प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन कार्यशाला सम्पन्न - नेपाली भाषा शिक्षक समिति

Monday, June 8, 2020

प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन कार्यशाला सम्पन्न

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीको २ हप्ते अनलाइन कार्यशाला सोमबार सम्पन्न भएको छ । 
गत जेठ १३ गतेदेखि शिक्षकहरुका लागि सञ्चालित शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषय अनलाइन कार्यशाला समापन कार्यक्रममा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य बनेकोमा वक्ताहरुले जोड दिए । 

कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकहरु स्वतःस्फूर्त रुपमा शैक्षिक उन्नयनका लागि जागरुक भएको बताए । प्रविधिमैत्री शिक्षक तयार पारी सिङ्गो शैक्षिक प्रणालीलाई नै प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा बस्यालको जोड थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री शिक्षक समाजले सरकारलाई गुन लगाएको भन्दै समाजको प्रशंसा गरे । अबको शिक्षक तालिम अनलाइनबाटै गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुवेदीले यसले खर्च कम र लाभान्वित बढी हुने जिकिर गरे । नेपाल सरकारले असार १ गतेदेखि प्रविधिकै माध्यमबाट शिक्षण गर्नका लागि सबैलाई आग्रह गरेर निर्देशिका जारी गरेको बताउँदै उनले यसमा भर्चुअल विभेद सिर्जना नहुने गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष रमेश भट्टराई र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, पोखरा महानगर कमिटीका अध्यक्ष भुवन सुवेदीले यो अवस्थामा सरकार सुतेको र शिक्षक जागेको कुरा प्रमाणित गर्न यस अवधिमा सिकेका कुरालाई स्थिति सहज भएपछि कक्षाकोठामा पु¥याउनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा महानगरपालिका योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङ, प्रशिस केन्द्रीय उपाध्यक्ष हिमा थापा, महासचिव देवीप्रसाद शर्मा, सचिव हरिहर दाहाल, प्राविधिक समितिका संयोजक घनश्याम अधिकारी, गण्डकी प्रदेश अध्यक्ष श्रीकान्त पौडेल, सहभागीहरुका तर्फबाट सरिता ढकाललगायतले बोलेका थिए ।


जिल्ला अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक समितिका संयोजक विक्रम चापागाईँले प्रतिवेदन प्रस्तुत गर्दै शिक्षण सिकाइमा आवश्यक पर्ने इमेल, इन्टरनेट, मोबाइल एप्स, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, अडियो÷भिडियो एडिटिङलगायतका विषयमा सहभागीहरुलाई तालिम दिइएको जनाकारी दिए । सो अवसरमा उत्तमकुमार श्रेष्ठ, बृहस्पति लम्साल, इन्दिरा सापकोटा र वसन्ती सुवेदीले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भीम सुवेदीले गरेका थिए ।

2 comments:

  1. आवश्यक साथै असल अभ्यास सधन्यवाद गुरुवर

    ReplyDelete