पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य - देवेन्द्र अर्याल ‘आँसु’ - नेपाली भाषा शिक्षक समिति

Wednesday, January 13, 2021

पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य - देवेन्द्र अर्याल ‘आँसु’

आलेख

पाठ्यपुस्तकमा समावेशी हुन नसकेको साहित्य

- देवेन्द्र अर्याल ‘आँसु’

१. विषय प्रवेश

विश्वका कुनै पनि देशमा आफ्नो भाषा, साहित्य र संस्कृतिका बारेमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्यापन गराइन्छ । विद्यार्थीलाई त्यसतर्˚ रूचि जगाउन, नैतिक शिक्षा सिकाउन, ज्ञानविज्ञानको जानकारी दिन विविध कारणले साहित्यिक रचनालाई पाठ्यपुस्तकमा समेटिएको पाइन्छ । नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले पनि दशकौँदेखि पाठ्यपुस्तकमा नेपाली विषयअन्तर्गत विभिन्न स्रष्टाका रचना समावेश गर्दै आएको छ ।


केन्द्रले प्रकाशन गरेको कक्षा १ देखि १० सम्मका नेपाली विषयका पाठ्यपुस्तकमा विभिन्न कालखण्डमा विविध प्रकारका साहित्यिक रचनाहरु समावेश हुँदै आएका छन् । राजनीतिक व्यवस्था परिवर्तनसँगै पाठ्यपुस्तकमा पनि केही न केही परिवर्तन हुने गरेको पाइन्छ ।

उनीहरुको रचना समावेश हुने तर उनीहरुको रचनामा नाम छुटाएर पुस्तक तयार गर्नु वा प्रकाशन गर्नुका कारण बुझ्न सकिएन । त्यसैले कुनै पनि रचना लेखकको सम्पत्ति हो त्यसैले उसको रचनासँगै नाम पनि आउनुपर्छ भन्ने मान्यता सबैको पाइन्छ । कक्षा १०  मा समावेश भएको टीका एकाङ्की र दुई मितको कथा यस पूर्वको महेन्द्रमाला नामक पुस्तकमा समेटिएको नै हो तर पनि लेखक सम्पादकले यसपटक पुनः त्यसलाई समावेश गर्नु भएछ । त्यो राम्रै हो । तर त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो ।

२. वर्तमान अवस्था

साहित्यका विभिन्न विधालाई विद्यालय तहका पाठ्यक्रममा समावेश गरिएको छ । कथा, कविता, नाटक, निबन्ध, प्रबन्ध, जीवनी, पत्रलेखन, दैनिकी आदिलाई पाठ्यक्रममा समावेश गरिएको छ । विभिन्न स्रष्टाका साहित्यिक रचनालाई विभिन्न कक्षामा समावेश गरिएको छ । यस लेखमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रममा समेटिएका साहित्यिक रचनाबारे चर्चा गरिएको छ ।


कक्षागत रुपमा विश्लेषण गर्दा कक्षा १ मा ‘ताराबाजी लै लै’ भन्ने ज्यादै पुरानो बालगीत समावेश गरिएको छ । यसैगरी बस बस रे, कुखुरी काँ, काग दाजै नामको कविता पनि कक्षा एकमा समावेश भए पनि त्यसमा कवि तथा लेखकको नाम उल्लेख छैन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको टालाटुली बटुली कविता पनि समावेश भएको छ । कक्षा २ मा कवि क्षेत्रप्रताप अधिकारीको नानी बाबु, राष्ट्रकवि माधवप्रसाद घिमिरेको झन्डा फर, रामबाबु सुवेदीको पुस्तक, कृष्णप्रसाद पराजुलीको नाच्यो जुरेली, दैवज्ञराज न्यौपानेको के कहाँ बस्छ कविता समावेश गरिएको छ । हाम्रो देश नामक कवितामा भने कविको नाम उल्लेख छैन ।


यस्तै, कक्षा ३मा कवि श्रमिक बरालको असल विचार, सिद्धिचरण श्रेष्ठको किताव, पारसमणि प्रधानको खेतीबाल, चन्द्रप्रसाद न्यौपानेको नेपाली, राष्ट्रकवि माधवप्रसाद घिमिरेको घामछाया र कृष्णप्रसाद पराजुलीको सानु छ है सानु रचनाहरु समावेश भएको छ । यस्तै, कक्षा ४को नेपाली पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पाप लाग्छ, माधवप्रसाद घिमिरेको गाउँछ गीत नेपाली भन्ने बहुचर्चित गीत समावेश छ भने दैवज्ञराज न्यौपानेको नौलाख तारा, युगकवि सिद्धिचरण श्रेष्ठको आमा र पारसमणि प्रधानको लक्ष्य नामक कविता पनि समावेश भएको पाइन्छ ।


कक्षा ५मा कविशिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त नामक बहुचर्चित कविता समावेश भएको छ भने महेन्द्रमाला नामक पुरानो पाठ्यपुस्तकबाट किसानको रहर नामक कविता साभार गरिएको छ । जसमा रचनाकारको नाम उल्लेख छैन । यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको नदी, कृष्णप्रसाद पराजुलीको देशको माटो, घटराज भट्टराईको राष्ट्रिय गौरव कविता पनि पाठ्यपुस्तकमा समावेश भएको छ । यस्तै, कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा देवी नेपालद्वारा लेखिएको गुरू, सत्यमोहन जोशीको खोला, क्षेत्रप्रताप अधिकारीको स्वाभीमानी मुख कविता र  लिता दोषीको मानिस नै देवता कथा समावेश छन् । कक्षा ७ को नेपाली पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको परिचय, राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटै मुटु एउटै मर्म, भूपि शेरचनको सुनौलो भोलि, प्रभा भट्टराईको सभ्यता लगायतका कविताहरु समेटिएका छन् भने कृष्णराज चौधरीको मामालाई सुधार्ने भान्जो, जनकप्रसाद हुमागाईको सातदिने सभा, मातृका तिम्सिनाको सुन उगेल्ने भाले, नारायण रिजालको बोधिसत्वको कथा, तेजप्रकाश श्रेष्ठद्वारा लेखिएको बाक्लो दाल आदि कथाहरु पुस्तकमा समेटिएका छन् । 

यसैगरी विष्णुराज कुसुमद्वारा लिखित आबाल ब्रह्मचारी षडानन्द जीवनी, नेपाली धार्मिक वास्तुकला शीर्षकमा डा.जीवराज पोखरेलद्वारा लेखिएको प्रबन्ध पनि समावेश छन् । कक्षा ८को पाठ्यपुस्तकमा सिद्धिचरण श्रेष्ठको नेपाल, क्षेत्रप्रताप अधिकारीको सिप र श्रम, प्रभा भट्टराईको मेरो घर, जीवनाथ धमलाको आह्वानलगायतका कविताहरु समेटिएका छन् । यसैगरी प्रसिद्ध कथाकार रमेश विकलको ठग समातियो, शान्तदाश मानन्धरको एउटा घटना, सुधा त्रिपाठिको भाग्य, शारदारमण नेपालको मित्रता कथा पनि पुस्तकमा समावेश गरिएको छ । इन्द्रबहादुर खत्रीको ग्रन्थचित्र र गणेशप्रसाद भट्टराईको प्रकृति र वातावरण प्रबन्ध, मनिक्रमराज शर्माको हामी एउटै हौँ नामक एकाङ्की पनि पुस्तकमा समेटिएका छन् ।

माध्यमिक तहको कक्षा ९को पाठ्यपुस्तकमा कथाकार आत्माराम शर्मा पुडासैनीको डाक्टर अङ्कल, राजेन्द्र विमलको बन्धनबाट मुक्ति कथाका साथै लेखनाथ पौड्यालको वसन्त कोकिल, वासुदेव त्रिपाठिको सय रङ इन्द्रेनी, दुवसु क्षेत्रीको कविता यात्रा सुरू गरौँ र सुधा त्रिपाठिको निबन्ध म को हुँ ? पनि समावेश भएका छन् ।


त्यसैगरी माध्यमिक तहको कक्षा १०को पाठ्यपुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको वर्षा, भरतराज पन्तको सन्तुष्टि, पारिजातको म सडक बोल्दै छु नामक कविता पनि समेटिएका छन् । नेपाली कथामा आधुनिकता भित्रयाउने प्रथम कथाकार गुरूप्रसाद मैनालीको प्रत्यागमन, मनोवैज्ञानिक कथाकार गोविन्दबहादुर मल्ल गोठालेको लक्ष्मीपूजा, भवानी भिक्षुको माउजङ बाबुसाहेबको कोट कथा पनि समावेश भएको पाइन्छ । पुस्तकमा हास्यव्यङ्ग्य निबन्धका सम्राट भैरव अर्यालको चर्चित निबन्ध जय भुँडीका साथै भीमनिधि तिवारीको एकाङ्की टीका समावेश गरिएको छ ।


३. महिला तथा अल्पसङ्ख्यक समावेशीताः

पछिल्लो समयमा पाठ्यक्रमलाई समावेशी बनाउने चर्चा पनि उठ्यो तर त्यो चर्चामा नै सीमित बन्न पुग्यो । पाठ्व्रmमलाई समावशीकरण बनाउने काम २०४६ सालपछि मात्र थालनी भएको हो तर २०६२०६३ पछि केही सुधार गर्ने जमर्को गरियो तर त्यो सुधारको नाममा सुधार मात्र रह्यो । अझै पनि पाठ्यक्रममा पर्याप्तमात्रामा भौगौलिक, क्षेत्रगत, लैङ्गिक आदि रुपमा समावेशीकरण हुन सकेको छैन । महिला लेखिकालाई पाठ्यक्रममा समेट्न नसकिएको तथ्य कक्षा १देखि १०सम्मका पाठ्यपुस्तकमा महिला साहित्यकारका रचना ज्यादै न्यूनमात्रामा समावेश भएबाट पनि प्रष्ट हुन्छ । नजिकका लेखकका रचनालाई समावेश गर्दा पाठ्यक्रमको गुणस्तरीयताम ह्रास आएको डा. कुमारबहादुर कोइरालाको धारणा छ । (मधुपर्क, २०६९, जेठ) कोइरालाका अनुसार मानक साहित्य रचनामा स्थापित स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा समावेश हुनुपर्नेमा जोड दिँदै महिला स्रष्टा बढेको देखिन्छ तर  उनीहरुलाई सो अनुपातमा स्थान नमिलेको स्वीकार्नु हुन्छ । डा. कोइरालका अनुसार समावेशी भन्दैमा कम स्तरीय, स्पष्ट, प्रवृत्ति वा चिन्तन नभएकालाई समेट्न नहुने बताउनुहुन्छ । डा. कोइरालाको भनाइप्रति सहमति जनाउँदै डा. लक्ष्मण गौतम थप्नुहुन्छ पछिल्ला समयमा उचाइ नभएका व्यक्तिहरुका वा नजिकका व्यक्तिका रचना पनि पाठ्यक्रममा समावेश भए यो ज्यादै लाजमर्दो कुरा हो तर महिला स्रष्टालाई कमै स्थान दिइएकोमा अब बन्ने पाठ्यक्रममा अरु राम्रा, स्थापित स्रष्टालाई समेट्नुपर्ने सुझाव भाषाविद् प्रा.डा.माधव पोखरेलको छ । पाठ्यक्रम तयारीमा गुट, उपगुट, कोटानिहित भएको र राजनीतिक भागबन्डाका कारण समावेश हुनुपर्ने स्रष्टा छुट्न गएको आरोप पोखरेलको छ ।


अझै पनि अल्पसङख्यक लेखकका रचनाले पाठ्यपुस्तकमा उचित स्थान पाउन सकेका छैनन् । यसलाई कसरी लिने ? महिला अल्पसङ्खयक साहित्यकारका रचना समावेश नहुनुमा अभाव हो वा अन्य कुन कारण हो । समावेशीता, आरक्षण वा राजनीतिक वादका आधारमा मात्र रचना छनोट हुने हो वा स्तरीयता र विषयवस्तुका आधारमा छनोट हुने हो त्यसमा गम्भीर भएर ध्यान दिनु आवश्यक छ । आगामी दिनमा उनीहरुका रचना पाठ्यपुस्तकमा समावेश गर्नेतर्फ लेखन तथा सम्पादन मण्डल र नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । तर अहिलेसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकले अल्पसङ्ख्यक लेखकका रचनालाई त्यतिमात्रामा समेट्न सकेको देखिन्न । पाठ्यपुस्तकमा साहित्यिक रचना समेट्दा राजनीतिक कोटा वा वादको गहिरो प्रभाव परेको देखिन्छ । पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरुले ती पाठ्यपुस्तकमा समावेशीतालाई पूर्णरुपमा स्वीकार गरेको देखिन्न ।


४. समावेश महिला स्रष्टा

हालसम्म विद्यालय पाठ्यपुस्तकमा पारिजात, सुधा त्रिपाठी, प्रभा भट्टराई र ललिता दोषी गरी चार जना महिला साहित्यकारका रचनामात्र समेटिएको पाइन्छ । महिला समावेशी र आरक्षणका जे जति नारा फुके पनि वास्तवमा पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलले त्यसतिर ध्यान दिएको देखिन्न । कुनै स्रष्टाका बढी रचना समावेश हुँदा र कुनै स्रष्टाको एउटा पनि रचना समावेश नहुँदा त्यसलाई पक्कै पनि सम्पादन समूहले बेवास्ता गरेको हो भन्न सकिन्छ ।


५. पुनरावृत्तिको समस्या

नेपाली विषयको पाठ्यपुस्तकमा समटिएका लेख रचनामध्ये केही रचनाहरु दोहोरिएका छन् । यसतर्फ खासै लेखक सम्पादकको ध्यान पुगेको देखिन्न । कक्षा १०मा समावेश गरिएको लक्ष्मीपूजा नामक कथा कक्षा ११ को ऐच्छिक नेपालीमा समावेश भएकोले पनि यसको औचित्यमाथि प्रश्न उठ्न सक्दछ । यसैगरी कक्षा १० मा रहेको शत्रु कथा बि.ए. बि. एड् को अनिवार्य नेपालीमा राखिएको छ भने कक्षा ११ को ऐच्छिक नेपालीको लाहुरी भैँसी र कक्षा ११ को अनिवार्य नेपालीको शत्रु कथालाई पनि स्नातक तहको ऐच्छिक नेपालीमा राखिएको छ । यस्तै कैयन नाटक निबन्ध, उपन्यास पनि पाठमा पुनरावृत्त भएका छन् । कैयन् कविता तथा लेखरचनामा सर्जकको नाम समावेश नहुँदा ती रचनाका लेखक ओझेलमा पर्न पुगेका छन् भने उनीहरुको नाम छुट्दा सर्जकप्रति सम्मान मिलेको देखिन्न ।


उनीहरुको रचना समावेश हुने तर उनीहरुको रचनामा नाम छुटाएर पुस्तक तयार गर्नु वा प्रकाशन गर्नुका कारण बुझ्न सकिएन । त्यसैले कुनै पनि रचना लेखकको सम्पत्ति हो त्यसैले उसको रचनासँगै नाम पनि आउनुपर्छ भन्ने मान्यता सबैको पाइन्छ । कक्षा १०  मा समावेश भएको टीका एकाङ्की र दुई मितको कथा यस पूर्वको महेन्द्रमाला नामक पुस्तकमा समेटिएको नै हो तर पनि लेखक सम्पादकले यसपटक पुनः त्यसलाई समावेश गर्नु भएछ । त्यो राम्रै हो । तर त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो । कैयन् कविताहरु यसअगावैका पाठ्यपुस्तकमा समावेश भएका कारण नवीनता खोज्नेहरुका लागि पुरानै विषयवस्तु हात लाग्ने अवस्था छ । पुनरावृत्तिलाई यसपटकको पाठ्यपुस्तकले पनि रोक्न सकेको छैन । यस अगाडि तयार भएका महेन्द्रमाला पुस्तक र त्यसपछिका परिमार्जित अन्य पाठ्यक्रममा समावेश भएका कैयन् साहित्यिक रचना अहिले पनि विभिन्न तहमा समावेश गरिएका छन् ।


६. अन्त्यमा

यही २०७७ देखि कक्षा १ र ११मा नयाँ पाठ्यपुस्तक पढाइन्छन् । जसमा के कसरी पाठ्यवस्तु वा विधालाई समेटिएको छ । त्यो त पछि नै आँकलन गर्न मिल्ला तर विद्यमान कक्षा १देखि कक्षा १०सम्मका पाठ्यपुस्तकमा विभिन्न साहित्यकारका रचना समावेश गरिए पनि कुनै लेखक धेरै पटक आवृत्त भएका छन् भने कुनैको एउटै रचना पनि समावेश भएको छैन । यसले पाठ्यवस्तु छनोटमा सन्तुलन कायम नभएको देखिन्छ । कतै पुरानै पाठ्यपुस्तकका रचनालाई साभार गरिएको छ भने विषय छनोटमा एकरुपता कायम गर्दा कति ठाउँमा कठिनाइसमेत उत्पन्न भएको छ । कक्षा १०मा देवकोटाको प्रकृति चित्रणको कविता समावेश गर्दा उनका अन्य कुनै कविता समावेश गरिएको भए राम्रो हुने शिक्षकहरुको टिप्पणी रहेको छ ।


खास गरी कठिन शब्दयुक्त कविता, लामालामा कथा, निबन्धले विद्यार्थीमा खासगरी पठन क्षेत्रमा रूचि बढाएको पाइन्न । त्यसैले नैराश्यता बढाउने खालका नभई रूचि जगाउने खालका पाठहरु समावेश गर्नुपर्ने देखिन्छ । अहिले पठन संस्कृति कम हुँदै गएको सन्दर्भमा विद्यार्थीलाई रूचि बढाउने खालका रचना समेट्नु अत्यावश्यक छ । जसले विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ सीपको समेत विकास गर्न मद्दत गर्ने छ । जब कि त्यो पाठ्यक्रमले निर्दिष्ट गरेअनुरुपको समेत हुनु आवश्यक छ ।


सन्दर्भ सूचीः

मधुपर्क मासिक, गोरखापत्र संस्थान, धर्मपथ, माठमाडौँ, वर्ष ४५, अङ्क १, २०६९ जेठ

विद्यालय पाठ्यक्रम र निर्देशिका, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।

कक्षा १ देखि १० सम्मका नेपाली विषयका पुस्तकहरु ।


साभारः शब्दाङ्कुर, २०७७ माघ




  

1 comment:

  1. राम्रो र सान्दर्भिक लेख ।

    ReplyDelete