प्रविधिमैत्री शिक्षक समाज, कैलालीको ८ दिने अनलाइन तालिम सम्पन्न - नेपाली भाषा शिक्षक समिति

Thursday, August 20, 2020

प्रविधिमैत्री शिक्षक समाज, कैलालीको ८ दिने अनलाइन तालिम सम्पन्न

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, जिल्ला समन्वय समिति, कैलालीले सञ्चालन गरेको ८ दिने सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अनलाइन तालिम बिहीबार साँझ सम्पन्न भएको छ ।


जिल्ला समन्वय समितिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बस्यालले सिकाइका लागि धीरता आवश्यक पर्नेमा जोड दिए । देशभरका शिक्षकहरुको सिप विकासका लागि प्रविधिमैत्री शिक्षक समाजले निःशुल्क अनलाइन तालिम दिएर शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ थियो । अब शिक्षकहरु कक्षाकोठामा जाँदा प्रविधिमैत्री भएर जानैपर्ने भन्दै बस्यालले द्रुत गतिको इन्टरनेटको विकास गरेर अनलाइन पढाइलाई निरन्तरता दिन ३ ओटै तहका सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।

शिक्षा तालिम केन्द्र, डोटीका प्रमुख चेतराज पन्तले अब टी. पी. डी. तालिम पनि प्रविधिकै माध्यमबाट सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । गत वर्ष पनि अनलाइन तालिम सञ्चालन गरिएको र यो वर्ष पनि भर्चुअल मोडबाट नै तालिम सञ्चालन गरिने र त्यसका लागि प्रविधिमैत्री शिक्षक समाजको सहयोग लिइने उनको भनाइ थियो । शिक्षकले सिकेको कुरालाई कक्षाकोठामा प्रयोग गर्नुपर्ने धारणा राख्दै पन्तले शिक्षकको पेसागत सक्षमताका लागि सूचना तथा सञ्चार प्रविधिको ज्ञान र सिप अनिवार्य भएकोमा जोड दिए ।

उपाध्यक्ष रोशन उपाध्यायको स्वागत, वीरेन्द्रप्रसाद न्यौपानेको प्रतिवेदन तथा कलावती उपाध्याय र शारदा तिमिल्सिनाको संयुक्त सञ्चालनमा भएको कार्यक्रममा प्रशिस सुदुरपश्चिम प्रदेशका अध्यक्ष गङ्गाराम ओझा, केन्द्रीय उपाध्यक्ष हिमाकुमारी थापालगायतले शुभकामना दिएका थिए ।

साउन २९  गतेदेखि सुरु भएको तालिममा उद्धव सिंह, परशुराम उपाध्याय, वीरेन्द्र न्यौपाने, राधा बिष्ट, शारदा तिमिल्सिना, हर्क बोहरा, रोशन उपाध्यायलगायतले माइक्रोसफ्ट वर्ड एक्सल पावरप्वाइन्ट मोबाइल एप्स इमेल इन्टरनेटसम्बन्धी सिप र तिनको कक्षाकोठामा प्रयोगका सम्बन्धमा सहजीकरण गरेका थिए ।

 


4 comments:

  1. बधाई छ कैलालीलाई ।

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद कार्यक्रमको लागि ।र बधाई छ कैलालीलाई ।

    ReplyDelete