मेरो जीवनयात्रा (निबन्ध)
- हरिहर अधिकारी
जीवनका धेरै वसन्तहरु पार गरिसकेँ मैले । यात्रा निरन्तर चलेको छ । जीवनको अन्त्यसँगै सायद रोकिएला । जीवनरुपी यात्रालाई नै मैले मेरो रमाइलो यात्राका रुपमा लिने गरेको छु । हुन त जीवन आरोह–अवरोह, सुख–दुःख, मिलन–बिछोड, हाँसो–रोदन आदिको संगमस्थल हो भन्छन् । कसैको जीवन पीडा नै पीडाले भरिएको पनि हुन सक्छ तर महसुुुस रमाइलो गरेकाले कष्टमै पनि जीवनयात्रालाई रमाइलो मान्दछु म । अरुको ठेक्का कसले लिन सक्छ र !
बाल्यकालीन यात्राबाट म आफ्नो यात्रा वर्णन गर्न खोज्दै छु । सानोमा म बिरामी भएर मृत्युको मुखमा पुगेको थिएँ रे । बिरामीबाट तङ्ग्रिने अवस्थामा आएको र हिड्न खान खोजेको स्मृतिबाहेक त्यस अघिका कुरा मलाई खासै स्मरण छैन । मेरो शरीर सुकेर हाड र छाला मात्र बाँकी थियो रे । पच्चीस दिनसम्म अचेत अवस्थामा मुढो लडेझैँ लडेको थिएँ रे छुन र हेर्न पनि घिन लाग्ने । गाउँका ठोरी बाले थाहा पाएर ‘यो मर्दैन, मर्यो भने मेरो छोरो सट्टामा दिउँला’ भन्दै झारफुक गरेपछि मेरो पुनर्जन्म भएछ । सायद ठोरी बा नभएको भए मेरो जीवनायात्रा त्यहीँ समाप्त हुन पनि सक्थ्यो ।
मलाई मान्छेहरु सजिलोसँग बुझिदिन्छन् । गल्ती गर्न पुग्छन् । म आफूले आफैँलाई त बुझ्न सकिरहेको छैन तर अरु भने सजिलै बुझ्छन् । म अरुभन्दा पृथक ढङ्गबाट सोच्ने गर्छु ।
कान्छो सन्तान भएकाले होला आमाको अमृतपान गरेको मलाई अझै याद छ । सानामा म गाउँमा सीताराम भन्ने व्यक्तिसँग साह्रै डराउँथे र उसलाई देख्नासाथ भाग्ने गर्थेँ । उनी अझै छन् तर सानामा झैँ डर लाग्दैन मलाई उनलाई देखेर । पाँच वर्षको थिएँ होला मेरो शिक्षा आर्जन गर्ने कार्यको प्रारम्भ भयो । मेरो शैक्षिक यात्रा जन्मभूमि जुडिबेलाबाट होइन सर्लाहीको मावली घरबाट प्रारम्भ भयो । मामा र मामाको छोरा गोपीले मलाई कखरा सिकाउनुभयो । नजिकैको सरकारी स्कुलमा जान्थेँ म । सरकारी स्कुलको पढाइ त्यही त हो नि कसलाई विद्यार्थी पढाउने फुर्सत हुन्थ्यो र । स्थानीय भएकाले शिव सर चाहिँ नियमित पढाउनुहुन्थ्यो, मेहनत गर्नुहुन्थ्यो । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्न लगाउँदै स्कुलले महेन्द्रराजमार्ग (हालको पूर्वपश्चिम लोकमार्ग) परिक्रमा गराएको मलाई अलिअलि याद छ । सायद त्यो समय बहुदलीय प्रजातन्त्र पुनस्र्थापित नहुँदै २०४६ सालतिर पञ्चायतलाई तुलसाको मठमा सारेको बेलाको थियो ।
पाँच कक्षा पढ्दापढ्दै म आफ्नै जन्मभूमि जुडिबेला आएर जुडिबेला हाइस्कुलमा पढ्न थालेँ । पढाइमा म राम्रो विद्यार्थीमै गनिन्थेँ । धेरै समय म अध्ययनमै खर्चिन्थेँ । केही समय फुटबल खेल्नमा बिताउँथे । प्रवेशिका उत्तीर्ण गरेपछि १०+२ र स्नातक तह जनज्योतिबाट उत्तीर्ण गरेँ । स्नातक तहको प्रथम वर्षमा म प्रथम भएर पुरस्कार पनि पाएको थिएँ । जनज्योतिको स्ववियु चुनावमा सदस्य पदमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित पनि भएको थिएँ । अनेरास्ववियुको जिल्ला कमिटि उपाध्यक्ष र कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेको थिएँ मैले त्यस समयमा । वितृष्णा जागेपछि राजनीति नै छोडिदिएँ । अहिले मित्र बाबुरामको हालत हेर्दा राजनीतिमा मैले ठिकै गरेँ जस्तो लाग्छ ।
त्यसपछि ठाकुररामबाट एम.एड. उत्तीर्ण गरेँ । आदरणीय गुरु जगतनारायण कुमारले कक्षा ११ र १२ मा पढाउने अवसर दिनुभयो नेपाली विषय शिक्षकका रुपमा । त्यसपछि मैले रोजगारीका लागि पछाडि फर्कनु परेन । यसक्रममा जगत सरका अलावा म टीका दाइ, प्रेमसर, खड्गसर (गोपालसर) र खुलाल सरले पुर्याउनु भएको योगदान कुनै पनि परिस्थितिमा भुल्न सक्दिन । गुण भुलेर बैगुनी बन्नु छैन मलाई । यसको अर्थ म वहाँहरुको अन्धभक्त चैँ बन्न सक्दिन । यो कुरा वहाँहरुले पनि बुझ्नुहुन्छ नै ।
१०+२ देखि एम.एड. गर्ने बेलासम्म मैले पढाइका अतिरिक्त धेरै प्रयासहरु गरेँ । ती सबै प्रयासहरु रोजगारी केन्द्रित थिए । केही प्रयासहरु भने सामाजिक कामसँग पनि सम्बन्धित थिए । मितज्यूसँगको काठमाडौँ यात्राका क्रममा रेस्टुरेन्टको अवस्थालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । रेस्टुरेन्टमा काम गर्ने केटीसँग विवाह गरेर उसलाई पैसा कमाउन लगाउने र आफू मोजमस्ती गर्ने, बाइक चढ्ने श्रीमान्हरु पनि प्रत्यक्ष देख्ने अवसर पाएँ मैले । नारीका विवशताहरु महसुस गर्न पाएँ । नेपाली सेनामा जागिर खानेदेखि ममता सामुदायिक वनमा काठ काट्नेसम्मको काम गरेँ । धेरै काममध्ये निमावि असनवामा स्वयम्सेवक शिक्षकका रुपमा काम गरेको अनुभव भने विशेष स्मरणीय रहन पुग्यो । निमावि असनवामा शिक्षण गर्दा र त्यहीँ राहत दरबन्दीमा नियुक्ति हुने प्रयास गर्दाका तितामिठा अनुभवहरुले नै मलाई शिक्षक बनायो । अन्यथा त्यसअघि मैले शिक्षक हुने वा बन्ने सोचसम्म पनि बनाएको थिइनँ । जे सोचेँ कहिल्यै पुरा भएन जे सोचिन सोच्न आवश्यक ठानिन त्यही हुँदै गयो ।
जुडिबेलामा कक्षा ११ र १२ पढाउँदै गर्दा मैले त्रिविबाट पुनः सिङ्गल सब्जेक्ट (प्राइभेट) का रुपमा बी.ए. उत्तीर्ण गरेँ । त्यसपछि एम.ए. (प्राइभेट) स्वअध्ययनका माध्यमबाट उत्तीर्ण गरेँ । एम.ए.भन्दा अघि पहिलो पटक निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषयमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेँ । त्यसपश्चात् लगतै माध्यमिक तहमा नेपाली विषयमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेँ । स्मरणीय कुरा दुबै पटक म अस्थायी करारमा स्वा.ज.वा. शिक्षा विषयमा नियुक्ति पाई कार्यरत विद्यालय श्री मावि जुडिबेलामा नै नियुक्ति भएर आउने अवसर मिल्यो । सायद यस्तो अवसर कमैलाई मात्र मिल्छ होला । एम.ए. शोधपत्रका क्रममा साहित्यकार राजेन्द्र विमलसँग साक्षात्कार हुने अवसर मिल्यो । एम.एड. शोधका क्रममा २०६६÷०६७ तिर मातृका सरबाट पनि म प्रेरित भएको थिएँ ।
शिक्षक सम्मानित पेसा हो, आफू जलेर अरुलाई उज्यालो दिने । शिक्षकले आफ्ना लागि होइन अरुका लागि गर्छ, अरुका लागि मर्छ शिक्षक । आफू भर्याङ बनेर अरुलाई माथि उकाल्छ शिक्षक । आफू धर्तीको धुलोमा रमेर अरुलाई चन्द्रमामा पुर्याउँछ शिक्षक । आफू रोएर अरुलाई हसाउँछ शिक्षक । आफ्नो घर बिगारेर अरुको घर सपार्छ शिक्षक । आफ्नो घर सपार्न लाग्ने शिक्षकले विद्यालय सपारेको हुँदैन । जुन शिक्षकले आफ्नो घर सपार्न सकेको हुँदैन त्यस शिक्षकले विद्यालय अवश्य सपारेको हुन्छ ।
तर खै यी आदर्शहरु शिक्षकमा ? सबै हराउँदै छन् लोपोन्मुख छन् गैँडा बाघझैँ । शिक्षण पेसा हो व्यापार होइन । तर सबै व्यापार गरिरहेका छन् । तिनै आफूmलाई आदर्श शिक्षक कहलाउँछन् । गुरुको गरिमा पहिर्याउँछन् र मख्ख पर्छन् ।
राजनीतिमा वितृष्णा जागेझैँ शिक्षणप्रति पनि ममा वितृष्ण जागृत भइरहेको छ । फरक यति हो राजनीति हातमा थियो फालिदिएँ तर शिक्षण दिलमा छ≤ मुटुमा छ≤ धड्कनमा छ≤ नसा नसामा बहिरहेछ≤ चाहेर पनि म..........।
मलाई मान्छेहरु सजिलोसँग बुझिदिन्छन् । गल्ती गर्न पुग्छन् । म आफूले आफैँलाई त बुझ्न सकिरहेको छैन तर अरु भने सजिलै बुझ्छन् । म अरुभन्दा पृथक ढङ्गबाट सोच्ने गर्छु । म आफ्नो पेसा र कर्मप्रति सकारात्मक र वफादार भएर सोच्ने गर्छु । म कसैलाई खुसी पार्न वा कसैलाई दुःखी बनाउन सोच्दिन । म आफ्ना लागि मात्रै पनि सोच्दिन । म न अहिलेका लागि सोच्छु न पछिका लागि । म त केवल परिवर्तनका लागि सोच्दछु सुधारका लागि सोच्दछु । सुन्दर भविष्यका लागि र सुन्दर समाजका लागि सोच्दछु । कालोलाई कालो भन्छु । सेतोलाई सेतो भन्छु । कालोलाई कालोभन्दा सेतोलाई सेतोभन्दा कतिपयको मन दुख्दो रहेछ । मन दुखाउनेहरुलाई मेरो एउटै जवाफ छ ः कालोलाई सेतो र सेतोलाई कालो भन्नुभन्दा मर्नु बेस ।
कालोलाई नि सेतो रैछ भन्न जानिएन
इमानबाहेक अरु पैसो गन्न जानिएन ।
मुखमा राम राम बगलीमा छुरा जमाना
कंशरुपी कलियुगे राम बन्न जानिएन । ।
यस्तै यस्तै गर्दै व्यतीत भइरहेको छ मेरो जीवनरुपी यात्रा । अझै यात्रा लामो छ या छोटो दैव जानुन् । मैले जानेको चैँ यति हो कि हरेस खाएको छैन खाइँदैन पनि । इमान बेच्नुभन्दा मर्नु जाती हो । कार्यकर्ता बनिन्छ अन्धभक्त बनिँदैन । कालोलाई सेतो मरे पनि भनिँदैन । बरु फूलसँगै हाँसिदिन्छु । जिन्दगीलाई यात्रा ठानेर एक्लै हिँडिदिन्छु ।
२०७६ भदौ १६
मनपरी शास्त्र (निबन्ध)
भाग एक : प्रस्तावना र मननविधि
पौराणिक युगमा मात्र किन ? प्राचीन समयमा मात्र किन ? अरु बखत शास्त्र रच्न नहुने हो त ! पक्कै पनि होइन ।
नयाँ शास्त्र हजुरहरु समक्ष प्रस्तुत गर्दै छु । मन पराउनुस् या नपराउनुस् । फरक पर्दैन । शास्त्र मन पराउन होइन । आलोचना गर्न होइन । इन्कार गर्न पनि होइन । यो त केवल अनुसरण गर्नका लागि हो । तसर्थ, यस शास्त्रलाई तपाईँ केवल अनुसरण गर्न सक्नुहुन्छ । मनन गर्न सक्नुहुन्छ ।
तपाईँले शास्त्रलाई हृदयङ्गम गरेपश्चात् यथार्थ लाग्छ । आफैँले भोगेजस्तो लाग्छ । अन्तिम सत्य त्यही हो जस्तो लाग्छ । पात्रहरु पनि आफैँ पो हुँ कि भन्ने भान पर्छ । कुनै रोमान्टिक फिल्म हेर्दाको क्षण जस्तै । यस शास्त्र अध्ययन गरेपश्चात् अझ भनौँ गहन अध्ययन गरेपश्चात् तपाईँलाई पनि त्यस्तै लाग्नेछ । तर म भने कुनै फिल्म, टेलिफिल्मको दृश्य प्रारम्भ हुनु अगावै देखाए झैँ यो लेख्न बाध्य छु –
यस शास्त्रका घटना तथा पात्रहरु काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा मकै वा गहुँजस्तै पिठो मात्र हुनेछ । बाँकी रहनेछ घुन ।
भाग दुई : नगरपालिकाको आह्वान
“तपाईँलाई थाहा छ कि छैन ?”
“अहँ ! मलाई त केही पनि थाहा छैन ।”
“हाम्रो नगरपालिकाले सबै नगरबासीलाई आफ्ना छोराछोरी र्बोिर्डङ स्कुलमा पठाउन आह्वान गरेको छ नि !”
ऊ रिसायो अनि भन्या,े “वाहियात कुरा गर्ने ? त्यो पनि मास्टर जस्तो भएर ।” मैले भनेँ,“मास्टर जस्तो होइन मास्टर नै हुँ ।” उसले थप्यो, “त्यही हो त बुद्धि !” मैले पनि थपेँ, “बुद्धि नभएर नै मास्टर भएछु । त्यसैले सबै भन्छन् मलाई बुद्धि मास्टर ।”
जवाफमाथि जवाफ पाएर होला ऊ अलि नम्र भयो अनि भन्यो, “नगरपालिका त स्थानीय सरकार हो । सामुदायिक विद्यालयमार्फत निःशुल्क, सर्वसुलभ र अनिवार्य शिक्षाको व्यवस्था गर्नु उसको कर्तव्य र जिम्मेवारी हो, कार्यक्षेत्र हो । संविधानले पनि यही व्यवस्था गरेको छ ।” मैले पनि तत्कालै जवाफ दिएँ, कागजमा छ या त छ भाषणमा ।
त्यसपछि मैले उसलाई हाम्रो नगरपालिकाको शैक्षिक क्यालेन्डर देखाउँदै पढ्न लगाएँ । ऊ ध्यानपूर्वक क्यालेन्डरतिर नजर लगाएर पढ्न थाल्यो । त्यसमा लेखिएको थियो
उनको ध्यान पुनः मनपरी शास्त्रमा गयो । दोस्रो त्रैमासिक परीक्षासम्म पठनपाठन गर्नुपर्ने पाठ÷एकाइ सङ्ख्या : ६ देखि १० सम्म विषय :........ । उनलाई त कुनै समस्या भएन । तर धेरैलाई त्यसले समस्या पार्नेछ । बुद्धि मास्टरले त बुद्धि नपुर्याएरै भए पनि असोजमा दोस्रो परीक्षा हुन्छ भनेर पाठ त्यो बेलामा नै १० पुर्याएका थिए । अहिलेसम्म त धेरै अगाडि पुगिसकेको छ ।
विद्यालय खुल्ने दिन : सामुदायिक ०/संस्थागत २२
फेरि उसलाई क्यालेन्डरको अर्कोतिर पढ्न लगाएँ । ऊ अघिको भन्दा पनि बढी ध्यानपूर्वक पढ्न थाल्यो । त्यहाँ यसो लेखिएको थियो–
प्रत्येक शुक्रबारको पाँचौँ घण्टीपश्चात् विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने ।
मलाई हप्काउने ती महाशयको ओठतालु सुके । केही भन्न नसकेर प्याकप्याक परे जस्ता देखिए । मैले सुरुमा भनेका कुरामा बल्ल तिनलाई पत्यार लागेछ । उनी भन्न थाले, “किन त्यस्तो आह्वान गरेछ त ?”
मैले जवाफ दिएँ , “कम्युनिष्ट सरकार भएर रे ! शुन्य दिन खुल्नु भनेको खुल्दैन भनेको । कहिलेकाही खुल्ने सरकारी विद्यालयमा पढाएर आफ्ना छोरीछोरीको भविष्य नबिगारुन् भन्ने चाहना होला नगर सरकारको ।” बिचैमा मेरो कुरा काट्दै अर्कोले थप्यो, “सरकारी स्कुलले दिने शिक्षा बुर्जुवा हो । बोर्डिङले दिने शिक्षा जनवादी हो । कि कसो बुद्धि मास्टर ।”
“कहिलेकाही त जड्याहाले पनि तार्किक र यथार्थ कुरा गर्छन् ।” मैले मनमनै भनेँ ।
भाग तीन : कहीँ नभाको जात्रा मनपरी शास्त्र
मनपरी शास्त्रमा चार वटा परीक्षा उल्लेख गरिएको थियो । ( पुनश्चः भाग एकका मसँग वार्तालाप गर्ने सज्जन उनी प्रष्टवक्ता पनि हुन् ले नगर शैक्षिक पात्रोलाई नगर मनपरी शास्त्र भनी नामकरण गरिदिएछन् । जातले मगर भए पनि कर्मले उनी पहिलो पटक पण्डित अर्थात् ब्राह्मण भएका छन् । ) पहिलो परीक्षा असारमा, दोस्रो असोजमा, तेस्रो पुसमा र चौथो चैत्रमा तोकिएका थिए । दोस्रो असोजमा छ, थियो, हुनेछ । त्यसलाई कुनै पनि कालले छुन सकेनछ । बुद्धि मास्टरले यस सम्बन्धमा सम्बन्धित निकायमा जिज्ञासा राख्दा ‘त्यो त क्यालेन्डर स्तरीय बनाउनका लागि मात्र हो’ भन्ने जवाफ पो पाएछन् । क्यालेन्डर त संविधान जस्तै लागेछ उनलाई लेखिदिए पुग्ने ।
‘दोस्रो त्रैमासिक परीक्षा तालिका २०७६’ भनेर उनको मेसेन्जरमा मेसेज आएछ । सुरुमा त उनी झस्केछन् असोजमा पनि शीतलहर चल्यो भनेर । त्यो समय शीतलहरको थियो पुसको । हाम्रो पात्रो मोबाइलमा हेरेर उनी बल्ल ढुक्क भएछन् । धन्य छ हाम्रो पात्रो नत्र........... ।
उनको ध्यान पुनः मनपरी शास्त्रमा गयो । दोस्रो त्रैमासिक परीक्षासम्म पठनपाठन गर्नुपर्ने पाठ÷एकाइ सङ्ख्या : ६ देखि १० सम्म विषय :........ । उनलाई त कुनै समस्या भएन । तर धेरैलाई त्यसले समस्या पार्नेछ । बुद्धि मास्टरले त बुद्धि नपुर्याएरै भए पनि असोजमा दोस्रो परीक्षा हुन्छ भनेर पाठ त्यो बेलामा नै १० पुर्याएका थिए । अहिलेसम्म त धेरै अगाडि पुगिसकेको छ । धेरैलाई समस्या पार्ने कारण चाहिँ यस्तो छ परीक्षाको कारण माघ पहिलो हप्तासम्म पठनपाठन हुँदैन । माघ दोस्रो र तेस्रो हप्ता सरस्वती पुजाको चर्चापरिचर्चा मै बित्नेछ । अन्तिम सातादेखि एसइइ तयारी परीक्षाको मौसम सुरु हुन्छ । २÷४ दिन मात्रै मुश्किलले पढाइ हुनेछ । पढाउन बाँकी पाठ सङ्ख्या चाहिँ ६ । एउटा पाठ पढाउन लाग्ने न्यूनतम समय १२ पिरियड । जम्मा पिरियड ७२ । अनि ‘लाएन बाली खाएन खेती’ ।
बुद्धि मास्टर फेरि पनि चकित परेछन् केही समयपश्चात् । उनी नियमित विद्यालय जान्थे । सकभर बिदामा बस्दैनथे । उनको विद्यालय जाने र विद्यालयबाट घर आउने समय पनि तोकिएको अनुसार नै हुन्थ्यो । उनकै विद्यालयका अधिकांश शिक्षकहरु उनको इमानदारपन देखेर ‘सम्मान पाउला’ भनी उनलाई खिसी गर्थे तर पनि उनी आफ्नो ड्युटी इमानदारीताका साथ गरिरहन्थे । उनी चकित पर्नुको कारण चाहिँ यस्तो थियो – जो नियमित स्कुल आउँदैन; कक्षामा पुरै समय पढाउँदैन; काममा भन्दा कुरामा बढी ध्यान दिन्छ; नियममा भन्दा बढी समय बिदामा बस्छ; भोज भनेपछि मरिहत्ते गर्छ त्यही शिक्षकले चाहिँ कोर्स चाँडै सिध्याएकामा प्रअबाट धन्यवाद पाएछन् । यसबाट भाषा विषयका शिक्षक उनलाई नयाँ उखान फुरिहाल्यो ‘कहीँ नभाको जात्रा ः: मनपरी शास्त्र’ ।
भाग चार : मनपरी गर्नेहरु
मनपरी शास्त्र तयारी समितिका पदाधिकारीहरु निम्नानुसार रहेका छन् भन्ने शीर्षक लेखिएको थियो । तल नामहरु क्रमशः यसरी राखिएका थिए :
प्रमुख सल्लाहकार एवम् संरक्षक ः नगर प्रमुख खाताराम दारु
सल्लाहकार : नगर उपप्रमुख दारुपिडित देवी
सल्लाहकार : कार्यकारी अधिकृत दामलाल बाहुन
संयोजक : शिक्षा शाखा प्रमुख भ्रष्टेन्द्र मण्डल
सदस्यहरु : उमावि प्रअ झन्कर भट्टराई
: उमावि प्रअ दोग्लाकिशोर एककप
ः प्रअ/बोडिङ संचालक लाडायन दहीचिउरे कार्की
ः बोडिङ प्रअ ....................
अन्य थुप्रै नामहरु पनि त्यस सूचीमा समावेश गरिएका थिए । उनीहरु सबैको मनपरी शास्त्र तयार पार्नमा लागि विभिन्न कोणबाट सहयोग रहेको थियो । शास्त्र कपीपेस्टको उत्कृष्ट नमुना थियो । एनप्याब्सनको क्यालेन्डरबाट अधिकांश कुरालाई जस्ताको तस्तै होइन मिलाएर छापिएको थियो । नगरपालिकाको आह्वानलाई मूर्त रुप दिन सक्ने गरी मनपरी शास्त्रको रुपरेखा तयार पारिएको थियो । पैँतालिस दिनको वर्षे बिदालाई पैँसट्ठी दिन बनाइएको थियो । मनपरी पनि यति थियो कि त्यसको पालना गर्नु सामुदायिक विद्यालयको पहिलो प्रमुख कार्य थियो ताकि नगरको आह्वान सहजै लागू होस् ।
भाग ५ : निष्कर्ष
विशेष गरी मनपरी जसले गर्छ त्यसले सहरमा घडेरी किन्छ । घर बनाउँछ । सन्तानलाई महङ्गा निजी विद्यालयमा पढाउँछ । भविष्य समुन्नत र उज्ज्वल बनाउँछ । स्थानीय सरकारदेखि संघीय सरकारसम्मका मान, सम्मान, विभूषण, पद्वी आदि पाउँछ । सोचेको पनि पाउँछ । नसोचेको पनि पाउँछ । यसरी गाली गर्न पनि पाउँछ –सबैभन्दा इमानदार छु । सत्चरित्रको छु । एक कप चियासम्म पनि भ्रष्टाचार गरेको छैन । फेरि पनि मेरै खेदो खन्छन् बा । भलाइको त जमाना रहेन ।
वि.सं.२०७६ पुस २०
रुपिन्द्र सरलाई धन्यवाद ।
ReplyDeleteधेरै राम्रो छ सर अनि प्रयास जारीरहोस् ।🙏🙏🙏🙏
ReplyDeleteNice👌👌👏👏
ReplyDeleteThank u
ReplyDelete