कागले लगेको भाषाको कान -युग पाठक - नेपाली भाषा शिक्षक समिति

Wednesday, May 20, 2020

कागले लगेको भाषाको कान -युग पाठक

कागले लगेको भाषाको कान

-युग पाठक

youg-pathak-336x330केही हप्तायता ‘नेपाली भाषा बचाऔा अभियान–०७२’का नाममा छापिएको एउटा फ्लेक्स बोर्डले हल्लीखल्ली मच्चाएको छ । फ्लेक्समा ‘राष्ट्रिय विभूति गौतम बुद्ध कि रास्ट्रिय बिभुति गउतम् बुद्ध ?’ जस्ता तीन तुलनात्मक उदाहरण दिइएका छन् । र, गुहार लगाइएको छ– लौ न, भाषा भत्काएर गल्र्यामगुर्लुम ढाल्न लागे । त्यसो त शरदचन्द्र वस्तीको नेतृत्वमा ‘भाषा बचाऊ’ अभियान चल्न लागेको ०६८ सालदेखि नै हो । वेलावेला वस्ती आफौ र उनका समर्थकले प्राडाहरूले भाषा बिगारेको आरोप लगाएर लेख्ने/बोल्ने गरिआएकै हुन् । तर, अचानक यो विवादले आमसञ्चार तताएको चाहिँ माथि उल्लेखित फ्लेक्स बोर्ड सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि हो । के परिमार्जित भनिएको हिज्जेको नियमले उक्त फ्लेक्स बोर्डमा भएकै जस्तो सबै अक्षरलाई छुट्याएर लेख्ने प्रस्ताव गरेको हो त ? वास्तवमा यो कथित् भाषा विवाद के हो ? यो रचनात्मक बहस हो कि नाक ताकेर औंलो उज्याउने विवाद ? यतातिर पनि बहस गर्नु आवश्यक देखिएको छ । 


बहस कि जिद्दी ? 
अहिले चलेको विवाद भाषालाई लोकतान्त्रिक र रचनात्मक बनाउने बहस होइन, भाषा विवाद पनि होइन, फगत हिज्जेको विवाद हो । यस्ता विवाद इतिहासमा पटक–पटक चल्दै आइरहेका छन् । पचास वर्षदेखि खासखास शब्दलाई ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भनेर विवाद गरिएको छ र यो विवाद टुंगोमा पुग्ने कुनै छाँट छैन । पटक–पटक भाषाविद्हरू गोष्ठीमा जुट्छन् र विवादलाई बल्झाएर फर्कन्छन् । विवादको पछिल्लो एपिसोड नेपाल प्रज्ञा प्रतिष्ठानले ०६७ मा आयोजना गरेको ‘नेपाली भाषा संगोष्ठी’को हिज्जे परिमार्जन गर्ने निर्णयपछि सुरु भएको हो भनिएको छ । यो गोष्ठीमा सहभागीमध्येकै एक भाषाविद् शरदचन्द्र वस्तीको अगुवाइमा अर्को वर्ष त्यो निर्णयविरुद्ध ‘ललितपुर घोषणापत्र’ जारी भयो । अहिले आएर सुधारवादी खेमाका प्रा. हेमाङ्ग राज अधिकारीविरुद्ध अख्तियारमा उजुरी हालिएको छ भने परिमार्जनको निर्णय तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । भाषाको सार्वजनिक बहसका नाममा केही शब्दका हिज्जे यस्तो शुद्ध कि उस्तो शुद्ध भनेर ढिपी गरिएको छ । यस्तो महसुस हुन्छ कि भाषामा आफ्नो वर्चस्व कायम गर्न चाहने गुटैपिच्छेको जिद्दी चलिरहेछ । १९९१ सालमा ‘नेपाली भाषा प्रकाशिनी समिति’ले छापेको ‘नेपाली कसरी शुद्ध लेख्ने’ भन्ने पुस्तिकामा जे नियम छापिएको छ, त्यही हुनुपर्छ, त्यसमा टसका मस पार्न हुँदैन भन्ने वस्ती समूहको जिद्दी छ । वस्ती समूहकै सदस्य केदार शर्माका अनुसार ‘नेकशुले ०६९’ त्यही पुरानो नियमको नयाँ संस्करण मात्र हो । यो भाष्यका अनुसार सुधारवादीले बनाएको नयाँ नियमले नेपाली भाषा भत्काएर ध्वस्त बनाइसक्यो । उता सुधारवादीहरूको दाबी छ– हिज्जेका केही नियम फेरेर सजिलो र बोलीचालीको उच्चारणसँग नजिक हुने गरी सुधार गरिएको हो । भाषा भनेको केवल शब्द होइन र भाषाको विकास हुनु वा नहुनु हिज्जेको एकाधिकारको विषय होइन । कुनै पनि शब्दले अर्थ निर्माण गर्दा बोलिएको संकथनको सन्दर्भ, वाक्यले बोक्ने समय सन्दर्भ तथा सामाजिक–सांस्कृतिक व्यवस्थालगायत अनेक सन्दर्भलाई एकैचोटि तानेर ल्याइराखेको हुन्छ । त्यसैले फूल र फुल लेख्दा अर्थमा फरक पर्छ भनेर जिद्दी गर्ने वेला के ख्याल राख्नुपर्छ भने जनजीवनमा कुखुराले ‘फुल’ पार्न छाडिसक्यो र ‘अन्डा’को व्यापार फस्टाइसक्यो । जनजीवनले अप्ठ्याराहरू आफौ फुकाउँदै जान्छ, भाषाविद्को शुद्ध नियम पढेर ह्रस्व फुल खोज्न कोही बजार जाँदैन । यद्यपि लेख्य भाषामा अधिकतम् एकरूपता हुनु भाषाको आवश्यकता हो । तर, अहिले चलेको विवाद भने भाषाको राजनीतिसँग बढी सम्बन्धित छ भन्ने तथ्य क्रमश: उजागर हुँदै छ । यसको सबैभन्दा टड्कारो उदाहरण हो व्यापक प्रचारमा ल्याइएको फ्लेक्स । फ्लेक्सले भन्छ– ‘प्रधानमन्त्री कि प्रधान् मन्त्रि ?’, ‘गौतम कि गउतम् ?’ ।
 सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा भनिएको छ, ‘नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँग समेत गहिरो रूपमा सम्बन्धित छ ।’ वास्तवमा हिज्जेको विवाद बहकिएर अन्तै पुगिसकेको छ । 
 कथित् सुधारिएको हिज्जेको नियमले के शब्दहरूलाई यसैगरी फुटाउँछ त ? भएभरका जम्मै संयुक्त अक्षरलाई टुक्रा गरेर लेख्ने नियम बनाइएको हो त ? प्रा. हेमाङ्ग राज अधिकारीका अनुसार त्यसो कसैले कहिल्यै भनेको छैन । यिनै अधिकारी अहिले भाषा बिगारेको आरोप खेपिरहेका छन् । अधिकारीकै संयोजकत्वमा आयोजित गोष्ठीले नयाँ नियम पारित गरेको थियो । उनको कुरा सुन्ने हो भने द्द, द्य, क्त, द्व जस्ता केही संयुक्त अक्षरलाई छुट्याएर हलन्त गर्ने भनिएको हो, त्यो पनि विद्यार्थीको सिकाइलाई सजिलो पार्न । फ्लेक्समा भएको जस्तो प्रधानमन्त्रीको प्र र त्र, तथा ज्ञ, क्ष लगायतलाई टुक्र्याउने भनेको होइन । स्पष्ट कुराचाहिँ के भने फ्लेक्समा भएको जस्तो आधा अक्षर (न्) र मात्रा (गौतमको गौ लाई ौ हटाएर गउ) समेत छुट्याएर अलग्गै लेख्ने भनेर कसैले भनेको छैन । वस्तीको तर्क छ– केही संयुक्त अक्षर मात्र टुक्र्याउने कुरा सुन्दा सजिलो छ, तर नियम नै बनाइसकेपछि भोलि गएर सबै संयुक्त अक्षर टुक्रा गर्ने सम्भावना हुन्छ । यो आशंका जायज हो, तर आशंका मात्र । प्रश्न उठ्छ– सुधारिएको हिज्जेले सबै संयुक्त अक्षर छुट्याउँछ, सबै आधा अक्षरलाई हलन्त गर्छ, मात्रा पनि छुट्याउँछ भन्ने वस्ती समूहले पनि मानेको हो कि होइन ? सम्भावनालाई तर्क गर्न सकिन्छ तर तथ्य बनाएर प्रचार गर्न पाइँदैन । फ्लेक्समा दिइएको उदाहरणले भने तथ्यसंगत तर्क गर्दैन, केवल झुटमा टेकेर जिद्दी मात्रै गर्छ ।

शुद्ध–अशुद्धको खेल 
नेपाली (गोर्खाली) व्याकरण लेखनको सुरुवात पण्डित हेमराजको ‘चन्द्रिका’ (वि.सं. १९६९) बाट भएको मानिन्छ । त्यहाँदेखि यहाँसम्म लेखिएका व्याकरणले संस्कृत भाषाको पाणिनी व्याकरणलाई आधार मानेका छन् । संस्कृतको विरासतबाट आएका पण्डितहरूले भाषाको नेतृत्व गरेकैले शुद्ध र अशुद्धको कठोर नियम संस्कृतबाटै नेपालीमा पनि भित्रिएको हो । मान्छेलाई नै छुत–अछुत, शुद्ध–अशुद्धमा बाँड्ने परम्पराबाटै यस्तो कठोरता आएको हो । यो पंक्तिकारकै अनुभवले के भन्छ भने यो भाषा शुद्धसँग लेख्न सकिन्छ भन्ने हिम्मत केटाकेटी वेलामा हामीलाई भएन । अझ मातृभाषा नै फरक भएका मेरा साथीहरूको के हालत भएको होला भनेर अहिले अनुमान हुन्छ । संस्कृत कठोर अनुशासनमा बाँधिएको भाषा हो । त्यसमाथि हिन्दू वर्णव्यवस्थाअनुरूप उच्च जातका ब्राह्मणले मात्र पढ्न सक्ने–पाउने गरी एक्ल्याएर यो भाषालाई लोकजीवनबाट कटाइयो । फलस्वरूप जनजीवनबाट संस्कृत लोप भएर गयो । तर, यही भाषाबाट बनेका अरू भाषाले जनजीवन र सामाजिक–सांस्कृतिक परिवेशअनुसार आफूलाई बदल्दै ल्याए । संस्कृतबाटै बनेको हुनाले यसको विरासत नेपाली भाषाले पनि बोक्नैपर्ने हुन्छ । तर, नयाँ परिस्थितिअनुसार यसले कसरी आफूलाई सिकाइ र दैनिक व्यवहारमैत्री बनाउँछ, त्यो महत्त्वपूर्ण कुरा हो । शुद्ध र अशुद्धको कठोर नियमबाट पछि हटेर लोकतान्त्रिक र सरल व्यवहार नदेखाई यसलाई धरै छैन । भनिन्छ, नियम फेरिएकोले पुरानो पारामा पढेका शिक्षकलाई दु:ख भयो । तर, शिक्षकले नै विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने उसले आलोचनात्मक ढंगले पढाउन सक्छ कि सक्दैन ? साना नानीहरूलाई शुद्ध–अशुद्धको खेलबाट आतंकित नगरी स्वाभाविक रूपले आफ्ना कुरा लेख्न र भन्न सिकाउन सकिँदैन ? अलि ठूला भएका विद्यार्थीलाई विद्या लेखे पनि हुन्छ, विद्या लेखे पनि हुन्छ, तर द्य अक्षरचाहिँ द र य मिलेर बनेको हो भनेर पढाउन सकिँदैन ? हुर्किसकेका विद्यार्थीलाई त फरक नियमको विवादका बारेमा पनि बताउन सकिन्छ नि । यही चाहिँ शुद्ध हो नत्र अशुद्ध हुन्छ भनेर किन आतंकित पार्ने ? विद्वान्हरू भन्छन्– संस्कृतमा पनि ह्रस्व दीर्घ लेखनमा स्पष्टता छैन । सुधारिएको नियमले अगाडिका र बीचका सबै ह्रस्व गर्ने र अन्तिमको इकार भए दीर्घ, उकार भए ह्रस्व गर्ने भन्छ । भाषा विज्ञानका विज्ञहरू नेपाली जिब्रोले ह्रस्व र दीर्घको उच्चरण फरक नगर्ने बताउँछन् । त्यस हिसाबले संस्कृतका अनेक नियम याद गरेर पनि कहिल्यै शुद्ध लेख्न नसकिने शुद्ध–अशुद्धको आतंकबाट मुक्त हुनु खराब कुरा हो ? हिज्जेलाई यस अर्थमा सरल गरिनु कसरी भाषा बिगार्नु हो ? व्यापक प्रयोगमा जाँदा जुन सजिलो हुन्छ, मान्छेले त्यसैलाई आत्मसात् गर्छ । अहिले लगभग सबै पत्रपत्रिकालगायत आमसञ्चारमा ह्रस्वदीर्घको यही नयाँ नियम चलिसकेको छ । शहीदको साटो सहिद लेख्ने चलन स्थापित भइसक्यो । संस्कृत भाषाबाट सीधै आएका तत्सम शब्द कम हुँदै गइसके र तद्भव तथा आगन्तुक शब्दले शब्दकोशको व्यापक हिस्सा ओगटिसक्यो । कैयौा पत्रपत्रिकाले त प्रुफ रिडरको पद नै हटाइसके र पत्रकारले आफौ प्रुफ रिडरको पनि जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सजिलो नियम नै व्यापक प्रयोगमा आउने निश्चित छ ।

संस्कृत परम्परा र भाषा विज्ञान 
अहिलेको विवाद संस्कृतको व्याकरण परम्परा र आधुनिक भाषा विज्ञानबीचको टक्कर पनि हो । भाषा वैज्ञानिकहरूका अनुसार नेपाली जनजिब्रोले ञ, ण, श, ष र ऋ उच्चारण गर्दैन । कुन ध्वनि उच्चारण हुन्छ र कुन हुँदैन भन्ने तथ्य आधुनिक उपकरणको प्रयोगबाट पुष्टि हुन्छ । भाषा विज्ञानका अध्यापक राम लोहनीका अनुसार सुधारवादी नियमले यही वैज्ञानिक निष्कर्षका आधारमा तद्भव र आगन्तुक शब्दमा श, स र ष को सट्टा एउटै स, अनि ण, ञ र न को सट्टा एउटै न लेख्ने वर्णविन्यास सिफारिस गरेको हो । यो नियमले पनि संस्कृतबाट सिधै आएका तत्सम शब्दलाई भने संस्कृतकै नियमअनुसार राख्छ । ठीक यही कुरामा अर्को विवाद छ । नेकशुलेको जिकिर छ कि तत्सम मात्र होइन, तद्भव र आगन्तुक शब्दलाई पनि संस्कृतकै नियम लगाउनुपर्छ । अर्थात् जुन भाषाबाट शब्द आएको हो, त्यही भाषाको उच्चारण बुझेर श वा स लेख्ने निर्णय गर्नुपर्छ । जस्तै अंग्रेजी शेक्सपियरको सुरुको मोटो श नै हुनुपर्छ, आजकल लेख्ने गरिएजस्तो पातलो स वाला सेक्सपियर होइन । रमाइलो कुरो के भने अंग्रेजी भाषामा संस्कृतको श, स र ष खोज्ने कसरी हो ? हरेक भाषाका आफ्नै ध्वनि हुन्छन्, त्यसैले वर्णमाला अलग्गै र विशिष्ट हुन्छ । संस्कृतका श, स र ष ध्वनि अंग्रेजीमा हुने कुरै भएन । यो त सरासर संस्कृतको नियम अंग्रेजीमा लगाउने जिकिर हो । त्यति मात्र होइन, यो नियमले जतिवटा भाषाबाट आगन्तुक शब्द आउँछन्, सबैमा संस्कृतकै वर्ण खोज्न लगाउँछ । अर्थात् उर्दु, फारसी, तामाङ, लिम्बू, अंग्रेजी, फ्रान्सेली सबै भाषामा संस्कृतको नियम लागू गर्ने जिकिर हो यो । यो मतका अनुसार सबै आगन्तुक शब्दलाई नेपाली वर्णविन्यासको एउटै नियम लगाउने हो भने ‘फ्युचर’लाई ‘फुटुरे’ भन्नुपर्ने हुन्छ, ‘स्याम्पेन’लाई ‘चाम्पांगे’ पढ्नुपर्ने हुन्छ । यो तर्क कति सतही छ भने आगन्तुक शब्द भित्रिने प्रक्रियालाई यसले सोझै अनदेखा गर्छ । लोहनी भन्छन्, ‘शब्दहरू प्रवेश हुन्छन् तर शब्दसँगसँगै ध्वनि र वर्ण प्रवेश हुँदैन ।’ अर्थात् जुनकुनै भाषाबाट शब्द भित्रिँदा त्यसलाई जनजीवनले पचाएर आफ्नो बनाएको हुन्छ । बिरानो भाषाको शब्द यो प्रक्रियामा जनजिब्रो एउटा अभ्यासबाट गुज्रिन्छ । फ्युचर शब्द प्रवेश हुँदा अंग्रेजीको स्पेलिङ सिकेर भित्रिने होइन, उच्चारण नै भित्रिने हो । यसो हुँदा कहिलेकाहीँ शब्दले नयाँ रूप पनि लिन्छ । जस्तै सोक्रेटिज शब्द सुकरात, अलेक्जेन्डर चाहिँ सिकन्दर भएर आयो । अब ‘सुकरातका पाइला’ पुस्तक लेखेबापत गोविन्दराज भट्टराईलाई पनि भाषा बिगारेको आरोप लगाउने त ? अनि अंग्रेजीमा दुई शब्दमा लेखिने कोकाकोला नेपालीमा एउटै भयो । जिद्दी नै गर्ने हो भने तिब्बत शब्द तिब्बती भाषामा कसरी उच्चारण हुन्छ भनेर खोज्न एउटा कार्यदल बनाउनुपर्ने हुन सक्छ । सबै आगन्तुक शब्दमा एउटै स र न प्रयोग गर्ने कुरा जनजिब्रोको सम्मान पनि हो र हिज्जेको सजिलो नियम पनि हो । सबैमा संस्कृतकै नियम थोपर्ने हो भने यही प्रक्रिया जटिल हुन जान्छ । अपवाद र एउटा–एउटा शब्द पक्रेर यो बहस सम्भव छैन । लोहनीका शब्दमा, ‘बोल्ने एक थोक लेख्ने अर्थोक भएपछि संस्कृतको नियमअनुसार कान्छालाई काञ्छा, पुन्टेलाई पुण्टे र खास्टोलाई खाष्टो लेख्नुपर्ने हुन्छ ।’

आरोपको रङ 
आरोपको रङ हुँदैन, तर थरीथरी रङमा आरोप छ्याप्नचाहिँ सकिन्छ । हिज्जे विवादकै सिलसिलामा प्रा. हेमाङ्ग राजलगायतलाई क्रिस्चियनको पैसा खाएको, भाषा भत्काएको, संस्कृत परम्परा मास्ने षड्यन्त्र गरेको जस्ता आरोप लगाइयो । यस्ता आरोपको सैद्धान्तिक स्रोत हो– संस्कृत भाषाको परम्परा जोगाइराख्ने जिकिर । एक समयका झर्रोवादी आन्दोलनका नेता तारानाथ शर्माले त सुधारवादीको व्यापक भत्सर्ना गर्दै पाणिनी व्याकरण हुबहु पालन गर्नुपर्ने बताएका छन् । त्यसैगरी सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा भनिएको छ, ‘नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँग समेत गहिरो रूपमा सम्बन्धित छ ।’ वास्तवमा हिज्जेको विवाद बहकिएर अन्तै पुगिसकेको छ । यसैको पुच्छर पक्रेर स्कुलमा संस्कृत भाषा फेरि पढाउन थाल्नुपर्ने तर्क गरिएको छ । हिन्दू धर्म र संस्कृतिको वर्चस्व कायम गर्ने राजनीतिक अभीष्ट मिसाइएको छ हिज्जे विवादमा । आधुनिक भाषा विज्ञानका तर्कलाई विदेशी संस्कृतिको रूपमा व्याख्या गर्नु र क्रिस्चियनको प्रभावमा हिज्जे सुधार गर्न खोजिएको आरोप लगाइनुमा हिज्जेको स्वाभाविक तर्क मात्र छैनन् । भारतमा मोदी र उनको पार्टीले चलाएको अनुदार हिन्दू राष्ट्रवादको झल्को नेपालमा विभिन्न रूपमा प्रकट हुने गरेको छ । हिन्दू राष्ट्रको नारा यही मेसोमा नवीकरण गरिनु निकै गम्भीर कुरा हो ।

माध्यम भाषाको दायित्व 
संस्कृत भाषाको नियमलाई जस्ताको तस्तै लागू गरेन भने सबैथोक भत्किन्छ भन्ने तर्क त ट्रयाक्टर ल्याएर हलोको संस्कृति बिगारे भने जस्तै हो । हलो हराउँछ भन्ने चिन्ता हुनेले संग्रहालयमा ठाउँ खोज्नुपर्छ । त्यसो त शरीरलाई कामै नलाग्ने एपेन्डिक्स पनि मान्छेको शरीरमा बाँकी रहेको छ । फुट्न लाग्यो भने एपेन्डिक्स झिकेर फालिन्छ, जोगाएर राखिन्न । यसो भनेर सुधारवादीले गरेको प्रस्तावमा बहस नै गर्नुहुन्न भनिएको होइन । संस्कृतकै नियम हुबहु हुनुपर्छ भनेपछि अगाडि बढेर बहस नै हुँदैन, फगत जिद्दी हुन्छ । भाषा वैज्ञानिक लोहनी संयुक्त अक्षर देवनागरी लिपिको सुन्दरता भएकाले हटाउनै चाहिँ नहुने तर्क गर्छन् । त्यसैगरी पदयोग र वियोग गर्दा जहाँ–जहाँ अप्ठ्यारो पर्छ, त्यहाँ फुकाउने जिम्मा प्रयोगकर्तालाई छाडिदिनु सही निकास हो । कसैको नाम ‘दीपक कुमार घिमिरे’ रहेछ भने उसलाई संस्कृतको नियमअनुसार जोडेर दीपककुमार लेख भन्ने आदेश दिन मिल्दैन । धेरैको नाम आजकल यसरी नै लेख्ने चलन चलिसक्यो । कसैलाई जोड्न मन लाग्छ भने पनि ठीकै छ । यस्ता प्रसंगमा प्रयोगले गाँठा फुकाउँदै जान्छ । संसारका अनेक भाषामा श, ष र स खोज्ने टन्टा गर्नुभन्दा एउटै स सजिलो छ । लौ हुँदै हुँदैन भने यसलाई पनि प्रयोगमा छाड्ने हो । ह्रस्वदीर्घमा पनि त्यस्तै हो । हरेकले एक–एकजना प्रुफ रिडर साथै लिएर हिँड्न सक्दैन, जनजीवनले यसैउसै सजिलो रोज्छ । संस्कृतको नियम नै हुनुपर्छ भन्ने कुरा भाषिक अधिनायकवाद हो, हजुरआमाकै पालामा डल्याएर राख्ने नियत हो । सर्वोच्च अदालतको आदेशले संस्कृतको ‘शुद्धता’ स्थापित गरिदिने भए संस्कृत भाषा नै जोगाइदिन्थ्यो होला नि ! नेपालको सन्दर्भमा भाषाको बहस यस्तो हुनै सक्दैन । भाषाका हिसाबले सबैभन्दा जटिल मुलुकमध्ये एक हो नेपाल । राज्य पुनर्संरचनाको कामअन्तर्गत भाषाको नीति बनिसकेकै छैन, भर्खर आयोग बनेको छ । सत्तामा पकड भएको समुदायको भाषाको नाम ‘नेपाली’ राखिदिएपछि अरू भाषाचाहिँ अनेपाली हो त भन्ने सवाल उठेको छ । विभिन्न मातृभाषाको इज्जत र अधिकार पुनस्र्थापित गरेर मातृभाषी जनताको शिर उठाउन र उन्नतिको बाटो खोल्न बाँकी नै छ । माध्यम भाषाको दायित्व यो भाषाले कसरी निर्वाह गर्छ ? भाषाको लोकतन्त्रको बहस त यतातिर पो छ । संसारभरि शक्तिशाली समुदायको भाषा स्थापित भएको छ । यो कटु सत्य हो । नेपाली भाषा पनि सत्ताका सबै शक्ति प्रयोग गरेर माध्यम भाषा बनेको हो । लालमोहर, हुकुमप्रमांगी होस् वा राष्ट्रभाषामा सबै जनजिब्रोलाई ढाल्ने कानुनी र परिपत्रको तरिका होस्, माध्यम भाषाका रूपमा अनिवार्य पाठ्यक्रम बनाएर होस् वा ‘टोपी नलगाए प्रवेश निषेध’को प्रशासनिक तरिका अपनाएर होस्, यसलाई माध्याम भाषाको रूपमा स्थापित गरिसकिएको छ । अन्तर्राष्ट्रिय माध्यम भाषाको रूपमा अंग्रेजी भएजस्तै नेपालको माध्यम भाषा अब यही भाषा भइसक्यो । हिजोसम्म तेरो जिब्रो जेसुकै होस्, यही सिक् भनियो, तर अब सबैको मातृभाषालाई समेत सम्मान गर्दै माध्यम भाषाको दायित्व यसले निर्वाह गर्नुको विकल्प छैन । तर, माध्यम भाषाको दायित्व निर्वाह गर्दा इतिहासलाई बारम्बार सम्झनु जरुरी छ । अर्थात् इतिहासमा तमाम मातृभाषी जनताले भाषाका कारण भोग्नुपरेको अलगाव, बहिष्करण र तिरस्कारको क्षतिपूर्ति पनि यो भाषाको दायित्वभित्र पर्छ । हिजो देवकोटाका पालामा आधासरो संस्कृत शब्द मिसाइयो । आजको साहित्यमा विभिन्न मातृभाषाबाट शब्दहरू आइरहेका छन्, ठेट शब्दहरू छिरेका छन्, संस्कृत धेरै कम भएको छ । हिजोको साहित्य, कानुनी, प्रशासनिक लेखनमा जनजाति, आदिवासी, मधेसीका कुरा हुँदैनथे, आजका पत्रपत्रिकामा ती कथाव्यथा छ्याप्छ्याप्ती आउन थाले । यतिले मात्र पुग्दैन । माध्यम भाषाको रूपमा जनजाति, मधेसी, दलित, महिला, अल्पसंख्यक सबैको ऐना यसले देखाउन सक्नुपर्छ । मधेसी, थारूजस्ता समुदायमा यो भाषाको कुनै साहित्य पढिँदैन, किन ? किनकि उनीहरूको व्यथा यो भाषामा अटेको छैन । सीमान्तकृत समुदायबाट आउने लेखकका लागि यो भाषा यसै अप्ठ्यारो छ, त्यसमाथि संस्कृतका नियम थोपरेर झन् अप्ठ्यारो बनाउन मिल्छ कि मिल्दैन ? माध्यम भाषाको विशेषता त सजिलो हुनु हो । सजिलो यसप्रकार पनि हुनुपर्छ कि तमाम मातृभाषी समुदायका आकांक्षालाई यसले सम्मान गरोस् । शब्दहरू भित्र्याउने, सांस्कृतिक आदान–प्रदान गर्नेलगायत भूमिकामा पनि माध्यम भाषाको भूमिका अत्यन्त लोकतान्त्रिक र लोकमैत्री हुनुपर्छ । त्यसैले संस्कृतको सुन्दरता आत्मसात् गर्ने तर जडता हटाउँदै जाने बाटोले नै भाषालाई रचनात्मक बनाउँछ । यो नै भविष्यमुखी बाटो हो । 

अन्तिममा 
रत्नपार्कमा टाँगिएको फ्लेक्स फगत एक बुख्याचा हो । बुख्याचाले तर्साउँछ, तर त्यो नक्कली हुन्छ । यस्तो पहिलोपटक भएको भने होइन । जनजाति, मधेसीले पहिचान खोज्दा जातिवादी, विखण्डनकारी भन्ने नक्कली आरोप लगाइयो । दलित, महिलालगायतलाई सीमित आरक्षणको व्यवस्था गर्दा योग्यताको आधार भत्कियो भनेर हल्ला गरियो । हो, भूपीले भनेझौ यो हल्लैहल्लाको देश हो । किनभने यहाँ पटक–पटक कुनै न कुनै बुख्याचा खडा गरिन्छ र सर्वसाधारणलाई आतंकित पारिन्छ । यो फ्लेक्सले त्यही काम गरेको छ । एक त विवाद भाषाको कानमा अड्केको छ, त्यही कान पनि कागले लगिसकेको छ । फेसबुक, ट्विटरतिर आतंक पोस्ट गर्नेहरूलाई त कान छामेर हेर्न सुझाब दिन सकिन्छ, तर बुख्याचा खडा गरेर मान्छे तर्साउनेहरूलाई के भन्ने ?

नयाँ पत्रिकाबाट साभार

No comments:

Post a Comment