको एउटा उदाहरण हो । पढाइ सिप विकासका लागि विद्यार्थीको मनोवैज्ञानिक पक्षको ख्याल गरी सामग्री चयन गर्ने, विद्यार्थीलाई पढेर सुनाउन लगाउने, कमीकमजोरी खोजेर समाधान गरिदिने, स्तरीय पठनका लागि प्रशस्त अभ्यास गराउने, आदर्श पठन गरेर देखाउने र पठन बोधका अभ्यासहरु गराउनेजस्ता क्रियाकलापहरु गर्न सकिन्छ ।

४.२.१४ लेखाइ सिप सम्बद्ध विधि
शुद्ध लेख्न, बान्की मिलाएर लेख्न,सरल, स्पष्ट, स्तरीय लेख्न, सिर्जना लेख्न वा यस्तै लेखाइ क्षमता हासिल गराउन कक्षामा गरिने खास खास क्रियाकलापहरुलाई लेखाइ सिप सम्बद्ध विधि भन्न सकिन्छ । हस्त लेखन, अनुलेखन, श्रुतिलेखन, चित्र वर्णन, घटना वर्णन, प्रश्नोत्तर लेखन, चिठी / निवेदन लेखन, निबन्ध लेखन, दैनिकी लेखन, बुँदा टिपोट, सारांश लेखन आदि क्रियाकलापहरु यस विधि अन्तर्गत पर्दछन् ।

४.२.१५ मौखिक संरचना तथा सन्दर्भ विधि
कथ्य भाषामा प्रयोग हुने भाषिक रुप र उक्त रुप प्रयोगको सन्दर्भमा आधारित भई भाषा शिक्षण गर्ने तरिकालाई मौखिक संरचना तथा सन्दर्भ विधि भनिन्छ । यसमा भाषिक संरचना र सन्दर्भ अनुसार प्रशस्त मात्रामा शैक्षिक सामग्रीको प्रयोगमा जोड दिइन्छ । स्थानीय सामग्रीहरुको प्रयोगमा जोड दिनु, स्थानीयता झल्किने वस्तुहरुको उपयोग गरी भाषाका सिप तथा भाषातत्त्वको सिकाइलाई सहज एवम् स्वाभाविक बनाउनुपर्छ भन्ने मान्यता यस विधिको रहेको छ । कुनै शब्द सिकाउनु छ भने शब्दको सन्दर्भगत अर्थ खुल्ने गरी प्रयोग गर्न लगाउनु वा गरिदिनु अथवा शब्दको अर्थ झल्किने गरी चित्र आदिको प्रयोग गर्नु सन्दर्भ सुहाउँदो हुन सक्छ ( अधिकारी, २०६७: ७३,७४) ।

४.२.१६ परियोजना विधि
परियोजना विधि कार्यमा आधारित हुन्छ । `गरेर सिक्ने(Learning by doing)´ सिद्धान्तसँग सम्बन्धित यो विधिमा शिक्षकले सर्वप्रथम आवश्यक मार्गदर्शन गरिदिनुपर्छ र आवश्यक स्थानमा सहजीकरण गरिदिनुपर्छ । भाषा शिक्षण गर्दा उपयोग गरिने विधा शिक्षण तथा व्याकरण शिक्षणका क्रममा पनि यो विधिलाई उपयोग गर्नुपर्दछ । भाषाको कक्षालाई दैनिक व्यवहारसँग जोड्नका लागि यो विधि उत्तम हुन्छ ।

४.२.१७ कक्षा प्रस्तुतीकरण विधि
स्वाध्ययन गर्न लगाएर, व्याख्यान सुन्न लगाएर, मौन पठन गर्न लगाएर, छलफलमा सहभागी गराएर वा टीका टिप्पणी गरिदिएर विद्यार्थीलाई निचोड निकाल्न लगाई लिखित वा मौखिक रूपमा कक्षामा प्रस्तुत गर्न लगाउने कार्यलाई कक्षा प्रस्तुतीकरण विधि भनिन्छ । यस विधिले भाषाका चारै सिपको विकासमा उल्लेख्य भूमिका खेल्दछ । कथा, निबन्ध, जीवनी आदि विधा शिक्षणमा यो विधिको प्रयोग विशेष उपयोगी हुन्छ ।

४.२.१८ भाषा पाठ्यपुस्तक विधि
भाषिक सिप तथा भाषातत्त्व शिक्षणमा भाषा पाठ्यपुस्तकको स्थान निकै महत्त्वपूर्ण रहन्छ । वास्तवमा व्याकरण शिक्षणमा छुट्टै अभ्यास पुस्तकको प्रचलन बढ्न थालेपछि भाषा र व्याकरणलाई अलग गरी शिक्षण गर्नु उपयुक्त होइन भन्ने मान्यता अनुरुप यो विधिको चलन बढेको हो । लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, ध्रुवियता, पदवर्ग, कारक, विभक्ति आदिको शिक्षण गर्दा भाषा पाठ्यपुस्तकमा रहेका विभिन्न पाठहरु( कथा, कविता, निबन्ध, जीवनी आदि) सँग जोडेर शिक्षण गर्नुपर्छ भन्ने विधि नै भाषा पाठ्यपुस्तक विधि हो । व्याकरण भाषाभित्रै हुने भएकाले भाषाका हरेम पाठमा व्याकरणिक एकाइको खोजी गरी पहिचान र पुनः प्रयोग गराउँदै यस विधिबाट शिक्षण गर्न सकिन्छ ।

४.२.१९ सम्प्रेषणात्मक विधि
भाषा सम्प्रेषणका लागि व्यवहृत हुन्छ । भाषाको कार्य नै सम्प्रेषण भएकालेे पछिल्लो समयमा यो विधिको महत्त्व बढेको हो । भाषाको सन्दर्भपरक प्रयोगमा कुशलता बढाउन, व्यावहारिक विभिन्न परिस्थितिमा ठिक ठिक शब्द चयन गरी स्तरीय भाषाको सही प्रयोग दक्षता हासिल गर्न, व्याकरणलाई सैद्धान्तिक रूपमा शिक्षण गर्ने परिपाटीको अन्त्य गरी कार्यसँग जोडेर शिक्षण गर्न सम्प्रेषणात्मक विधि निकै प्रभावकारी सिद्ध भएको छ । यो विधि खेल खेलाएर, अभिनय गर्न लगाएर, समस्याको समाधान खोज्न लगाएर, सन्दर्भपरक अभिव्यक्ति दिन लगाएर विद्यार्थीमैत्री ढङ्गले उपयोग गर्न सकिने भएकाले अहिलेको भाषा शिक्षणको अपेक्षा यसले पुरा गर्न सक्दछ ।

४.२.२० कार्यमूलक विधि
कार्यमूलक विधि भाषिक वा व्याकरणिक एकाइले गर्ने काम कस्तो छ? भाषाले कसरी काम गरेको छ ? भाषिक एकाइ र अर्थ बिच कसरी सम्बन्ध स्थापित भएको छ भन्ने खोज स्वयम् विद्यार्थीले नै गर्ने भएकाले यो विधि विद्यार्थीकेन्द्रित एवम् प्रकार्यपरक हुने गर्दछ । शिक्षकको सरल व्यवहार, निर्देशन र सहजीकरणमा विद्यार्थी सक्रिय भई भाषिक प्रकार्यको खोज, प्रयोग र व्यावहारिक उपयोग सम्बन्धी समझको विकास गर्ने भएकाले पछिल्लो समयमा यो विधि लोकप्रिय हुन थालेको हो । हाम्रो परम्परागत भाषा र व्याकरण शिक्षण पद्धतिभन्दा निकै पृथक भएकाले नेपाली भाषा शिक्षणमा यसले अझै ठुलो हिस्सा ओगट्न सकेको छैन यद्यपि यसको प्रयोगको सुरुवात भने भइसकेको छ ।

४.२.२१ विविध
भाषा शिक्षणका क्रममा अनेकौँ अपरिभाषित विधिहरुको समेत प्रयोग हुने गर्दछ । भाषा शिक्षणका विधिहरु यति नै छन् भनेर किटान गर्न सकिँदैन । माथि उल्लेख गरिएका बाहेक क्षेत्रभ्रमण विधि, खोज विधि, समस्या समाधान विधि, वादविवाद विधि (औपचारिक र अनौपचारिक), पठनबोध विधि, मौन विधि, अभिनय विधि, तुलना विधि, समीक्षा विधि, लघु शिक्षण विधि, प्रतिवेदन विधि, गायन विधि, सामग्री केन्द्रित विधि, हिज्जे प्रतियोगिता विधि, अनुसन्धान विधि, अन्तर्वार्ता विधि, श्रव्यदृश्य विधि, नोटबुक विधि, नमूना प्रदर्शन विधि, क्विज विधि, स्मरण खेल विधि, प्रविधिमैत्री विधि, घटना अध्ययन विधि, चित्र प्रयोग विधि, प्रयोगशाला विधि, रचनात्मक विधि, निर्माणात्मक विधि, उपचारात्मक विधि, व्यास विधि, सूत्र विधि आदिलाई भाषा शिक्षणमा उपयोग गर्न सकिन्छ ।

५. निष्कर्ष

भाषा शिक्षण सुनाइ, बोलाइ, पढाइ र लेखाइको अभ्यास हो । यस्ता सिपहरुको शिक्षणका लागि विधिगत विविधता आवश्यक छ । नेपाली भाषा शिक्षणमा विगतदेखि वर्तमानसम्म पचासौँ विधिहरुको प्रयोग भइसकेको छ । निगमनात्मक विधि, व्याख्यान विधि, अनुवाद विधि आदि निकै पहिलेदेखि प्रचलित विधि हुन् भने आगमनात्मक विधि, सम्प्रेषणात्मक विधि, कार्यमूलक विधि आदि पछिल्लो समयमा प्रचलित विधिहरु हुन् । भाषा शिक्षणका लागि अनेकौँ विधिहरुको प्रयोग गर्न सकिने भए पनि विद्यार्थीको रुचि, आवश्यकता, अनुभव तथा मनोवैज्ञानिक पक्षको ख्याल गर्नु जरुरी छ । नेपाली भाषा शिक्षणको वर्तमान अवस्था परम्परागत र आधुनिकताका बिचको सङ्क्रमण बिन्दुमा रहेकाले संसारमा भाषा शिक्षणको जुन विकसित वर्तमान छ सोहीअनुसार हाम्रो कक्षाकोठा, विधि र प्रक्रियामा पनि सुधार आवश्यक छ ।

सन्दर्भ सामग्री सूची
• अधिकारी, हेमाङ्गराज (२०६७), भाषा शिक्षण : केही परिप्रेक्ष्य तथा पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• ......................(२०६७), नेपाली भाषा शिक्षण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• एन्थोनी, (१९९३), टिचिङ अफ इङलिस एज अ सेकेन्ड ल्याङ्ग्वेज इन इन्डिया, बरेली : प्रकाश बुक डिपो ।
• घिमिरे, विष्णु (२०६९), नेपाली शिक्षणप्रति शिक्षकहरुको दृष्टिकोण, स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर ।
• पाण्डेय, राम शकल (१९७६), हिन्दी शिक्षण, आगरा : विनोद पुस्तक भण्डार ।
• पोखरेल, केशवराज र उमेश काफ्ले (२०७०), नेपाली भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति, काठमाडौँ : क्याम्बृज पब्लिकेसन प्रा.लि. ।
• पौडेल, माधवप्रसाद (२०६७), भाषा पाठ्यक्रम, पाठ्यसामग्री तथा शिक्षण पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• शर्मा केदारप्रसाद र माधवप्रसाद पौडेल (२०६७), नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

तनहुँ, bishnughimire955@gmail.com

2 comments: