नेपाली भाषा शिक्षक समिति: भाषिक लेख
Showing posts with label भाषिक लेख. Show all posts
Showing posts with label भाषिक लेख. Show all posts

Wednesday, January 13, 2021

पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य - देवेन्द्र अर्याल ‘आँसु’

9:47 PM 1
पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य  - देवेन्द्र अर्याल ‘आँसु’

आलेख

पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य

- देवेन्द्र अर्याल ‘आँसु’

१. विषय प्रवेश

विश्वका कुनै पनि देशमा आफ्नो भाषा, साहित्य र संस्कृतिका बारेमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्यापन गराइन्छ । विद्यार्थीलाई त्यसतर्˚ रूचि जगाउन, नैतिक शिक्षा सिकाउन, ज्ञानविज्ञानको जानकारी दिन विविध कारणले साहित्यिक रचनालाई पाठ्यपुस्तकमा समेटिएको पाइन्छ । नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले पनि दशकौँदेखि पाठ्यपुस्तकमा नेपाली विषयअन्तर्गत विभिन्न स्रष्टाका रचना समावेश गर्दै आएको छ ।


केन्द्रले प्रकाशन गरेको कक्षा १ देखि १० सम्मका नेपाली विषयका पाठ्यपुस्तकमा विभिन्न कालखण्डमा विविध प्रकारका साहित्यिक रचनाहरु समावेश हुँदै आएका छन् । राजनीतिक व्यवस्था परिवर्तनसँगै पाठ्यपुस्तकमा पनि केही न केही परिवर्तन हुने गरेको पाइन्छ ।

उनीहरुको रचना समावेश हुने तर उनीहरुको रचनामा नाम छुटाएर पुस्तक तयार गर्नु वा प्रकाशन गर्नुका कारण बुझ्न सकिएन । त्यसैले कुनै पनि रचना लेखकको सम्पत्ति हो त्यसैले उसको रचनासँगै नाम पनि आउनुपर्छ भन्ने मान्यता सबैको पाइन्छ । कक्षा १०  मा समावेश भएको टीका एकाङ्की र दुई मितको कथा यस पूर्वको महेन्द्रमाला नामक पुस्तकमा समेटिएको नै हो तर पनि लेखक सम्पादकले यसपटक पुनः त्यसलाई समावेश गर्नु भएछ । त्यो राम्रै हो । तर त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो ।

२. वर्तमान अवस्था

साहित्यका विभिन्न विधालाई विद्यालय तहका पाठ्यक्रममा समावेश गरिएको छ । कथा, कविता, नाटक, निबन्ध, प्रबन्ध, जीवनी, पत्रलेखन, दैनिकी आदिलाई पाठ्यक्रममा समावेश गरिएको छ । विभिन्न स्रष्टाका साहित्यिक रचनालाई विभिन्न कक्षामा समावेश गरिएको छ । यस लेखमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रममा समेटिएका साहित्यिक रचनाबारे चर्चा गरिएको छ ।


कक्षागत रुपमा विश्लेषण गर्दा कक्षा १ मा ‘ताराबाजी लै लै’ भन्ने ज्यादै पुरानो बालगीत समावेश गरिएको छ । यसैगरी बस बस रे, कुखुरी काँ, काग दाजै नामको कविता पनि कक्षा एकमा समावेश भए पनि त्यसमा कवि तथा लेखकको नाम उल्लेख छैन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको टालाटुली बटुली कविता पनि समावेश भएको छ । कक्षा २ मा कवि क्षेत्रप्रताप अधिकारीको नानी बाबु, राष्ट्रकवि माधवप्रसाद घिमिरेको झन्डा फर, रामबाबु सुवेदीको पुस्तक, कृष्णप्रसाद पराजुलीको नाच्यो जुरेली, दैवज्ञराज न्यौपानेको के कहाँ बस्छ कविता समावेश गरिएको छ । हाम्रो देश नामक कवितामा भने कविको नाम उल्लेख छैन ।


यस्तै, कक्षा ३मा कवि श्रमिक बरालको असल विचार, सिद्धिचरण श्रेष्ठको किताव, पारसमणि प्रधानको खेतीबाल, चन्द्रप्रसाद न्यौपानेको नेपाली, राष्ट्रकवि माधवप्रसाद घिमिरेको घामछाया र कृष्णप्रसाद पराजुलीको सानु छ है सानु रचनाहरु समावेश भएको छ । यस्तै, कक्षा ४को नेपाली पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पाप लाग्छ, माधवप्रसाद घिमिरेको गाउँछ गीत नेपाली भन्ने बहुचर्चित गीत समावेश छ भने दैवज्ञराज न्यौपानेको नौलाख तारा, युगकवि सिद्धिचरण श्रेष्ठको आमा र पारसमणि प्रधानको लक्ष्य नामक कविता पनि समावेश भएको पाइन्छ ।


कक्षा ५मा कविशिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त नामक बहुचर्चित कविता समावेश भएको छ भने महेन्द्रमाला नामक पुरानो पाठ्यपुस्तकबाट किसानको रहर नामक कविता साभार गरिएको छ । जसमा रचनाकारको नाम उल्लेख छैन । यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको नदी, कृष्णप्रसाद पराजुलीको देशको माटो, घटराज भट्टराईको राष्ट्रिय गौरव कविता पनि पाठ्यपुस्तकमा समावेश भएको छ । यस्तै, कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा देवी नेपालद्वारा लेखिएको गुरू, सत्यमोहन जोशीको खोला, क्षेत्रप्रताप अधिकारीको स्वाभीमानी मुख कविता र  लिता दोषीको मानिस नै देवता कथा समावेश छन् । कक्षा ७ को नेपाली पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको परिचय, राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटै मुटु एउटै मर्म, भूपि शेरचनको सुनौलो भोलि, प्रभा भट्टराईको सभ्यता लगायतका कविताहरु समेटिएका छन् भने कृष्णराज चौधरीको मामालाई सुधार्ने भान्जो, जनकप्रसाद हुमागाईको सातदिने सभा, मातृका तिम्सिनाको सुन उगेल्ने भाले, नारायण रिजालको बोधिसत्वको कथा, तेजप्रकाश श्रेष्ठद्वारा लेखिएको बाक्लो दाल आदि कथाहरु पुस्तकमा समेटिएका छन् । 

यसैगरी विष्णुराज कुसुमद्वारा लिखित आबाल ब्रह्मचारी षडानन्द जीवनी, नेपाली धार्मिक वास्तुकला शीर्षकमा डा.जीवराज पोखरेलद्वारा लेखिएको प्रबन्ध पनि समावेश छन् । कक्षा ८को पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको नेपाल, क्षेत्रप्रताप अधिकारीको सिप र श्रम, प्रभा भट्टराईको मेरो घर, जीवनाथ धमलाको आह्वानलगायतका कविताहरु समेटिएका छन् । यसैगरी प्रसिद्ध कथाकार रमेश विकलको ठग समातियो, शान्तदाश मानन्धरको एउटा घटना, सुधा त्रिपाठिको भाग्य, शारदारमण नेपालको मित्रता कथा पनि पुस्तकमा समावेश गरिएको छ । इन्द्रबहादुर खत्रीको ग्रन्थचित्र र गणेशप्रसाद भट्टराईको प्रकृति र वातावरण प्रबन्ध, मनिक्रमराज शर्माको हामी एउटै हौँ नामक एकाङ्की पनि पुस्तकमा समेटिएका छन् ।

माध्यमिक तहको कक्षा ९को पाठ्यपुस्तकमा कथाकार आत्माराम शर्मा पुडासैनीको डाक्टर अङ्कल, राजेन्द्र विमलको बन्धनबाट मुक्ति कथाका साथै लेखनाथ पौड्यालको वसन्त कोकिल, वासुदेव त्रिपाठिको सय रङ इन्द्रेनी, दुवसु क्षेत्रीको कविता यात्रा सुरू गरौँ र सुधा त्रिपाठिको निबन्ध म को हुँ ? पनि समावेश भएका छन् ।


त्यसैगरी माध्यमिक तहको कक्षा १०को पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको वर्षा, भरतराज पन्तको सन्तुष्टि, पारिजातको म सडक बोल्दै छु नामक कविता पनि समेटिएका छन् । नेपाली कथामा आधुनिकता भित्रयाउने प्रथम कथाकार गुरूप्रसाद मैनालीको प्रत्यागमन, मनोवैज्ञानिक कथाकार गोविन्दबहादुर मल्ल गोठालेको लक्ष्मीपूजा, भवानी भिक्षुको माउजङ बाबुसाहेबको कोट कथा पनि समावेश भएको पाइन्छ । पुस्तकमा हास्यव्यङ्ग्य निबन्धका सम्राट भैरव अर्यालको चर्चित निबन्ध जय भुँडीका साथै भीमनिधि तिवारीको एकाङ्की टीका समावेश गरिएको छ ।


३. महिला तथा अल्पसङ्ख्यक समावेशीताः

पछिल्लो समयमा पाठ्यक्रमलाई समावेशी बनाउने चर्चा पनि उठ्यो तर त्यो चर्चामा नै सीमित बन्न पुग्यो । पाठ्व्रmमलाई समावशीकरण बनाउने काम २०४६ सालपछि मात्र थालनी भएको हो तर २०६२०६३ पछि केही सुधार गर्ने जमर्को गरियो तर त्यो सुधारको नाममा सुधार मात्र रह्यो । अझै पनि पाठ्यक्रममा पर्याप्तमात्रामा भौगौलिक, क्षेत्रगत, लैङ्गिक आदि रुपमा समावेशीकरण हुन सकेको छैन । महिला लेखिकालाई पाठ्यक्रममा समेट्न नसकिएको तथ्य कक्षा १देखि १०सम्मका पाठ्यपुस्तकमा महिला साहित्यकारका रचना ज्यादै न्यूनमात्रामा समावेश भएबाट पनि प्रष्ट हुन्छ । नजिकका लेखकका रचनालाई समावेश गर्दा पाठ्यक्रमको गुणस्तरीयताम ह्रास आएको डा. कुमारबहादुर कोइरालाको धारणा छ । (मधुपर्क, २०६९, जेठ) कोइरालाका अनुसार मानक साहित्य रचनामा स्थापित स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा समावेश हुनुपर्नेमा जोड दिँदै महिला स्रष्टा बढेको देखिन्छ तर  उनीहरुलाई सो अनुपातमा स्थान नमिलेको स्वीकार्नु हुन्छ । डा. कोइरालका अनुसार समावेशी भन्दैमा कम स्तरीय, स्पष्ट, प्रवृत्ति वा चिन्तन नभएकालाई समेट्न नहुने बताउनुहुन्छ । डा. कोइरालाको भनाइप्रति सहमति जनाउँदै डा. लक्ष्मण गौतम थप्नुहुन्छ पछिल्ला समयमा उचाइ नभएका व्यक्तिहरुका वा नजिकका व्यक्तिका रचना पनि पाठ्यक्रममा समावेश भए यो ज्यादै लाजमर्दो कुरा हो तर महिला स्रष्टालाई कमै स्थान दिइएकोमा अब बन्ने पाठ्यक्रममा अरु राम्रा, स्थापित स्रष्टालाई समेट्नुपर्ने सुझाव भाषाविद् प्रा.डा.माधव पोखरेलको छ । पाठ्यक्रम तयारीमा गुट, उपगुट, कोटानिहित भएको र राजनीतिक भागबन्डाका कारण समावेश हुनुपर्ने स्रष्टा छुट्न गएको आरोप पोखरेलको छ ।


अझै पनि अल्पसङख्यक लेखकका रचनाले पाठ्यपुस्तकमा उचित स्थान पाउन सकेका छैनन् । यसलाई कसरी लिने ? महिला अल्पसङ्खयक साहित्यकारका रचना समावेश नहुनुमा अभाव हो वा अन्य कुन कारण हो । समावेशीता, आरक्षण वा राजनीतिक वादका आधारमा मात्र रचना छनोट हुने हो वा स्तरीयता र विषयवस्तुका आधारमा छनोट हुने हो त्यसमा गम्भीर भएर ध्यान दिनु आवश्यक छ । आगामी दिनमा उनीहरुका रचना पाठ्यपुस्तकमा समावेश गर्नेतर्फ लेखन तथा सम्पादन मण्डल र नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । तर अहिलेसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकले अल्पसङ्ख्यक लेखकका रचनालाई त्यतिमात्रामा समेट्न सकेको देखिन्न । पाठ्यपुस्तकमा साहित्यिक रचना समेट्दा राजनीतिक कोटा वा वादको गहिरो प्रभाव परेको देखिन्छ । पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरुले ती पाठ्यपुस्तकमा समावेशीतालाई पूर्णरुपमा स्वीकार गरेको देखिन्न ।


४. समावेश महिला स्रष्टा

हालसम्म विद्यालय पाठ्यपुस्तकमा पारिजात, सुधा त्रिपाठी, प्रभा भट्टराई र ललिता दोषी गरी चार जना महिला साहित्यकारका रचनामात्र समेटिएको पाइन्छ । महिला समावेशी र आरक्षणका जे जति नारा फुके पनि वास्तवमा पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलले त्यसतिर ध्यान दिएको देखिन्न । कुनै स्रष्टाका बढी रचना समावेश हुँदा र कुनै स्रष्टाको एउटा पनि रचना समावेश नहुँदा त्यसलाई पक्कै पनि सम्पादन समूहले बेवास्ता गरेको हो भन्न सकिन्छ ।


५. पुनरावृत्तिको समस्या

नेपाली विषयको पाठ्यपुस्तकमा समटिएका लेख रचनामध्ये केही रचनाहरु दोहोरिएका छन् । यसतर्फ खासै लेखक सम्पादकको ध्यान पुगेको देखिन्न । कक्षा १०मा समावेश गरिएको लक्ष्मीपूजा नामक कथा कक्षा ११ को ऐच्छिक नेपालीमा समावेश भएकोले पनि यसको औचित्यमाथि प्रश्न उठ्न सक्दछ । यसैगरी कक्षा १० मा रहेको शत्रु कथा बि.ए. बि. एड् को अनिवार्य नेपालीमा राखिएको छ भने कक्षा ११ को ऐच्छिक नेपालीको लाहुरी भैँसी र कक्षा ११ को अनिवार्य नेपालीको शत्रु कथालाई पनि स्नातक तहको ऐच्छिक नेपालीमा राखिएको छ । यस्तै कैयन नाटक निबन्ध, उपन्यास पनि पाठमा पुनरावृत्त भएका छन् । कैयन् कविता तथा लेखरचनामा सर्जकको नाम समावेश नहुँदा ती रचनाका लेखक ओझेलमा पर्न पुगेका छन् भने उनीहरुको नाम छुट्दा सर्जकप्रति सम्मान मिलेको देखिन्न ।


उनीहरुको रचना समावेश हुने तर उनीहरुको रचनामा नाम छुटाएर पुस्तक तयार गर्नु वा प्रकाशन गर्नुका कारण बुझ्न सकिएन । त्यसैले कुनै पनि रचना लेखकको सम्पत्ति हो त्यसैले उसको रचनासँगै नाम पनि आउनुपर्छ भन्ने मान्यता सबैको पाइन्छ । कक्षा १०  मा समावेश भएको टीका एकाङ्की र दुई मितको कथा यस पूर्वको महेन्द्रमाला नामक पुस्तकमा समेटिएको नै हो तर पनि लेखक सम्पादकले यसपटक पुनः त्यसलाई समावेश गर्नु भएछ । त्यो राम्रै हो । तर त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो । कैयन् कविताहरु यसअगावैका पाठ्यपुस्तकमा समावेश भएका कारण नवीनता खोज्नेहरुका लागि पुरानै विषयवस्तु हात लाग्ने अवस्था छ । पुनरावृत्तिलाई यसपटकको पाठ्यपुस्तकले पनि रोक्न सकेको छैन । यस अगाडि तयार भएका महेन्द्रमाला पुस्तक र त्यसपछिका परिमार्जित अन्य पाठ्यक्रममा समावेश भएका कैयन् साहित्यिक रचना अहिले पनि विभिन्न तहमा समावेश गरिएका छन् ।


६. अन्त्यमा

यही २०७७ देखि कक्षा १ र ११मा नयाँ पाठ्यपुस्तक पढाइन्छन् । जसमा के कसरी पाठ्यवस्तु वा विधालाई समेटिएको छ । त्यो त पछि नै आँकलन गर्न मिल्ला तर विद्यमान कक्षा १देखि कक्षा १०सम्मका पाठ्यपुस्तकमा विभिन्न साहित्यकारका रचना समावेश गरिए पनि कुनै लेखक धेरै पटक आवृत्त भएका छन् भने कुनैको एउटै रचना पनि समावेश भएको छैन । यसले पाठ्यवस्तु छनोटमा सन्तुलन कायम नभएको देखिन्छ । कतै पुरानै पाठ्यपुस्तकका रचनालाई साभार गरिएको छ भने विषय छनोटमा एकरुपता कायम गर्दा कति ठाउँमा कठिनाइसमेत उत्पन्न भएको छ । कक्षा १०मा देवकोटाको प्रकृति चित्रणको कविता समावेश गर्दा उनका अन्य कुनै कविता समावेश गरिएको भए राम्रो हुने शिक्षकहरुको टिप्पणी रहेको छ ।


खास गरी कठिन शब्दयुक्त कविता, लामालामा कथा, निबन्धले विद्यार्थीमा खासगरी पठन क्षेत्रमा रूचि बढाएको पाइन्न । त्यसैले नैराश्यता बढाउने खालका नभई रूचि जगाउने खालका पाठहरु समावेश गर्नुपर्ने देखिन्छ । अहिले पठन संस्कृति कम हुँदै गएको सन्दर्भमा विद्यार्थीलाई रूचि बढाउने खालका रचना समेट्नु अत्यावश्यक छ । जसले विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ सीपको समेत विकास गर्न मद्दत गर्ने छ । जब कि त्यो पाठ्यक्रमले निर्दिष्ट गरेअनुरुपको समेत हुनु आवश्यक छ ।


सन्दर्भ सूचीः

मधुपर्क मासिक, गोरखापत्र संस्थान, धर्मपथ, माठमाडौँ, वर्ष ४५, अङ्क १, २०६९ जेठ

विद्यालय पाठ्यक्रम र निर्देशिका, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।

कक्षा १ देखि १० सम्मका नेपाली विषयका पुस्तकहरु ।


साभारः शब्दाङ्कुर, २०७७ माघ




  

Monday, June 1, 2020

शिक्षकलाई फुर्सद छैन महोदय, शिक्षक सुतेका छैनन् - ध्रुब गिरी

9:26 PM 5
शिक्षकलाई फुर्सद छैन महोदय, शिक्षक सुतेका छैनन् - ध्रुब गिरी

शिक्षकलाई फुर्सद छैन महोदय, शिक्षक सुतेका छैनन्

- ध्रुब गिरी 
केही समय अगाडी एकजना शिक्षाविद्को अभिव्यक्ति सामाजिक सञ्जालमा शिक्षकहरु “सुतिरहेका छन्” भन्ने भनाई  छरपष्ट भएका थिए मैले पनि पटक पटक मस्तै घोतलिएर हेरेँ ,पढेँ कता कता बिजायो चस्चसी घोच्यो र केही नलेखिरहन सकिन । संसारका सबै चिज परिवर्तनशील छन् । समाज पनि परिवर्तनशील छ । यो समाज परिवर्तनका वाहक भनेकै शिक्षक हुन् । समाजमा कानुनी राज्यको स्थापनाको लागि होस् वा समाजमा व्याप्त कुरीति कुसंस्कार हटाउने कुरा किन नहोस् सबै क्षेत्रमा शिक्षक सदा अग्रपङ्तिमा खटेका छन् । यसरी महत्वपूर्ण सामाजिक जिम्मेवारी वहन गर्ने शिक्षकले आफ्नो पेसामा पनि सधैँ प्रजातन्त्र , समानता , समावेसितालाई नै व्यवहारमा लागु गर्दे अनवरत नयाँ नयाँ ज्ञान र सीप हजारौँ वालवालिकालाई बाँडिरहेका छन् । 
सामाजिक परिवर्तनको वाहक मात्रै होइन हरेक रानैतिक परिवर्तनमा शिक्षकहरु अग्र स्थानमा रहेर सहयोग गरेका इतिहाँस साछी छन् । निरङ्कुस राणाहरुलाई घुँडा टेकाउन गाउँ गाउँमा पाठशाला खोलेर सबैलाई जागरुक बनाउने शिक्षक नै हुन् भने पञ्चायती एकदलीय निरङ्कुशतालाई फाल्नका निम्ती भूमिगतरुपमा भएपनि तत्कालिन नेपाली कांग्रेस र कम्युनिष्टलाई सही मार्ग निर्देश गर्नेपनि शिक्षक नै हुन् र संघीय लोकतान्त्रिक व्यवस्था ल्याउनमा पनि अनवरत रुपमा आन्दोलनको अग्र मोर्चामा रहेर खट्ने पनि शिक्षक नै हुन् । समाज परिवर्तन होस् वा राजनैतिक परिवर्तन होस् परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने शिक्षक नै हुन् । 
यस्ता अनुकरणीय कार्यप्रति न त सञ्चार जगतको आँखा जान्छ न शिक्षविद्को । यसरी सारमा भन्नुपर्दा २१ औँ शताव्दीको प्रविधिको युगमा शिक्षक प्रविधियुक्त बन्नुपर्छ र विद्यालय खुल्दासाथ विद्यालयमा प्रविधिको अधिक्तम प्रयोगबाट शिक्षण सिकाई गर्नुपर्छ भनेर शिक्षकहरु लकडाउनमा प्रविधिसम्वन्धि सीप आर्जन गर्न अहोरात्र खटिरहेका छन् ।
त्यतिमात्रै पनि होइन शिक्षकबाटै ज्ञान र सीप आर्जन गर्नेहरु नै हुन् आज  राज्य सञ्चालनको नेतृत्व अनि विभिन्न पदस्थ राष्ट्रसेवक कर्मचारी पनि तथापि विगत सबैले विर्सदा रहेछन् यसकै प्रतिफल हो बर्षेनी शिक्षा क्षेत्रमा बिनियोजन गर्ने रकम प्रतिशत क्रमस घट्दै जानु , शिक्षा संविधानतः मौलिक अधिकार भनिएपनि शिक्षामा निजिकरण गरेर सर्वसाधारणको पहँच वाहिर गराइनु , सेना प्रहरी र निजामति कर्मचारीका लागि अस्पतालको व्यवस्था हुनु शिक्षक त विरामी नै नपर्ने भएर होला यसतर्फ ध्यान नदिनु , शिक्षकले न्यूनतम पेशागत सेवासुविधा प्राप्त गर्न सधैँ आन्दोलनमा जान वाध्य पारियो अझैसम्म वालविकासका शिक्षकले मासिक ६००० रुपैयामा गुजारा गर्न बाध्य छन् । विद्यालय कर्मचारीहरुले मासिक २५०० देखि ११००० सम्म मात्रै तलवमा काम गर्न वाध्य नै छन्। दरवन्दी छैन सधै जागिरको चिन्तामा दिन विताएका छन् । संघीय संरचनामा पालिकैपिच्छे फरक तलवमानका शिक्षक भर्ना गरी बौद्यिक श्रमशोषण भइरहेको छ । खरदारमा नियुक्त कर्मचारी सचिव स्तरसम्म पुग्न सक्छ तर शिक्षक भने सम्वन्धित तहभन्दा उपल्लो तहमा उक्लन पाउदैन यस्ता कुरामा शिक्षाविद्को आँखा नपुग्ने ? 
यसरी सेवा सुविधाबाट बञ्चित भएरपनि सदैव समाजमा र पेशामा प्राप्तीको आसा नगरी खट्ने शिक्षकमाथि लगाइनु आरोप सिवाय अरु केही हुन सक्दैन । शिक्षकलाई राज्यले नै भेदभावपूर्ण व्यवहार गरेको कुरा दिनको घाम झै छर्लङ्ग छ । जसले जुनसुकै रुपमा लिएपनि .....कराउदै गर्छ हात्ती लम्कदँै गर्छ भने झै आफ्नो स्वाभिमानमा गर्व गर्ने शिक्षक कसले के भन्छ भन्दा पनि आफु के गर्ने हो भन्ने कुरामा सचेत रहने स्वभाव अनि आफ्नो कर्तव्यलाई सदैव प्रमुख मानेर क्रियाशील भइरहन्छन् यसको ज्वलन्त उदाहरण हो प्रविधिमैत्री शिक्षक समाजको नेतृत्वमा धेरै धन्दा धेरै शिक्षक समाहित भएर प्राविधिक क्षमताको विकासमा लिन भइरहेका छन् ।
कोरोना महामारीले बिश्व आक्रान्त बनेको छ । नेपालमा पनि १००० को हाराहारीमा संक्रमित हुनेको संख्या पुगेको छ भने ४ जनाको दुखद मृत्यु समेत पुष्टि भइसकेको छ ।देश पूर्ण लकडाउनमा छ , वालवालिका रमाइ रमाइ विद्यालयमा गएर पढ्ने यो समयमा प्राय शिक्षण संस्था कोरोनाको क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन् । यो अवस्थामा शिक्षकहरु कसैको नजरमा सुतेका होलान तर स्वाभिमानी शिक्षकहरु आ–आफ्नो प्राविधिक दक्षताको विकास गर्नुपर्छ भन्ने उद्धेश्यका साथ प्रविधिमैत्री शिक्षक समाजले कुनै लगानी र कुनै बजेट विना सञ्चालन गरेका केन्द्रिय स्तरमा १०० घण्टे तालिम , प्रदेश स्तरमा ७ प्रदेशमै ७ देखि १५ दिन सम्मका तालिम सम्पन्न भइसकेका छन् । हाल आएर विषयगतरुपमा विषगत समूहका तालिमबाट छुट्टा छुट्टै विषयगत डिजिटल सामग्री निर्माण गर्ने उद्धेश्यले सबै विषयका तालिम अनवरत सञ्चालनमा छन् भने करिव ३० जिल्लामा जिल्लास्तरीय आधारभूत प्रविधिसम्वन्धि तालिम सञ्भालनमा आएका छन् सबै तालिममा शिक्षकहरुको उत्साहजनक सहभागिता रहेका छन्। 
         सायद राज्यले सञ्चालन गरेको भए करोडौँ रुपैया लगानीमा पनि सम्भव थिएन । शिक्षकहरुकै स्वत स्फुर्त तवरले सञ्चालन भएका छन् । यस्ता अनुकरणीय कार्यप्रति न त सञ्चार जगतको आँखा जान्छ न शिक्षविद्को । यसरी सारमा भन्नुपर्दा २१ औँ शताव्दीको प्रविधिको युगमा शिक्षक प्रविधियुक्त बन्नुपर्छ र विद्यालय खुल्दासाथ विद्यालयमा प्रविधिको अधिक्तम प्रयोगबाट शिक्षण सिकाई गर्नुपर्छ भनेर शिक्षकहरु लकडाउनमा प्रविधिसम्वन्धि सीप आर्जन गर्न अहोरात्र खटिरहेका छन् । सम्भावना र पहुँच भएसम्म वालवालिकालाई अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गरेका छन् भने धेरै शिक्षकले गुगल क्लास रुमको माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा समावेस गरिरहेका छन् जसले विद्यार्थीलाई क्रियाशिल बनाइरहेको छ । यसरी सहज होस वा असहज अवस्था किन नहोस शिक्षक आफ्नो कर्तव्यमा लागिरहेका छन् बरु शिक्षकलाई लकडाउनमा फुर्सद छैन । शिक्षक क्रियाशिल नभए सबै स्थिर रहन्छन् , अहिले पनि गाउँ गाउँमा कोरोना सम्वन्धि सचेतना जगाउने शिक्षक हुन् , क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग गर्ने शिक्षक हुन्, लकडाउनको समय प्राविधिक दक्षता अभिवृद्धिमा लगाउने शिक्षक हुन् । यसैले बरु शिक्षकलाई फुर्सद छैन, महोदय शिक्षक सुतेका छैनन् शहरको सोफामा बसेर मनलागि नबोल्नुहोस् शिक्षक सुते सबै निदाउँछन् ।
अध्यक्ष– प्रविधिमैत्री शिक्षक समाज , प्यूठान

Saturday, May 30, 2020

विष्णु घिमिरेको लेख- नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु

2:45 AM 2
विष्णु घिमिरेको लेख- नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु

नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु

- विष्णु घिमिरे
लेखसार

प्रस्तुत आलेख नेपाली भाषा शिक्षणका प्रचलित विधिहरुको निर्क्यौल गर्न केन्द्रित रहेको छ । यसमा शिक्षण पद्धति र विधि बिचमा रहेका तात्त्विक भिन्नताहरु पनि खुट्याइएको छ । भाषा शिक्षणका सन्दर्भमा अनेकौँ विधि एवम् तरिकाहरुको प्रयोग हुने गर्दछ । यसमा भाषा शिक्षण विधिको परिचय, विधि र पद्धति, विधिका प्रकार आदि शीर्षकमा आधारित रहेर तर्क प्रस्तुत गरिएको छ । व्याख्यान, प्रदर्शन, प्रश्नोत्तर, प्रयोगात्मक, खेल, अनुवाद, निगमन, आगमन, छलफल, प्रत्यक्ष, सुनाइ सम्बद्ध, बोलाइ सम्बद्ध, पढाइ सम्बद्ध, लेखाइ सम्बद्ध, मौखिक संरचना तथा सन्दर्भ, परियोजना, कक्षा प्रस्तुतीकरण, भाषा पाठ्यपुस्तक, सम्प्रेषणात्मक र कार्यमूलक गरी जम्मा बीस वटा विधिहरुको संक्षिप्त परिचय दिइएको छ भने अन्य तीस वटा विधिहरुको नाममात्र उल्लेख गरिएको छ । यसरी नेपाली भाषा शिक्षणका प्रचलित विधिहरुको निरुपण गर्नु लेखको अभीष्ट रहेको छ ।

विशेष शब्दावली : विधि, पद्धति, शिक्षण, परियोजना, सम्प्रेषण ।

१. परिचय
`भाष् ´ धातुमा `आ´ प्रत्यय लागेर बनेको `भाषा´शब्दको सोझो अर्थ विचार व्यक्त गर्ने सार्थक ध्वनि समूह भन्ने हुन्छ । भाषा विचार विनिमयको सबैभन्दा बलियो साधन हो । `शिक्षण´ भनेको शिक्षा दिने वा ज्ञान आर्जन गराउने काम हो । त्यस्तै `विधि´ भन्नाले काम गर्ने ढङ्ग, शैली, तरिका, रीति तथा प्रणाली भन्ने बुझिन्छ । भाषा शिक्षण सिपको शिक्षा हो । अन्य विषय शिक्षण र भाषा शिक्षणका बिचमा प्रशस्त भिन्नताहरु हुने भएकाले शिक्षण विधिमा पनि एकरूपता हुँदैन । शिक्षण विधि शिक्षक र विद्यार्थी सक्रिय हुने तरिका हो।

कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि विद्यार्थीलाई कुनै विषय सिकाउन शिक्षकले निर्देश गर्ने र विद्यार्थीले सोही अनुरुप गर्ने कार्य ढङ्ग नै शिक्षण विधि हो । शिक्षण विधिका बारेमा विभिन्न विद्वानहरुले अनेकन तर्कहरु पेस गरेका छन् अनि यसका विभिन्न प्रकारहरुको चर्चा गरेका छन् । वास्तवमा एउटा प्रतिभावान शिक्षकलाई विभिन्न शिक्षण विधिको सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक पक्षको बलियो प्रस्तुति महत्त्वपूर्ण हुन्छ । भाषा शिक्षणमा विविधता ल्याउनुपर्छ । दिनहुुँ एकै तरिकाले शिक्षण गर्दा कक्षा निरस र पट्यारलाग्दो हुने गर्दछ त्यसैले पाठ्यवस्तु अनुसार विविध विधिको प्रयोग गर्नुपर्दछ । प्रस्तुत आलेख भाषा शिक्षणका विधिहरु वरिपरि केन्द्रित रहेको छ ।

२. समस्याकथन र उद्देश्य

नेपाली भाषा शिक्षणका प्रचलित विधिहरु के के हुन् ? परम्परागत र आधुनिक विधिहरुका विशेषताहरु के के हुन् ? आदि प्रस्तुत आलेखका समस्याहरु हुन् । भाषा शिक्षणका प्रचलित विधिहरुको निरुपण गर्नु तथा परम्परागत र आधुनिक केही विधिका विशेषताहरु खुट्याउनु यस आलेखको उद्देश्य रहेका छन् ।

३. अध्ययन विधि

प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचासँग सम्बन्धित रहेको छ । पुस्तकालयीय अध्ययनबाट सामग्रीहरु सङ्कलन गरी वर्णनात्मक तथा विश्लेषणात्मक विधि अपनाएर लेख तयार पारिएको हो ।

४. भाषा शिक्षण विधि

अन्य विषय शिक्षण र भाषा शिक्षण विधिमा केही भिन्नता र केही समानता हुन्छन् । भाषा शिक्षणमा अभ्यासको भूमिका निक्कै उच्च हुने गर्दछ ।

भाषाका सिपअनुसार फरक फरक शिक्षण विधिहरुको उपयोग गर्नुपर्दछ । सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सिपहरुको शिक्षण गर्नका लागि साहित्यका विभिन्न विधाहरु जस्तै कथा, कविता, निबन्ध, जीवनी, मनोवाद आदिको उपयोग गर्ने गरिन्छ । यी विभिन्न विधाहरु एकै तरिकाले शिक्षण गर्न सकिँदैन र त्यस्तो गर्न खोजेको खण्डमा भाषा शिक्षणको उद्देश्य पुरा हुन सक्दैन । मानौँ खाने त एउटै अन्न हो तर त्यसलाई कहिले उसिनेर, कहिले पकाएर, कहिले तारेर, कहिले साँधेर, कहिले पोलेर कहिले अर्को वस्तुसँग मिसाएर, कहिले भुटेर र कहिले काँचै खाँदा जुन भिन्न भिन्न स्वाद लिन पाइन्छ ठिक त्यसैगरी पाठ्यवस्तु अनुरुप कहिले व्याख्या गरेर, कहिले अभिनय गरेर, कहिले प्रदर्शन गरेर, कहिले परियोजना कार्यमा सहभागी गराएर आदि विभिन्न ढङ्गले भाषा शिक्षण गर्यो भने भाषा सिकाइको स्वादमा विभिन्नता आई कक्षा निकै रोचक, प्रभावकारी हुन सक्छ ( शर्मा र पौडेल,२०६७ : ११) ।

४.१ भाषा शिक्षण पद्धति(Approach) र विधि(Method)

सामान्य ढङ्गले सोच्दा-बुझ्दा पद्धति र विधि एउटै जस्तो लागे पनि वास्तवमा यी दुई एकै होइनन् । पद्धति स्वयममा सिद्ध एउटा मान्याताहरुको साझा प्रक्रिया हो । एउटा पद्धतिभित्र धेरै विधिहरु समावेश हुन सक्छन् । पद्धति विधिभन्दा वृहत् आकारको हुन्छ । पद्धतिभित्र विधि समावेश हुन्छ । भाषा शिक्षणका पद्धतिलाई सामान्य र विशेष पद्धतिमा वर्गीकरण गरी अध्ययन गर्ने गरिन्छ । माधव प्रसाद पौडेलले सामान्य पद्धतिअन्तर्गत प्रस्तावित पद्धति, वर्णनात्मक पद्धति र उत्पादनात्मक पद्धतितिको र विशेष पद्धति अन्तर्गत निगमनात्मक पद्धति, आगमनात्मक पद्धति, मौखिक संरचना सन्दर्भ पद्धति र सम्प्रेषणात्मक पद्धतिको चर्चा गरेका छन् । यद्यपि स्मरणीय के छ भने यी दुईमा स्पष्ट अन्तर भए पनि प्रयोग व्यवहारका कतिपय सन्दर्भमा र भाषा शिक्षणका कतिपय अवस्थामा पर्यायवाची रूपमा समेत उपयोग गरिन्छ । भाषा शिक्षणका प्रकृतिको व्याख्या एवम् विश्लेषण गर्ने कार्य पद्धति अन्तर्गत पर्दछ भने विधि कक्षाकोठामा शिक्षण गर्दा वा विभिन्न सामग्रीहरुको प्रयोग गर्दा अपनाइने तौर तरिका मात्र हो । यसप्रकार विधि पद्धतिभित्रको एउटा प्रक्रिया हो ।

४.२ भाषा शिक्षण विधिका प्रकार

भाषा शिक्षणका प्रकारहरु अनेकौँ हुन सक्छन् । भाषा शिक्षणका विधिहरु यति नै छन् भनेर एकिन गर्न सकिने अवस्था छैन । भाषा शिक्षणको सिद्धान्तको ख्याल गर्दै भाषिक सिप विकास गराउनका लागि पाठ्यवस्तु र विद्यार्थीको तहअनुसार विधिमा भिन्नता तथा विविधता ल्याउनु आवश्यक हुन्छ । विशेष गरी विद्यालय तहमा नेपाली भाषा शिक्षण गर्दा उपयोगमा ल्याइएका र ल्याउन सकिने केही विधिहरुको संक्षिप्त चिनारी यसरी प्रस्तुत गरिएको छ :

४.२.१ व्याख्यान विधि
व्याख्यान, प्रवचन तथा भाषण विधि पनि भन्न सकिने यो निकै पुरानो प्रचलन हो । यो विधिमा सम्बन्धित विषयवस्तुको स्पष्टीकरणका लागि शिक्षकद्वारा व्याख्या गरिन्छ । यो विधि तुलनात्मक रूपमा उच्च तहमा केही उचित देखिए पनि साना कक्षामा प्रभावकारी मानिँदैन यद्यपि विद्यालय तहमा अहिलेसम्म पनि कविता, कथा, निबन्ध, एकाङ्की आदि शिक्षण गर्दा यही विधिलाई बढी प्रयोग गर्ने गरिन्छ । व्याकरण शिक्षणमा समेत अझै यही व्याख्यान विधिको प्रयोग बढी भइरहेको देखिन्छ । यो विधि विद्यार्थीमैत्री हुँदैन त्यसैले यसतर्फ सचेत रहन जरुरी छ ।

४.२.२ प्रदर्शन विधि
प्रदर्शन विधि भन्नाले भाषा शिक्षणका सन्दर्भमा भाषिक सिप विकासका लागि सकेसम्म धेरै सामग्रीहरु जस्तै उदाहरण, चित्र, तालिका, फोटाहरु, प्रतिमूर्ति, नक्सा, नमूनाहरु देखाएर स्पष्ट पार्दै सिकाउने तरिका भन्ने बुझ्नुपर्छ । भाषाका चारै सिप विकासका लागि उपयोग गरिने सबै विधाहरुको शिक्षणका क्रममा प्रदर्शन विधिको उपयोग गर्न सकिन्छ । प्रदर्शनलाई अन्य विधिको पूरक मात्र नठानी छुट्टै विधिको रूपमा प्रयोग व्यवहार गर्नुपर्दछ ।

४.२.३ प्रश्नोत्तर विधि
निर्दिष्ट विषयसँग सम्बन्धित शिक्षकले प्रश्न सोध्ने र विद्यार्थीले उत्तर दिने प्रक्रिया अपनाउनुलाई प्रश्नोत्तर विधि भन्न सकिन्छ । विद्यार्थीको तह, उमेर, रुचि, आवश्यकता जस्ता पक्षको ख्याल गरेर उपयोग गर्न सके सबै तहमा यो विधि प्रयिग गर्न सकिन्छ । विद्यालय तहमा शब्दभण्डार, भाषातत्त्व, विधागत विषयमा आधारित सिप शिक्षणका क्रममा यो विधिको प्रयोग हुने गर्दछ । खासमा यो शिक्षक केन्द्रित विधि भए पनि शिक्षक विद्यार्थी दुबैको उत्तिकै सक्रियता हुने भएकाले प्रभावकारी मानिन्छ ।

४.२.४ प्रयोगात्मक विधि
भाषा शिक्षणका क्रममा प्रयोगात्मक विधिको प्रयोग भाषिक सिपको मजबुतिमा सहायक हुने गर्छ । शिक्षकले आवश्यक सहजीकरण गर्ने तर काम विद्यार्थीले नै गर्ने तरिका यसमा अपनाइन्छ । प्रयोगशाला विज्ञानको मात्र हुँदैन भाषाको पनि हुन्छ तर हाम्रो सन्दर्भमा यसको प्रयोगमा प्रगति भएको देखिँदैन । भाषाको कक्षालाई नै आवश्यकता अनुसार भाषा प्रयोगशाला जस्तै बनाउनु आवश्यक छ । विद्यालय तहमा विशेष गरी भाषातत्त्व सिकाउन यो विधि बढी उपयुक्त हुन्छ । शब्द व्युत्पादन, शब्दभण्डार, भाषाकाे प्रयोग, रचनात्मक शैली, व्यावहारिक लेखन आदिमा प्रयोगात्मक विधि बढी प्रभावकारी हुन्छ ।

४.२.५ खेल विधि
विद्यालयमा विद्यार्थीले खेल्दै रमाउँदै सिक्दै भाषिक सिपमा दक्ष हुने वातावरण बनाइनुपर्छ । भाषिक सिप विकासमा उपयोगी हुने विभिन्न खेलहरुलाई उपयुक्त तरिकाले प्रयोगमा ल्याउनु नै खेल विधि हो । बालबालिकाको तह, अनुभव, रुचि एवम् भाषिक समझको ख्याल गरी ड्रिल (पुनरावृत्ति), शब्दजाल, कोठे पद, हिज्जे प्रतियोगिता, अन्त्याक्षरी, चिट्ठा र भूमिका निर्वाह, अभिनय जस्ता विभिन्न खेलहरुलाई भाषा शिक्षणका विधिका रूपमा उपयोग गर्न सकिन्छ ।

४.२.६ अनुवाद विधि
भाषा शिक्षणको कक्षामा उपस्थित बालबालिका एकै खालको पृष्ठभूमिबाट आएका हुँदैनन् । नेपाल बहुभाषिक मुलुक भएकाले प्रायः सबैजसो कक्षामा मिश्रित भाषिक पृष्ठका विद्यार्थीहरु हुन्छन् । `अनुवाद´ विशेष गरी दोस्रो भाषा शिक्षणका लागि निर्धारित विधि हो । यो निकै पुरानो विधि हो । पछिल्लो समयमा यसको लोकप्रियता घटेको देखिन्छ । जटिल, असान्दर्भिक र सम्प्रेषणका दृष्टिले अनुपयुक्त ठान्न थालिए पनि दोस्रो भाषा शिक्षणमा यसको प्रशस्त प्रयोग भइरहेकै देखिन्छ । भाषा सिकाइमा अनुवादले उपयुक्त अर्थ, शब्द र रचना खोज्न विद्यार्थीहरुलाई मद्दत गर्ने, भाषाप्रतिको सचेतता विकास गर्ने, दुई भाषा बिचको तुलनात्मक भिन्नता ठम्याउने र वैकल्पिक अभिव्यक्तिको खोजी गर्ने क्षमता बढाउन सक्ने कुरा औँल्याउन थालिएको छ ( अधिकारी, २०६७:६७) ।

४.२.७ निगमन विधि
नियमको कण्ठस्थीकरणमा जोड दिने शिक्षक केन्द्रित भाषा एवम् व्याकरण शिक्षणको परम्परागत विधिलाई निगमन विधि भनिन्छ । अद्यापि यो विधि हाम्रो भाषा कक्षाबाट बाहिरिन सकेको देखिँदैन । उच्च तहमा यो विधि त्यति धेरै अव्यावहारिक नभए पनि विद्यालय तहमा यो विधि उपयुक्त हुँदैन । यसले विद्यार्थीको सिर्जनशील क्षमता, अनुभव, रुचि तथा मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्दछ । धेरै विद्यार्थी सङ्ख्या, शिक्षकको परम्परागत सोच, पाठ्यपुस्तकमा मात्र भरपर्ने संस्कृति आदि कारणले धेरैजसो भाषाका कक्षामा अहिले पनि यही परम्परागत विधिको प्रयोग भइरहेको देखिन्छ ।

४.२.८ आगमन विधि
शिक्षकको मित्रवत सहजीकरणमा उदाहरण र प्रयोगमा जोड दिई सरल ढङ्गले भाषा शिक्षण गरिने विधिलाई आगमन विधि भनिन्छ । यसमा उपयुक्त र सान्दर्भिक उदाहरणहरुको प्रयोग गरी नियमको स्वत: सिकाइ हुने प्रक्रिया अपनाइन्छ । अभ्यासमा प्रशस्त जोड दिइने यो विधिमा उदाहरण र प्रयोगको आवृत्तिबाट नियम आगम हुन्छ भनिन्छ । यस विधिलाई परम्परागत नियम घोकेर भाषा सिकाउने निगमनात्मक विधिको विकल्पमा प्रयोग गरिएको हो । यसलाई उपयोगी, कार्यमूलक, व्यावहारिक एवम् बालमनोवैज्ञानिक विधि मानिन्छ ।

४.२.९ छलफल विधि
भाषिक सिप शिक्षणका गर्दा उपयोग गरिने विभिन्न विधा शिक्षणका क्रममा छलफल विधिलाई प्रयोगमा ल्याउन सकिन्छ । विद्यार्थीहरुलाई ससानो समूहमा विभाजन गरी छलफलमा संलग्न गराई प्रस्तुतीकरण गर्न लगाउनाले पढाइ, लेखाइ, बोलाइजस्ता सिपमा दक्षता हासिल गराउन सहज हुन्छ । छलफल गर्ने बानीले व्यावहारिक जीवनका अनेकौँ समस्याहरुका समाधान निकाल्न समेत सहज हुने भएकालेे यसलाई एउटा उपयुक्त विधिका रूपमा कक्षाकोठामा प्रयोग गर्न सकिन्छ । भाषाको कक्षामा विद्यार्थी निष्क्रिय श्रोताको रूपमा नभई सक्रिय सहभागीको रूपमा हुनुपर्ने भएकाले छलफल विधिलाई प्रशस्त मात्रामा उपयोगमा ल्याउनु आवश्यक छ भनिएको हो ।

४.२.१० प्रत्यक्ष विधि
प्रत्यक्ष विधिलाई विशेषगरी दोस्रो भाषा सिकाउनका लागि प्रयोग गरिन्छ तर जुनसुकै कक्षामा पनि यसको उपयोग हुने गर्दछ । भाषाको स्तरीय वा मानक रुपको प्रयोग सिकाउनलाई स्तरीय रुपकै प्रयोग गर्नु नै प्रत्यक्ष विधिको मर्म हो । दोस्रो भाषा शिक्षणको सन्दर्भमा लक्ष्य भाषाकै प्रयोगलाई सिकाइको माध्यम बनाउनु पनि प्रत्यक्ष विधि हो । यस विधिमा शिक्षणीय भाषालाई साध्यका साथै साधन समेत बनाइन्छ । त्यसैले यसमा पहिलो पहिलो भाषा वा मातृभाषाको उपयोगलाई पुर्णत: प्रतिबन्ध लगाउनमा जोड दिइन्छ ( अधिकारी, २०६७:६८)।

४.२.११ सुनाइ सिप सम्बद्ध विधि
सुनाइ सिप विकासमा गरिने विभिन्न क्रियाकलापहरुलाई सुनाइ सिप सम्बद्ध विधि भन्न खोजिएको हो । मिहिन रूपमा अध्ययन गर्दा शिक्षण प्रक्रिया र विधि बिचमा तात्विक अन्तर देखिँदैन त्यसैले यहाँ प्रक्रियालाई नै विधि ठानिएको हो । यस अन्तर्गत ध्वनि , वर्ण, शब्द, वाक्य छुट्याउन लगाउने वा विभेदीकरणको अभ्यास गराउने, श्रुति निर्देशन, श्रुति उच्चारण, श्रुति उच्चारण, श्रुति लेखनजस्ता विभिन्न क्रियाकलापहरुलाई उपयोग गर्न सकिन्छ ।

४.२.१२ बोलाइ सिप सम्बद्ध विधि
बोलाइ सिप सिकाउनका लागि पनि खास खास तरिकाहरु अपनाउने गरिन्छ । कथा, कविता, निबन्ध, जीवनी, रुपक आदि जुन विधा उपयोग गरिए पनि बोलाइ सिप विकासका लागि उपयोग गरिने विधिहरु उस्तै उस्तै हुने गर्दछन् । बोलाइ सिप विकासमा उपयोग गरिने बिधिहरुमा कुराकानी/ संवाद, परिचयात्मक कार्यक्रम, प्रश्नोत्तर, वस्तु तथा चित्र वर्णन, कथा, चुट्किला कथन, गीत गायन, घटना वर्णन, चिट्ठा खेल, अभिनय, विचार प्रस्तुतीकरण आदि पर्दछन् । विद्यार्थीको अनुभव, रुचि, आवश्यकता आदि पक्षको विश्लेषण गरी यस विधिका क्रियाकलापहरु निर्धारण गर्नुपर्दछ ।

४.२.१३ पढाइ सिप सम्बद्ध विधि
भाषा शिक्षण गर्दा पढाइ सिप विशेषको उन्नयनका लागि अपनाउन सकिने तौरतरिकाहरुलाई पढाइ सिप सम्बद्ध विधि भनिन्छ । पढाइ सिपको विकासले अन्य विषयको सिकाइमा समेत प्रत्यक्ष प्रभाव पार्ने वास्तविकतालाई मनन गर्दै हाल यस क्षेत्रमा नीतिगत रुपमै जोड दिन थालिएको छ । राष्ट्रिय प्रारम्भिक पढाइ कक्षा कार्यक्रम (NEGRP) पनि यसैको एउटा उदाहरण हो । पढाइ सिप विकासका लागि विद्यार्थीको मनोवैज्ञानिक पक्षको ख्याल गरी सामग्री चयन गर्ने, विद्यार्थीलाई पढेर सुनाउन लगाउने, कमीकमजोरी खोजेर समाधान गरिदिने, स्तरीय पठनका लागि प्रशस्त अभ्यास गराउने, आदर्श पठन गरेर देखाउने र पठन बोधका अभ्यासहरु गराउनेजस्ता क्रियाकलापहरु गर्न सकिन्छ ।

४.२.१४ लेखाइ सिप सम्बद्ध विधि
शुद्ध लेख्न, बान्की मिलाएर लेख्न,सरल, स्पष्ट, स्तरीय लेख्न, सिर्जना लेख्न वा यस्तै लेखाइ क्षमता हासिल गराउन कक्षामा गरिने खास खास क्रियाकलापहरुलाई लेखाइ सिप सम्बद्ध विधि भन्न सकिन्छ । हस्त लेखन, अनुलेखन, श्रुतिलेखन, चित्र वर्णन, घटना वर्णन, प्रश्नोत्तर लेखन, चिठी / निवेदन लेखन, निबन्ध लेखन, दैनिकी लेखन, बुँदा टिपोट, सारांश लेखन आदि क्रियाकलापहरु यस विधि अन्तर्गत पर्दछन् ।

४.२.१५ मौखिक संरचना तथा सन्दर्भ विधि
कथ्य भाषामा प्रयोग हुने भाषिक रुप र उक्त रुप प्रयोगको सन्दर्भमा आधारित भई भाषा शिक्षण गर्ने तरिकालाई मौखिक संरचना तथा सन्दर्भ विधि भनिन्छ । यसमा भाषिक संरचना र सन्दर्भ अनुसार प्रशस्त मात्रामा शैक्षिक सामग्रीको प्रयोगमा जोड दिइन्छ । स्थानीय सामग्रीहरुको प्रयोगमा जोड दिनु, स्थानीयता झल्किने वस्तुहरुको उपयोग गरी भाषाका सिप तथा भाषातत्त्वको सिकाइलाई सहज एवम् स्वाभाविक बनाउनुपर्छ भन्ने मान्यता यस विधिको रहेको छ । कुनै शब्द सिकाउनु छ भने शब्दको सन्दर्भगत अर्थ खुल्ने गरी प्रयोग गर्न लगाउनु वा गरिदिनु अथवा शब्दको अर्थ झल्किने गरी चित्र आदिको प्रयोग गर्नु सन्दर्भ सुहाउँदो हुन सक्छ ( अधिकारी, २०६७: ७३,७४) ।

४.२.१६ परियोजना विधि
परियोजना विधि कार्यमा आधारित हुन्छ । `गरेर सिक्ने(Learning by doing)´ सिद्धान्तसँग सम्बन्धित यो विधिमा शिक्षकले सर्वप्रथम आवश्यक मार्गदर्शन गरिदिनुपर्छ र आवश्यक स्थानमा सहजीकरण गरिदिनुपर्छ । भाषा शिक्षण गर्दा उपयोग गरिने विधा शिक्षण तथा व्याकरण शिक्षणका क्रममा पनि यो विधिलाई उपयोग गर्नुपर्दछ । भाषाको कक्षालाई दैनिक व्यवहारसँग जोड्नका लागि यो विधि उत्तम हुन्छ ।

४.२.१७ कक्षा प्रस्तुतीकरण विधि
स्वाध्ययन गर्न लगाएर, व्याख्यान सुन्न लगाएर, मौन पठन गर्न लगाएर, छलफलमा सहभागी गराएर वा टीका टिप्पणी गरिदिएर विद्यार्थीलाई निचोड निकाल्न लगाई लिखित वा मौखिक रूपमा कक्षामा प्रस्तुत गर्न लगाउने कार्यलाई कक्षा प्रस्तुतीकरण विधि भनिन्छ । यस विधिले भाषाका चारै सिपको विकासमा उल्लेख्य भूमिका खेल्दछ । कथा, निबन्ध, जीवनी आदि विधा शिक्षणमा यो विधिको प्रयोग विशेष उपयोगी हुन्छ ।

४.२.१८ भाषा पाठ्यपुस्तक विधि
भाषिक सिप तथा भाषातत्त्व शिक्षणमा भाषा पाठ्यपुस्तकको स्थान निकै महत्त्वपूर्ण रहन्छ । वास्तवमा व्याकरण शिक्षणमा छुट्टै अभ्यास पुस्तकको प्रचलन बढ्न थालेपछि भाषा र व्याकरणलाई अलग गरी शिक्षण गर्नु उपयुक्त होइन भन्ने मान्यता अनुरुप यो विधिको चलन बढेको हो । लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, ध्रुवियता, पदवर्ग, कारक, विभक्ति आदिको शिक्षण गर्दा भाषा पाठ्यपुस्तकमा रहेका विभिन्न पाठहरु( कथा, कविता, निबन्ध, जीवनी आदि) सँग जोडेर शिक्षण गर्नुपर्छ भन्ने विधि नै भाषा पाठ्यपुस्तक विधि हो । व्याकरण भाषाभित्रै हुने भएकाले भाषाका हरेम पाठमा व्याकरणिक एकाइको खोजी गरी पहिचान र पुनः प्रयोग गराउँदै यस विधिबाट शिक्षण गर्न सकिन्छ ।

४.२.१९ सम्प्रेषणात्मक विधि
भाषा सम्प्रेषणका लागि व्यवहृत हुन्छ । भाषाको कार्य नै सम्प्रेषण भएकालेे पछिल्लो समयमा यो विधिको महत्त्व बढेको हो । भाषाको सन्दर्भपरक प्रयोगमा कुशलता बढाउन, व्यावहारिक विभिन्न परिस्थितिमा ठिक ठिक शब्द चयन गरी स्तरीय भाषाको सही प्रयोग दक्षता हासिल गर्न, व्याकरणलाई सैद्धान्तिक रूपमा शिक्षण गर्ने परिपाटीको अन्त्य गरी कार्यसँग जोडेर शिक्षण गर्न सम्प्रेषणात्मक विधि निकै प्रभावकारी सिद्ध भएको छ । यो विधि खेल खेलाएर, अभिनय गर्न लगाएर, समस्याको समाधान खोज्न लगाएर, सन्दर्भपरक अभिव्यक्ति दिन लगाएर विद्यार्थीमैत्री ढङ्गले उपयोग गर्न सकिने भएकाले अहिलेको भाषा शिक्षणको अपेक्षा यसले पुरा गर्न सक्दछ ।

४.२.२० कार्यमूलक विधि
कार्यमूलक विधि भाषिक वा व्याकरणिक एकाइले गर्ने काम कस्तो छ? भाषाले कसरी काम गरेको छ ? भाषिक एकाइ र अर्थ बिच कसरी सम्बन्ध स्थापित भएको छ भन्ने खोज स्वयम् विद्यार्थीले नै गर्ने भएकाले यो विधि विद्यार्थीकेन्द्रित एवम् प्रकार्यपरक हुने गर्दछ । शिक्षकको सरल व्यवहार, निर्देशन र सहजीकरणमा विद्यार्थी सक्रिय भई भाषिक प्रकार्यको खोज, प्रयोग र व्यावहारिक उपयोग सम्बन्धी समझको विकास गर्ने भएकाले पछिल्लो समयमा यो विधि लोकप्रिय हुन थालेको हो । हाम्रो परम्परागत भाषा र व्याकरण शिक्षण पद्धतिभन्दा निकै पृथक भएकाले नेपाली भाषा शिक्षणमा यसले अझै ठुलो हिस्सा ओगट्न सकेको छैन यद्यपि यसको प्रयोगको सुरुवात भने भइसकेको छ ।

४.२.२१ विविध
भाषा शिक्षणका क्रममा अनेकौँ अपरिभाषित विधिहरुको समेत प्रयोग हुने गर्दछ । भाषा शिक्षणका विधिहरु यति नै छन् भनेर किटान गर्न सकिँदैन । माथि उल्लेख गरिएका बाहेक क्षेत्रभ्रमण विधि, खोज विधि, समस्या समाधान विधि, वादविवाद विधि (औपचारिक र अनौपचारिक), पठनबोध विधि, मौन विधि, अभिनय विधि, तुलना विधि, समीक्षा विधि, लघु शिक्षण विधि, प्रतिवेदन विधि, गायन विधि, सामग्री केन्द्रित विधि, हिज्जे प्रतियोगिता विधि, अनुसन्धान विधि, अन्तर्वार्ता विधि, श्रव्यदृश्य विधि, नोटबुक विधि, नमूना प्रदर्शन विधि, क्विज विधि, स्मरण खेल विधि, प्रविधिमैत्री विधि, घटना अध्ययन विधि, चित्र प्रयोग विधि, प्रयोगशाला विधि, रचनात्मक विधि, निर्माणात्मक विधि, उपचारात्मक विधि, व्यास विधि, सूत्र विधि आदिलाई भाषा शिक्षणमा उपयोग गर्न सकिन्छ ।

५. निष्कर्ष

भाषा शिक्षण सुनाइ, बोलाइ, पढाइ र लेखाइको अभ्यास हो । यस्ता सिपहरुको शिक्षणका लागि विधिगत विविधता आवश्यक छ । नेपाली भाषा शिक्षणमा विगतदेखि वर्तमानसम्म पचासौँ विधिहरुको प्रयोग भइसकेको छ । निगमनात्मक विधि, व्याख्यान विधि, अनुवाद विधि आदि निकै पहिलेदेखि प्रचलित विधि हुन् भने आगमनात्मक विधि, सम्प्रेषणात्मक विधि, कार्यमूलक विधि आदि पछिल्लो समयमा प्रचलित विधिहरु हुन् । भाषा शिक्षणका लागि अनेकौँ विधिहरुको प्रयोग गर्न सकिने भए पनि विद्यार्थीको रुचि, आवश्यकता, अनुभव तथा मनोवैज्ञानिक पक्षको ख्याल गर्नु जरुरी छ । नेपाली भाषा शिक्षणको वर्तमान अवस्था परम्परागत र आधुनिकताका बिचको सङ्क्रमण बिन्दुमा रहेकाले संसारमा भाषा शिक्षणको जुन विकसित वर्तमान छ सोहीअनुसार हाम्रो कक्षाकोठा, विधि र प्रक्रियामा पनि सुधार आवश्यक छ ।

सन्दर्भ सामग्री सूची
• अधिकारी, हेमाङ्गराज (२०६७), भाषा शिक्षण : केही परिप्रेक्ष्य तथा पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• ......................(२०६७), नेपाली भाषा शिक्षण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• एन्थोनी, (१९९३), टिचिङ अफ इङलिस एज अ सेकेन्ड ल्याङ्ग्वेज इन इन्डिया, बरेली : प्रकाश बुक डिपो ।
• घिमिरे, विष्णु (२०६९), नेपाली शिक्षणप्रति शिक्षकहरुको दृष्टिकोण, स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर ।
• पाण्डेय, राम शकल (१९७६), हिन्दी शिक्षण, आगरा : विनोद पुस्तक भण्डार ।
• पोखरेल, केशवराज र उमेश काफ्ले (२०७०), नेपाली भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति, काठमाडौँ : क्याम्बृज पब्लिकेसन प्रा.लि. ।
• पौडेल, माधवप्रसाद (२०६७), भाषा पाठ्यक्रम, पाठ्यसामग्री तथा शिक्षण पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• शर्मा केदारप्रसाद र माधवप्रसाद पौडेल (२०६७), नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

तनहुँ, bishnughimire955@gmail.com

Wednesday, May 20, 2020

‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’

4:24 AM 0
‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’
- जोतारे धाइबा
चावहिल सरस्वतीनगरस्थित निवासमा पुग्दा डा. तारानाथ शर्मा नेपाली भाषामा पछिल्लो समय आक्रमणमा परेका शब्द र अक्षरहरुको टिपोट गरिरहेका भेटिए ।
पछिल्लो समय भाषामा तोडमोड गरिँदा एक भाषा मर्मज्ञको मनमा के खेलिरहेको होला भनेर सोध्दा उनले खिन्नता र झोंक मिसिएको भावमा भने, ‘म चुपचाप बसेको छुइनँ, सबै हेरिरहेको छु । अहिले भाषा बिगार्नेहरुले भयंकर बिगारे । यिनीहरुलाई बिगार्ने नै भन्छु म !’
भाषा बिगार्न निर्णय गर्नेलाई उनी भाषाविद् मान्न तयार भएनन् । थपे, ‘भाषा नजान्ने मान्छेलाई पनि भाषाविद् भन्छन् कहीँ ? भाषा जान्ने मान्छेले त आफ्नो इतिहास पनि हेर्नुपर्छ । विदेशी दलाल भएर तिनीहरुको वर्णमालामा हाम्रो भाषालाई ढालेर भाषा बन्छ ?’
एक समय नेपाली भाषा शुद्ध हुनुपर्छ भनेर लागेका झर्रोवादी आन्दोलनका एक अगुवा हुन् डा. शर्मा । त्यतिमात्र होइन, निबन्ध, कथा, समालोचनामा उत्तिकै दक्षतासाथ कलम चलाउने उनले कुनै समय नेपाली पाठ्यपुस्तकसमेत लेखेका थिए ।
शर्मालाई सोधियो-भाषालाई यसरी बिगारेको देख्दा चित्त कत्तिको कुँढिएको छ ?
‘मेरी आमालाई कसैले लात्ताले हिर्कायो भने कस्तो लाग्छ ? त्यस्तै भएको छ,’ भाषालाई अचाक्ली माया गर्ने मन खोले उनले, जुन यो समय निकै आहत भएको रहेछ ।
लामो हिज्जे परम्परामा रहेका विद्या, बुद्ध, भक्त जस्ता संयुक्त वर्ण अहिले खुट्टा काटेर लेखेको देख्दा उनको मन निकै पिरोलिएको छ । अनि कतिपय वर्णहरु (ञ, ण, श, ष, व) अनावश्यक भन्दै हटाइँदा र एउटै डिकोमा लेखिँदै आएका समास शब्द (विराटनगर, लक्ष्मीप्रसाद) लाई छुट्याएको पढ्दा सकसक लाग्दोरहेछ ।
Tara-Nath-Sharma-6-768x460
दार्जीलिङदेखि बनारससम्म
भाषालाई आमासमान मान्ने शर्माको रुचि र चाख अहिलेको होइन, विद्यार्थीकालदेखि नै उस्तै छ ।
इलाम बरबोटेबाट भारतको दार्जीलिङ पुगेका शर्माले नौ कक्षादेखि आईएसम्म त्यहीँ पढे । दार्जिलिङ बसाइका क्रममा उनको सरसंगत पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, शिवकुमार राई, रुपनारायण सिंह जस्ता भाषा-साहित्यसेवीहरुसँग भयो । त्यो संगतबाट उनले शुद्ध नेपाली सिके । नेपाली भाषा शुद्ध बनाउनुपर्छ भनेर लागे । ‘गाउँघरका मान्छेहरुले कस्तो बोल्छन्, म त्यही लेख्थेँ । अंग्रेजी र हिन्दीका अप्ठेरा शब्द लेख्दिनथेँ । आफैं खोजेर नेपालीपनमा जोड दिन्थेँ,’ उनले सुनाए ।
दार्जिलिङबाट उनी ०१३ सालतिर भारतकै बनारस पुगे, बीए पढ्न । त्यहाँ धेरै नेपालीहरु पनि हुन्छन् र पढाइ राम्रो हुन्छ भनेपछि बनारस युनिभर्सिटीमा भर्ना भए । त्यहाँ उनको भेट बालकृष्ण पोखरेलसँग भयो । बिराटनगरका पोखरेल पनि त्यहीँ पढ्न आएका रहेछन् । नेपाली भाषाको शुद्धताबारे दुबैको रुची मिल्यो ।
शर्मा सम्झिन्छन् – ‘बालकृष्ण पनि मजस्तै शुद्ध नेपालीका पक्षमा रहेछन् । तर, यसलाई शुद्ध नेपाली नभनी झर्रो नेपाली भनौं भन्ने कुरा गरे उनले । थापा, बस्नेत, कटुवाल इत्यादि झर्रा अर्थात् चोखा क्षेत्री भएजस्तै नेपालीलाई पनि झर्रो भनौं भन्ने उनको कुरा थियो । त्यो मलाई साह्रै मन पर्‍यो ।’
त्यहीबेला कोषराज रेग्मी र उनका भाइ चूडामणि रेग्मी पैसा उठाएर पत्रिका निकाल्ने तयारीमा रहेछन् । तिनीहरु पनि बनारस युनिभर्सिटीमा अंग्रेजी पढ्थे । वल्लभमणि दाहाल र शर्माका दाजु पर्ने गणेशप्रसाद भण्डारी पनि त्यहीँ थिए । उनीहरु सबै मिलेर पत्रिका निकाल्न कम्मर कसे । पत्रिकाको नाम ‘नयाँ कदम’ राख्दा हिन्दीको गन्ध आउँछ भनेर ‘नौलो पाइलो’ राखे ।
बीएपछि बालकृष्ण भाषा विज्ञानमा र तारानाथ अंग्रेजीमा एमए गर्न कोलकाता, पटना पुगे । उनीहरु गएपछि पनि कोषराज रेग्मीहरुले केही समय पत्रिका चलाए । शर्मा भन्छन् – ‘कोषराज बिराटनगर फर्केपछि जनवार्ता र चूडामणिले भद्रपुरमा जूही भन्ने पत्रिका निकालेर झर्रा शब्दहरु चलाइ नै रहे । बालकृष्ण र मैले काठमाडौं पुगेपछि झर्रो आन्दोलनलाई झन् अगाडि बढायौं ।’
झर्रोवादले नेपाली भाषाको माउ भाषा संस्कृत भएकाले त्यसका वैयाकरणकार पाणिनिले सिकाएअनुसार चल्नुपर्छ भन्नेमा जोड दिएको थियो । जसको उद्देश्य थियो, भरिसक्य नेपालका सबै जातजातिले बुझ्ने र उच्चारण गर्न सजिलो हुने साझा भाषा बनाउने । पाणिनीको ‘सिद्धान्त कौमुदी’ असाध्यै वैज्ञानिक र पवित्र भएको उनले पटकपटक जोड दिइरहे ।
अंग्रेजीमा भाषा विज्ञानमा विद्यावारिधि गरेका ८२ वर्षे शर्मा दोहोर्‍याइरहन्छन्, ‘संस्कृत हाम्रो हजुरआमा भाषा हो । नेपाली भाषा संस्कृतबाट आएको भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । पाणिनिको व्याकरणले सिकाएको भन्दा अरुतिर जान खोज्यौं भने हामी लर्बरिन्छौं, बिग्रिन्छौं ।’
तर, अहिले मूल मर्ममै प्रहार गर्ने गरी नेपाली भाषाको वर्णविन्यास भत्काइँदा उनी टुलुटुलु हेर्न बाध्य छन् । झोँक्किन्छन् – ‘अहिले भाषालाई जोगाउन केही गरौं भने हाम्रो अधीनमा केही छैन । हाम्रो अधीनमा भए पो हामी सोच्थ्यौं त ! हाम्रो अधीनमा भए त नेपालीकरण गर भन्छौं नि ! हाम्रो साझा भाषा नेपाली हो, नेपालीलाई सबैले बुझ्ने भाषा बनाऊ ।’
अहिले भाषालाई चलाउनेहरु विद्वान् नभएको उनी ठोकुवा गर्छन् । ‘तिनीहरु त्यसै विद्वान् भएका छन् । अलि दिन नेपाली पढाए, अनि त ए हामी विद्वान् भयौं, भाषाविद् भयौं भन्नतिर लागे । त्यसरी हुँदैन नि ! भाषामा मनलाग्दी गर्नेहरू पनि कहीँ विद्वान् हुन्छन् ?,’ उनले झपार्ने लवजमा भने ।
केही नजान्ने मूर्खहरुले शासन चलाउँदा देश बिग्रिएजस्तै भाषामा पनि बढ्ता जान्ने हुनेहरुले विकृति ल्याएको उनले औंल्याए । यति भनिरहँदा उनले के सम्झिए कुन्नि, जिभ्रो टोके । र, पल्लो कोठातिर चियाउँदै मसिनो स्वरमा भने – श्रीमतीले कसैलाई गाली नगर्नू भनेकी छन्, सबैलाई बराबरी गर्नू रे !
भाउजूसँग डराउँदै ‘भाषाविद’ माथि प्रहार
नेपाली भाषाजस्तै हिन्दी पनि संस्कृतले जन्माएको भाषा हो । तर, शर्मा नेपाली भाषालाई संस्कृतकी पवित्र छोरी मान्छन् । किनकि हिन्दी भाषामा उर्दू, अरबीलगायत अन्य मिसिएर त्यसको संस्कृतपना हटेको छ । नेपालीमा भने त्यस्तो धेरै अचाक्ली छैन । संस्कृतले सिकाएकै बाटोमा हिँडिरहेको छ ।
तर, हिन्दी भाषाको प्रचार र प्रभाव बढेर नेपालमा पनि हिन्दीकै चलनचल्ती बढी देख्न थालेका छन् शर्माले । पत्रिका, रेडियो, टीभी जता पनि हिन्दी शब्द नचलाएको ठावैं देख्दैनन् । चिन्ता गर्छन्, ‘हिन्दीले गर्दा हाम्रो भाषा खाएको छ ।’ ठूलो देश भएकाले हिन्दीको प्रचार हुनु स्वाभाविक भए पनि हामीले आफ्नो भाषाको मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।
पछिल्लो समय भने वर्णहरु मिसिएर बनेको संयुक्ताक्षरलाई अंग्रेजी पाराले लेख्न थालेको देख्दा उनी बढ्तै झोंक्किएका छन् । क्र, कृ, क्व, क्ष, द्य, द्ध जस्ता संयुक्त अक्षरलाई हलन्त गरेर लेख्दा हामीले चलाउँदै आएको संस्कृतको नियम मिचिने उनको चिन्ता छ ।
अंग्रेजीबाट प्रभावित भएर अहिले संयुक्त अक्षरलाई हलन्त दिएर जथाभावी टुक्र्याउन थालिएको उनलाई लाग्छ । भन्छन्, ‘अंग्रेजीमा जस्तो अक्षरहरु एक-एक गरेर जोड्दा पो सजिलो हुन्छ भन्न थालेका छन् । हामीले उनीहरुले जस्तो गरेर हुँदैन, संयुक्ताक्षर गर्नैपर्छ । ऐ, औ छोडेर अब हामीले अइ र अउ लेख्ने ? संयुक्ताक्षर सिक्न अप्ठेरो भो, त्यसैले हलन्त गर्नुपर्छ भन्ने हो ? अलिकता सिक्नुपर्छ त ! नसिकी त्यसै आउँछ ?’
परिमार्जित नियम भन्दै भाषालाई जथाभावी चलाउँदा यसले विद्यार्थीलाई झन् बराल्ने र हाम्रो भाषालाई पनि थप बिगार्ने खतरा उनले देखेका छन् । यस्तो अवस्थामा भाषाको मौलिक परम्परा कायम राख्न झर्रोवाद झनै सान्दर्भिक भएको उनको ठहर छ । झर्रोवादलाई झन् अगाडि बढाएर नेपाली शुद्ध पार्नतिर जुट्नुपर्ने आवश्यक ठानेका छन् ।
तपाईंहरुले मौलिक स्वरूप जोगाउनुपर्छ भनिरहँदा छँदाखाँदाको ञ, ण वर्ण नचाहिने भनेर मास्ने काम भइसक्यो नि !
यो प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गरे, ‘हामीले ‘पुराण’, ‘कृपण’ भन्नु पर्दैन ? संस्कृत शब्द लेख्नुपर्दैैन ? विवरणलाई विवरन लेख्ने ? गनित लेख्ने ? हावा कुरा नगरौं न । हाम्रो उच्चारण अनुसार हिज्जे छ जम्मै । सबै उच्चारणका अक्षरहरु राख्नुपर्छ । तिनीहरुलाई हटाएर सरल पार्नु भनेको भाषा बिगार्नु हो ।’
संस्कृतको नभई आगन्तुक शब्द भएकाले पहिलेको शहीद अहिले सहिद लेख्दा हुने उनले सुझाए । तर, फूल र फुल नछुट्याई ह्रस्व लेख्ने नियम ल्याएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । भने, ‘उसले फुल ल्यायो भन्दा के ल्यायो ? अण्डा कि पुष्प, कसरी बुझ्नु ? भेदचाहिँ नछुट्याउने अनि शुद्ध गर्ने भन्दै जे पायो त्यही लेख्ने ?’
हिज्जेको परिमार्जित नियम पाठ्यक्रम विकास केन्द्रले विद्यालयको पाठ्यक्रममा लागू गरिसक्यो नि भनेर सुनाउँदा यसमा उनले खासै अचम्म मानेनन् ।
‘पाठ्यक्रम विकास केन्द्रमा राम्रो मान्छे कहाँ छन् र ! देशमा प्रधानमन्त्री त राम्रो छैन भने पाठ्यक्रममा कहाँ राम्रो हुन्छ ? त्यसको कुरै नगरौं । केही जानेका छैनन् तिनीहरुले । ती फटाहा हुन् ।’
फेरि सम्झिए, श्रीमतीले कसैलाई नराम्रो नभन्नू भन्या थियो, मैले भनिहालेँ ।
नयाँ नियममा पदवियोगमा पनि गल्ती देख्छन् उनी । पाणिनिले ‘पृथकार्था नाम एकार्थी भाव समास’ भने झैं पृथक्-पृथक् अर्थ दुई वा सोभन्दा बढी शब्द एक ठाउँ राखेपछि एउटा अर्थ जनाउँछन् भने समास हुन्छ र त्यो सँगै लेख्नुपर्छ भनेका छन् । त्यही नियम पछ्याउनुपर्ने उनी बताउँछन् ।
यसमा उनले उदाहरण नै दिए, ‘एकजना मावली दाजु हुनुहुन्थ्यो देवीप्रसाद भन्ने । देवी प्रसाद खानुहुन्छ भन्दा के अर्थ आउँछ ? देवीचाहिँ प्रसाद खानुहुन्छ । अब देवीप्रसाद खानुहुन्छ भन्दा के भो ? अर्को अर्थ आएन ? त्यसैले एकै ठाउँ राख्नुपर्छ कि पर्दैन भन्ने त्यहीँबाट बुझिहालिन्छ नि !’
नेपाली भाषा सरल पार्ने नाममा उच्चारण अनुसार हिज्जे लेख्ने नियम ल्याइएको छ । यसमा शर्मा पनि हिज्जे र उच्चारणबीच साह्रै राम्रो मेल हुनुपर्ने मान्छन् । तर, उच्चारण अनुसार हिज्जे कुनै भाषामा पनि नहुने उनी बताउँछन् । उनले भने, ‘भाषाका उच्चारण (कथ्य) र लेखन (लेख्य) दुई कुरामध्ये उच्चारणमा व्याकरण र लेखनमा हिज्जेको कुरा आउँछ । हिज्जे अनुसार उच्चारण हुनुपर्छ । उच्चारण अनुसार हिज्जे गरेर पनि साध्य हुन्छ ? अंग्रेजीलाई त्यस्तो गरे भने के हुन्छ ? कसैले सोच्छ त्यस्तो ?’
शर्मालाई लाग्छ, अहिले विद्वान् भएर देखिनेहरू एक नम्बरका पैसावाज हुँदा भाषाको दुर्गति भएको हो । आफ्ना विद्वान् साथीहरु पहिला त क्या बुझ्ने भए पनि अहिले ठ्याम्मै नबुझ्ने भएकोमा उदेक लाग्छ उनलाई । शंका गर्छन्, कता कता लागे, कसैले पैसा दियो कि ? क्रिश्चियनहरु आएर हाम्रो भाषा र धर्म बिगार्नेमा सक्रिय भएको देख्दा चिन्ता अझ चुलिएको छ ।
भाषाको कुरा गर्नेहरूबाट थरीथरी कुरा आउँदा मानक नेपाली भाषा कसरी बन्ला त ?
अंग्रेजीको दासत्वबाट छुटाएर हिन्दीलाई पछ्याउन छाडेपछि अहिलेको नेपाली भाषा नै मानक हुने उनलाई लाग्छ । त्यसका लागि अहिले विद्वान् भएर देखा पर्नेहरूलाई पनि नेपालीलाई माया गर, राष्ट्रवादी होऊ भनेर बुझाउन जरुरी देख्छन् ।
अब त थाकें, ५ लाख ७५ हजार लेखिएछ !
झर्रो आन्दोलनमा लागेका सहयात्रीहरुले एक-एक गरी चोला छोड्दै जाँदा तारानाथ पछिल्लो समय आफूलाई एक्लो महसुस गरिरहेका छन् । कोषराज, वल्लभमणि, गणेशप्रसाद बितिसके । चूडामणिले जूही पत्रिका चलाइरहे पनि खासै प्रभावकारी हुन सकेको छैन । उता बिराटनगरमा बस्दै आएका बालकृष्ण उमेरको शिखरमा पुगेर लेख्न र बोल्न नसक्ने गरी गलेका छन् ।
उनी पनि भन्छन्, अब त थाकेँ ! कसले के-के भाँडभैलो गर्छन्, उनीहरुकै पछि लागेर के हिँड्नु ! शर्मा हिसाब नै निकाल्छन्, अहिलेसम्म पाँच लाख ७५ हजार ६ सय ६२ वटा लेखोट लेखेछु । जम्मै नोटहरु भरिभरि छ ।
तर, जति लेखे पनि मान्छेहरुले वास्ता नगरेको र नपढेको देख्दा खिन्न बन्छन् । ब्लडप्रेसर र सुगरले च्यापेको वयोवृद्ध उमेरमा पनि उनले भाषाको माया भने छाडेका छैनन् । हक्की स्वरमा भन्छन्, ‘हाम्रो साझा भाषा नेपाली हो । आफ्नो भाषा शुद्ध पारेर सबैले बुझ्ने बनाऔं ।’
onlinekhabar.com बाट साभार