प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला सम्पन्न (भिडियोसहित) - नेपाली भाषा शिक्षक समिति

Friday, May 22, 2020

प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला सम्पन्न (भिडियोसहित)


पोखरा । प्रविधिमैत्री शिक्षक  समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला शनिबार समापन भएको छ । चैत १९ गतेदेखि सुरु भएर झण्डै ४० दिन (९० घन्टा) सञ्चालन भएको तालिममा दैनिक ६० देखि ७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी  पुनले  प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्नुपर्ने धारणा राखिन् । 'किन भर्चुअल क्लास सञ्चालन नगर्ने मन्त्रीज्यू ?' भनेर आफूलाई पटक पटक प्रश्न आउने गरेको प्रसङ्ग उठाउँदै मन्त्री पुनले गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो र सामान्य टेलिभिजनसमेत नपुगेको ठाउँ रहेको बताइन् । त्यस अर्थमा सर्वप्रथम स्थानीय सरकारहरुले आधारभूत सुविधा व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा पुनले राखिन् ।
मन्त्री पुनले गत वर्ष सामाजिक विकास मन्त्रालयले करिब ३२ करोड रुपैयाँ विद्यालयहरुलाई वितरण गरेको स्मरण गर्दै कतिपय विद्यालयहरुमा जाँदा १ तिहाइ रकम पनि सम्बन्धित काममा खर्च नगरिएकोमा दु:ख लागेको अनुभव सुनाइन् । कतिपय विद्यालयमा भएका कम्प्युटरहरु तन्नाले छोपेर राखिएको अवस्थामा भेटिएको भन्दै उनले आगामी दिनमा तिनीहरुको उपयोग भएको अवस्था देख्न पाउने आशा व्यक्त गरिन् । प्रविधिमैत्री शैक्षिक गतिविधि सञ्चालनका लागि प्रविधिमैत्री शिक्षक समाजसँग सहकार्य गर्न आफू तयार रहेको मन्त्री पुनको भनाइ थियो ।

प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले दैनिक करिब २ हजार जना शिक्षकहरुलाई अनलाइनबाटै तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै अबको शिक्षा प्रविधिबिना अघि बढ्न नसक्ने धारणा राखे । सामाजिक सञ्जालबाट सुरु गरिएको अभियानले राष्ट्रव्यापी रुपमा सफलता पाएको भन्दै उनले यस अभियानमा सरकारी तहबाट पनि सहयोगको अपेक्षा राखे ।

प्रशिस गण्डकी प्रदेश तथा कार्यक्रमका अध्यक्ष श्रीकान्त पौडेलले यो समापन कार्यक्रम तालिमको क्रमभङ्गता मात्रै भएको भन्दै जिल्लागत क्लष्टरहरु निर्माण गरेर अर्को चरणको तालिम अघि बढाइने बताए । उनले नीति निर्माणकै तहबाट प्रविधिमैत्री शिक्षाको अवधारणा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक समन्वय गर्न आफूहरु तयार रहेको जनाए ।

प्रशिस प्रदेश नं. १ का अध्यक्ष बालकुमार रेग्मीले प्रदेश नं. १ सरकारद्वारा ६० दिने तालिमका लागि बजेट विनियोजन भई दैनिक ६०० जनालाई प्रशिसकै नेतृत्वमा तालिम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत  विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारी, प्रशिसका केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा. आर. सी. लामिछाने, नेपाल शिक्षक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका गण्डकी  प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेल, प्रशिस केन्द्रीय सचिव हरिहर दाहाल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ, गण्डकी विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घनश्याम पौडेल, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तिलक सिलवाललगायतले प्रविधिमैत्री शिक्षण-सिकाइको आवश्यकतामा जोड दिएका थिए ।

प्रदेश सचिव संविधान लामिछानेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष खडकराज अधिकारीले स्वागत गरेका थिए । गण्डकी प्रदेश गतिविधिबारे केन्द्रीय सदस्य सिर्जना खनालले प्रकाश पारेकी थिइन् । कार्यक्रममा अनिल श्रेष्ठले गणित विषयको, प्रशिस स्याङ्जाका उपाध्यक्ष कृष्णबहादुर गोदारले सामाजिक विषयको र शिक्षक प्रोफाइल निर्माणका बारेमा गण्डकी प्रदेशका प्राविधिक समितिका संयोजक खेमराज पौडेलले सामग्री प्रस्तुत गरेका थिए ।

विश्वभर फैलिइरहेको कोभिड-१९, कोरोना भाइरसका कारण नेपालमा भएको लक डाउनको सदुपयोग गर्दै प्रविधिमैत्री शिक्षक समाजले अनलाइनबाटै शिक्षकहरुका लागि तालिम सञ्चालन गरेको थियो । अध्यक्ष श्रीकान्त पौडेलका अनुसार शिक्षणलाई प्रविधिसँग जोड्नका लागि आवश्यक सीप जुम नामक भिडियो एप्लिकेसनबाट शिक्षकहरुलाई प्रदान गरिएको थियो । तालिममा इमेल-इन्टरनेट, ब्लग र युट्युब, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सेल, माइक्रोसफ्ट पावर प्वाइन्ट, गुगल क्लास रुम, रुटिन निर्माण, इमिस, मोबाइल एप्लिकेसनहरु, क्लाउड स्टोरेज, इजी स्केच, अडियो भिडियो एडिटिङ, स्कुल प्रोफाइल, शिक्षक प्रोफाइल, फोटोसप, मोटिभेसनल क्लासलगायतका विषयमा  प्रशिक्षण दिइएको थियो ।



No comments:

Post a Comment