प्रविधिमैत्री शिक्षक समाजको नेपाली विषयगत तालिम समापन - नेपाली भाषा शिक्षक समिति

Friday, June 5, 2020

प्रविधिमैत्री शिक्षक समाजको नेपाली विषयगत तालिम समापन

पोखरा । प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा विषय शिक्षक समितिको १ महिने अनलाइन तालिम शुक्रबार समापन भएको छ ।

वैशाख २४ गतेदेखि सञ्चालित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकका माध्यमबाट कक्षाकोठा हुँदै हरेक विद्यार्थीसम्म प्रविधिमैत्री शैक्षणिक गतिविधि पु¥याउने समाजको अभियान सफल हुँदै गएको अनुभव सुनाए ।
 हरेक विषयगत समितिले शिक्षकहरुका लागि आफ्नो विषयगत सामग्री निर्माण गर्ने प्रविधिका बारेमा तालिम सञ्चालन गरिरहेको बताउँदै उनले अबको शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य रहेकोमा जोड दिए ।   
तालिमको समापनसँगै नेपाली भाषा विषय शिक्षक समितिले कक्षा ८ र १० को डिजिटल शैक्षिक सामग्री निर्माण कार्यक्रम सुरु भएको जानकारी दिएको छ । तालिमका अवधिमा सिकेको प्रविधिको प्रयोग गरेर अब विषयगत सामग्री निर्माण गरिने संयोजक हर्क बोहराले जानकारी दिए । 
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेलले सम्मानित, समर्पित र उत्साहित शिक्षकले मात्रै प्रतिकूलतालाई अनुकूलतामा बदलेर शैक्षिक गतिविधि सञ्चालन गर्न सक्नेमा जोड दिए । शिक्षकहरुलाई राज्यले उचित सम्मान दिन नसकेकोप्रति सङ्केत गर्दै पौडेलले शिक्षकको सम्मान नभई शिक्षा अघि बढ्न नसक्ने धारणा राखे । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा बुँदा नं. १६६ मा उल्लेख गरेका कुरामा असहमति जनाउँदै उनले यस्ता हचुवा प्रवृत्तिले शिक्षकहरुलाई हतोत्साही बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । सो बुँदामा निजी विद्यालयले सामुदायिक विद्यालयको उन्नति गर्नुपर्ने उल्लेख छ । 


 नेपाली विषय हरेक विषयको माध्यम भाषा भएकाले यसको थप महत्व रहेको प्रष्ट्याउँदै पूर्व महानिर्देशक पौडेलले सबैको सम्पर्क भाषा र एकताको सूत्र पनि भएकाले नेपाली भाषालाई प्रविधिमा ढालेर अध्यापन गर्नका लागि प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको कार्यको खुलेर प्रशंसा गर्नुपर्ने बताए । राज्यले साढे दुई दशकमा अरबौँ रुपैयाँको लगानीमा गर्न नसकेको काम प्रविधिमैत्री शिक्षक समाजले साढे दुई महिनामा गरेर देखाएको उनको विचार थियो । आफूले जागिरे जीवनमा गरेका सबै हस्ताक्षरमध्ये प्रविधिमैत्री शिक्षक समाजको वैधानिकताका लागि दिइएको सिफारिसमा गरेको हस्ताक्षरप्रति सधैँ गौरव लाग्ने पौडेलले दोहो¥याए । ‘नेपाली विषयमा पनि केको प्रविधि ?’ भन्ने धारणालाई समितिले खण्डन गरिदिएको उनको भनाइ थियो । प्रविधिमा भएका इन्टरनेट, विजुलीलगायतका चुनौतीलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले आफ्नो अध्यापकीय अनुभव सुनाउँदै समाज परिवर्तनको संवाहकका रुपमा शिक्षकको चित्रण गरे ।

नेपाली भाषा विषय समितिका संयोजक हर्क बोहराको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हिमा थापाले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्रविधिमैत्री शिक्ष््राक समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवीन कँडेल, महासचिव देवीप्रसाद शर्मा, तालिम सञ्चालन तथा व्यावस्थापन महाशाखाका संयोजक घनश्याम अधिकारी, नेपाली भाषा शिक्षक परिषद् कास्की, नेपालका अध्यक्ष डिल्लीराम अर्याल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. केशव भुसाल, सामाजिक विषय समितिका संयोजक छविलाल सुवेदीलगायतले शुभकामना दिएका थिए । सो अवसरमा रुक्मणि पौडेल, प्रभा लम्साल रेग्मी, तारादेवी आचार्य, सिर्जना न्यौपाने र प्रतिमा पौडेलले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रममा चक्रप्रसाद अधिकारीले स्वागत कविता सुनाएका थिए ।
रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक प्रशुराम चौधरीले तयार पारेका प्रतिवेदन केशव कँडेलले प्रस्तुत गरेका थिए । झण्डै ७५ घन्टे तालिममा छविलाल सुवेदी, भीम पनेरु, टीका सुवेदी, प्रभात सुवेदी, परशुराम उपाध्याय, श्रीकृष्ण आचार्य, केशव कँडेल, रुपिन्द्र प्रभावी, हिमा थापा, प्रशुराम चौधरी, चक्रप्रसाद अधिकारी, डा. खगेन्द्रप्रसाद लुइँटेललगायतले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, इजी स्केच, ब्लग, वर्णविन्यास, छन्द, शब्दपत्ती, भिडियो निर्माणलगायतका विषयमा सहजीकरण गरेका थिए । 

यसै बीच, तालिमको समापनसँगै नेपाली भाषा विषय शिक्षक समितिले कक्षा ८ र १० को डिजिटल शैक्षिक सामग्री निर्माण कार्यक्रम सुरु भएको जानकारी दिएको छ । तालिमका अवधिमा सिकेको प्रविधिको प्रयोग गरेर अब विषयगत सामग्री निर्माण गरिने संयोजक हर्क बोहराले जानकारी दिए । अबको करिब १० दिनसम्म सामग्री निर्माणका लागि समितिले कार्य विभाजसमेत गरिसकेको बोहराको भनाइ छ । निर्मित सामग्रीलाई बोहराकै संयोजकत्वमा हिमा थापा, केशव कँडेल, प्रशुुुुराम चौधरी, रुपिन्द्र प्रभावी, होमनाथ भट्टराई, रुक्मणि पौडेल, प्रभा लम्साल रेग्मी, तारादेवी आचार्य, प्रतिमा पौडेल र मिलन श्रेष्ठ सदस्य रहेको सम्पादन समितिले अन्तिम रुप दिएपछि सम्पूर्ण नेपाली भाषा विषय शिक्षकसम्म पु¥याइने समितिले जनाएको छ ।
 

1 comment:

  1. सरहरू सबैमा नमस्कार ! सर नेपालीका अरु पाठका सामग्रीहरू कहिले पोस्ट गर्नुहुन्छ ? सबै नेपाली शिक्षक साथीहरूले १/१ ओटा पाठको बनाउँदा सबैलाई हुन्छ बरु म पनि कुनै नेपालीको कक्षा ८,९, १० मध्ये को एउटा पाठको सामग्री बनाउँछु । धन्यवाद !

    ReplyDelete