नेपाली भाषा शिक्षक समिति: समाचार
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, July 1, 2020

३५० शिक्षकलाई अनलाइनबाटै तालिम

5:03 AM 0
३५० शिक्षकलाई अनलाइनबाटै तालिम

पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश तनहुँले शिक्षकहरुका लागि अनलाइनबाटै तालिम दिन सुरु गरेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) अन्तर्गत माध्यमिक तथा आधारभूत तहका (६-८) अङ्ग्रेजी, गणित, विज्ञान र सूचना प्रविधि विषयमा ३५० जना शिक्षकहरूलाई भर्चुअल तालिम दिन सुरु गरेको हो ।


तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा बुधबार भएको उद्घाटन सत्रमा प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले अनलाइन तालिमको औचित्यमाथि प्रकाश पार्दै विद्यालय सञ्चालनमा प्रविधिको प्रयोगको आवश्यकतालाई परिपूर्ति गर्न यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । कार्यक्रममा प्राविधिक सहयोगको लागि रोष्टर प्रशिक्षकको रूपमा श्रीकान्त पौडेल, लक्ष्मण आचार्य, श्रीकृष्ण आचार्य, केशव घिमिरे र तालिम केन्द्रका प्रशिक्षक अनिषा यादव, राजकुमार विष्ट र दामोदर कार्की समेतको सहभागिता रहेको थियो ।

शाखा अधिकृत विदुरहरि आचार्यको सञ्चालनमा भएको कार्यक्रममा शाखा अधिकृत प्रकाश देवकोटाले स्वागत गरेका थिए। तालिम २८ गतेसम्म सञ्चालन हुने तालिम केन्द्रले जनाएको छ ।

Saturday, June 20, 2020

नेपाली भाषा शिक्षकहरुको अनलाइन रचना वाचन (भिडियोसहित)

8:51 AM 0
नेपाली भाषा शिक्षकहरुको अनलाइन रचना वाचन (भिडियोसहित)

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिले शनिबार अनलाइन रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

देशभरका नेपाली भाषा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमका प्रमख अतिथि प्राज्ञ डा. देवी नेपालले कविता वाचन गरी उद्घाटन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. नेपालले नेपाली भाषा साहित्यलाई प्रविधिसँग जोडेर कक्षाकोठामा पु्¥याउँदा थप प्रभावकारी हुने धारणा राखे । शिक्षणमा सबैभन्दा अब्बल जनशक्ति आउनुपर्नेमा जोड दिँदै उनले अझ नेपाली भाषा विषयका शिक्षकहरु थ्प अब्बल हुनुपर्नेमा जोड दिए । सिर्जनात्मक र समालोचनात्मक चेतसहितका शिक्षकले मात्र असल शिक्षा दिन सक्ने उनको भनाइ थियो । सबै खालका कवितामा लय हुने बताउँदै नेपालले कविता पढाउँदा त्यसले बोकेको लयलाई सर्वप्रथम शिक्षकले न्याय गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले समाजले शिक्षाका सबै क्षेत्र र विधालाई प्रविधिसँग जोड्ने अभियान अघि बढाएको बताए । नेपाली विषय समितिले गरेको सिर्जनात्मक कामबाट आफू खुसी भएको बताउँदै उनले साहित्यका माध्यमबाट जुनसुकै विषय सहज ढङ्गबाट अध्यापन गर्न सकिने बताए । 

कार्यक्रमको अध्यक्षता गरेका समाजका केन्द्रीय सदस्य तथा नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहराले समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए । १ महिने तालिमपछि नेपाली भाषा विषयको शैक्षिक सामग्री निर्माणको चरणमा आफूहरु रहेको जनाउ्रँदै उनले नेपाली भाषा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि निरन्तर लाग्ने बताए ।

उपाध्यक्ष हिमा थापाको स्वागतमा भएको कार्यक्रममा नमराज जैशी, भक्तिप्रसाद उपाध्याय, ध्रुव गिरी, चक्रप्रसाद अधिकारी, तारादेवी आचार्य, होमानाथ भट्टराई, प्रभा लम्साल रेग्मी, गौरी सुवेदी, ईश्वर जोशी, हरिहर दाहाला, शान्ता पन्थी, शोभा कडरिया, राम यादव, भूपिसिँह धामी, शिव सस्मितलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, महानन्द ढकाल, सीतादेवी पौडेल, प्रभात सुवेदी पनि कार्यक्रममा आफ्ना रचना सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रविधिमैत्री शिक्षक समाज, कास्कीका सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए ।

सम्पूर्ण कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्






Monday, June 8, 2020

प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन कार्यशाला सम्पन्न

5:04 AM 2
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन कार्यशाला सम्पन्न
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीको २ हप्ते अनलाइन कार्यशाला सोमबार सम्पन्न भएको छ । 
गत जेठ १३ गतेदेखि शिक्षकहरुका लागि सञ्चालित शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषय अनलाइन कार्यशाला समापन कार्यक्रममा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य बनेकोमा वक्ताहरुले जोड दिए । 

कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकहरु स्वतःस्फूर्त रुपमा शैक्षिक उन्नयनका लागि जागरुक भएको बताए । प्रविधिमैत्री शिक्षक तयार पारी सिङ्गो शैक्षिक प्रणालीलाई नै प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा बस्यालको जोड थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री शिक्षक समाजले सरकारलाई गुन लगाएको भन्दै समाजको प्रशंसा गरे । अबको शिक्षक तालिम अनलाइनबाटै गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुवेदीले यसले खर्च कम र लाभान्वित बढी हुने जिकिर गरे । नेपाल सरकारले असार १ गतेदेखि प्रविधिकै माध्यमबाट शिक्षण गर्नका लागि सबैलाई आग्रह गरेर निर्देशिका जारी गरेको बताउँदै उनले यसमा भर्चुअल विभेद सिर्जना नहुने गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष रमेश भट्टराई र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, पोखरा महानगर कमिटीका अध्यक्ष भुवन सुवेदीले यो अवस्थामा सरकार सुतेको र शिक्षक जागेको कुरा प्रमाणित गर्न यस अवधिमा सिकेका कुरालाई स्थिति सहज भएपछि कक्षाकोठामा पु¥याउनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा महानगरपालिका योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङ, प्रशिस केन्द्रीय उपाध्यक्ष हिमा थापा, महासचिव देवीप्रसाद शर्मा, सचिव हरिहर दाहाल, प्राविधिक समितिका संयोजक घनश्याम अधिकारी, गण्डकी प्रदेश अध्यक्ष श्रीकान्त पौडेल, सहभागीहरुका तर्फबाट सरिता ढकाललगायतले बोलेका थिए ।


जिल्ला अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक समितिका संयोजक विक्रम चापागाईँले प्रतिवेदन प्रस्तुत गर्दै शिक्षण सिकाइमा आवश्यक पर्ने इमेल, इन्टरनेट, मोबाइल एप्स, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, अडियो÷भिडियो एडिटिङलगायतका विषयमा सहभागीहरुलाई तालिम दिइएको जनाकारी दिए । सो अवसरमा उत्तमकुमार श्रेष्ठ, बृहस्पति लम्साल, इन्दिरा सापकोटा र वसन्ती सुवेदीले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भीम सुवेदीले गरेका थिए ।

Friday, June 5, 2020

प्रविधिमैत्री शिक्षक समाजको नेपाली विषयगत तालिम समापन

5:39 AM 1
प्रविधिमैत्री शिक्षक समाजको नेपाली विषयगत तालिम समापन
पोखरा । प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा विषय शिक्षक समितिको १ महिने अनलाइन तालिम शुक्रबार समापन भएको छ ।

वैशाख २४ गतेदेखि सञ्चालित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकका माध्यमबाट कक्षाकोठा हुँदै हरेक विद्यार्थीसम्म प्रविधिमैत्री शैक्षणिक गतिविधि पु¥याउने समाजको अभियान सफल हुँदै गएको अनुभव सुनाए ।
 हरेक विषयगत समितिले शिक्षकहरुका लागि आफ्नो विषयगत सामग्री निर्माण गर्ने प्रविधिका बारेमा तालिम सञ्चालन गरिरहेको बताउँदै उनले अबको शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य रहेकोमा जोड दिए ।   
तालिमको समापनसँगै नेपाली भाषा विषय शिक्षक समितिले कक्षा ८ र १० को डिजिटल शैक्षिक सामग्री निर्माण कार्यक्रम सुरु भएको जानकारी दिएको छ । तालिमका अवधिमा सिकेको प्रविधिको प्रयोग गरेर अब विषयगत सामग्री निर्माण गरिने संयोजक हर्क बोहराले जानकारी दिए । 
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेलले सम्मानित, समर्पित र उत्साहित शिक्षकले मात्रै प्रतिकूलतालाई अनुकूलतामा बदलेर शैक्षिक गतिविधि सञ्चालन गर्न सक्नेमा जोड दिए । शिक्षकहरुलाई राज्यले उचित सम्मान दिन नसकेकोप्रति सङ्केत गर्दै पौडेलले शिक्षकको सम्मान नभई शिक्षा अघि बढ्न नसक्ने धारणा राखे । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा बुँदा नं. १६६ मा उल्लेख गरेका कुरामा असहमति जनाउँदै उनले यस्ता हचुवा प्रवृत्तिले शिक्षकहरुलाई हतोत्साही बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । सो बुँदामा निजी विद्यालयले सामुदायिक विद्यालयको उन्नति गर्नुपर्ने उल्लेख छ । 


 नेपाली विषय हरेक विषयको माध्यम भाषा भएकाले यसको थप महत्व रहेको प्रष्ट्याउँदै पूर्व महानिर्देशक पौडेलले सबैको सम्पर्क भाषा र एकताको सूत्र पनि भएकाले नेपाली भाषालाई प्रविधिमा ढालेर अध्यापन गर्नका लागि प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको कार्यको खुलेर प्रशंसा गर्नुपर्ने बताए । राज्यले साढे दुई दशकमा अरबौँ रुपैयाँको लगानीमा गर्न नसकेको काम प्रविधिमैत्री शिक्षक समाजले साढे दुई महिनामा गरेर देखाएको उनको विचार थियो । आफूले जागिरे जीवनमा गरेका सबै हस्ताक्षरमध्ये प्रविधिमैत्री शिक्षक समाजको वैधानिकताका लागि दिइएको सिफारिसमा गरेको हस्ताक्षरप्रति सधैँ गौरव लाग्ने पौडेलले दोहो¥याए । ‘नेपाली विषयमा पनि केको प्रविधि ?’ भन्ने धारणालाई समितिले खण्डन गरिदिएको उनको भनाइ थियो । प्रविधिमा भएका इन्टरनेट, विजुलीलगायतका चुनौतीलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले आफ्नो अध्यापकीय अनुभव सुनाउँदै समाज परिवर्तनको संवाहकका रुपमा शिक्षकको चित्रण गरे ।

नेपाली भाषा विषय समितिका संयोजक हर्क बोहराको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हिमा थापाले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्रविधिमैत्री शिक्ष््राक समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवीन कँडेल, महासचिव देवीप्रसाद शर्मा, तालिम सञ्चालन तथा व्यावस्थापन महाशाखाका संयोजक घनश्याम अधिकारी, नेपाली भाषा शिक्षक परिषद् कास्की, नेपालका अध्यक्ष डिल्लीराम अर्याल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. केशव भुसाल, सामाजिक विषय समितिका संयोजक छविलाल सुवेदीलगायतले शुभकामना दिएका थिए । सो अवसरमा रुक्मणि पौडेल, प्रभा लम्साल रेग्मी, तारादेवी आचार्य, सिर्जना न्यौपाने र प्रतिमा पौडेलले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रममा चक्रप्रसाद अधिकारीले स्वागत कविता सुनाएका थिए ।
रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक प्रशुराम चौधरीले तयार पारेका प्रतिवेदन केशव कँडेलले प्रस्तुत गरेका थिए । झण्डै ७५ घन्टे तालिममा छविलाल सुवेदी, भीम पनेरु, टीका सुवेदी, प्रभात सुवेदी, परशुराम उपाध्याय, श्रीकृष्ण आचार्य, केशव कँडेल, रुपिन्द्र प्रभावी, हिमा थापा, प्रशुराम चौधरी, चक्रप्रसाद अधिकारी, डा. खगेन्द्रप्रसाद लुइँटेललगायतले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, इजी स्केच, ब्लग, वर्णविन्यास, छन्द, शब्दपत्ती, भिडियो निर्माणलगायतका विषयमा सहजीकरण गरेका थिए । 

यसै बीच, तालिमको समापनसँगै नेपाली भाषा विषय शिक्षक समितिले कक्षा ८ र १० को डिजिटल शैक्षिक सामग्री निर्माण कार्यक्रम सुरु भएको जानकारी दिएको छ । तालिमका अवधिमा सिकेको प्रविधिको प्रयोग गरेर अब विषयगत सामग्री निर्माण गरिने संयोजक हर्क बोहराले जानकारी दिए । अबको करिब १० दिनसम्म सामग्री निर्माणका लागि समितिले कार्य विभाजसमेत गरिसकेको बोहराको भनाइ छ । निर्मित सामग्रीलाई बोहराकै संयोजकत्वमा हिमा थापा, केशव कँडेल, प्रशुुुुराम चौधरी, रुपिन्द्र प्रभावी, होमनाथ भट्टराई, रुक्मणि पौडेल, प्रभा लम्साल रेग्मी, तारादेवी आचार्य, प्रतिमा पौडेल र मिलन श्रेष्ठ सदस्य रहेको सम्पादन समितिले अन्तिम रुप दिएपछि सम्पूर्ण नेपाली भाषा विषय शिक्षकसम्म पु¥याइने समितिले जनाएको छ ।
 

Tuesday, May 26, 2020

प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु

1:23 AM 0
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीले मङ्गलबारदेखि शिक्षकहरुका लागि अनलाइन तालिम सुरु गरेको छ ।

अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषयक अनलाइन कार्यशालाको पहिलो दिन जिल्ला समितिका सदस्य रुपिन्द्र प्रभावीले इमेल र इन्टरनेटका आधारभूत विषयमा सहजीकरण गरेका थिए ।  उनले इन्टरनेटको परिचय, डाउनलोड, इमेल र यसका कार्यहरुका विषयमा जानकारी दिएका थिए ।


प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्माले समाजलाई संस्थागत बनाउनका लागि मात्र नभई नेपालभरका शिक्षकहरुलाई प्रविधिमैत्री शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सक्षम बनाउनका लागि केन्द्र, प्रदेश हुँदै हाल जिल्ला तहमा तालिमहरु सञ्चालन गरिएको जानकारी दिए । उक्त कार्यशाला १० दिनसम्म सञ्चालन हुने अध्यक्ष सकुन्तला सोतीले जानकारी दिइन् ।

गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेलले गण्डकी प्रदेशका जिल्लाहरुले उत्कृष्ट प्रस्तुति दिइरहेको भन्दै यो कुनै विशेष व्यक्ति वा संस्थाको मात्रै हितमा नभई सिङ्गो नेपालको शैक्षिक क्षेत्रका लागि महत्त्वपूर्ण अभियान भएकोमा जोड दिए । प्राविधिक समितिका संयोजक विक्रम चापागाईँको संयोजनमा ६० भन्दा बढी शिक्षक/शिक्षिकाको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सञ्चालन प्राविधिक समितिका सदस्य वृहस्पति लम्सालले गरेका थिए ।

समाजको गण्डकी प्रदेश समितिले हालै मात्र ४० दिने अनलाइन तालिम समापन गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अनलाइन तालिम सञ्चालन भइरहेका छन् ।

Friday, May 22, 2020

प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला सम्पन्न (भिडियोसहित)

11:14 PM 0
प्रविधिमैत्री शिक्षक  समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला सम्पन्न (भिडियोसहित)

पोखरा । प्रविधिमैत्री शिक्षक  समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला शनिबार समापन भएको छ । चैत १९ गतेदेखि सुरु भएर झण्डै ४० दिन (९० घन्टा) सञ्चालन भएको तालिममा दैनिक ६० देखि ७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी  पुनले  प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्नुपर्ने धारणा राखिन् । 'किन भर्चुअल क्लास सञ्चालन नगर्ने मन्त्रीज्यू ?' भनेर आफूलाई पटक पटक प्रश्न आउने गरेको प्रसङ्ग उठाउँदै मन्त्री पुनले गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो र सामान्य टेलिभिजनसमेत नपुगेको ठाउँ रहेको बताइन् । त्यस अर्थमा सर्वप्रथम स्थानीय सरकारहरुले आधारभूत सुविधा व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा पुनले राखिन् ।
मन्त्री पुनले गत वर्ष सामाजिक विकास मन्त्रालयले करिब ३२ करोड रुपैयाँ विद्यालयहरुलाई वितरण गरेको स्मरण गर्दै कतिपय विद्यालयहरुमा जाँदा १ तिहाइ रकम पनि सम्बन्धित काममा खर्च नगरिएकोमा दु:ख लागेको अनुभव सुनाइन् । कतिपय विद्यालयमा भएका कम्प्युटरहरु तन्नाले छोपेर राखिएको अवस्थामा भेटिएको भन्दै उनले आगामी दिनमा तिनीहरुको उपयोग भएको अवस्था देख्न पाउने आशा व्यक्त गरिन् । प्रविधिमैत्री शैक्षिक गतिविधि सञ्चालनका लागि प्रविधिमैत्री शिक्षक समाजसँग सहकार्य गर्न आफू तयार रहेको मन्त्री पुनको भनाइ थियो ।

प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले दैनिक करिब २ हजार जना शिक्षकहरुलाई अनलाइनबाटै तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै अबको शिक्षा प्रविधिबिना अघि बढ्न नसक्ने धारणा राखे । सामाजिक सञ्जालबाट सुरु गरिएको अभियानले राष्ट्रव्यापी रुपमा सफलता पाएको भन्दै उनले यस अभियानमा सरकारी तहबाट पनि सहयोगको अपेक्षा राखे ।

प्रशिस गण्डकी प्रदेश तथा कार्यक्रमका अध्यक्ष श्रीकान्त पौडेलले यो समापन कार्यक्रम तालिमको क्रमभङ्गता मात्रै भएको भन्दै जिल्लागत क्लष्टरहरु निर्माण गरेर अर्को चरणको तालिम अघि बढाइने बताए । उनले नीति निर्माणकै तहबाट प्रविधिमैत्री शिक्षाको अवधारणा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक समन्वय गर्न आफूहरु तयार रहेको जनाए ।

प्रशिस प्रदेश नं. १ का अध्यक्ष बालकुमार रेग्मीले प्रदेश नं. १ सरकारद्वारा ६० दिने तालिमका लागि बजेट विनियोजन भई दैनिक ६०० जनालाई प्रशिसकै नेतृत्वमा तालिम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत  विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारी, प्रशिसका केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा. आर. सी. लामिछाने, नेपाल शिक्षक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका गण्डकी  प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेल, प्रशिस केन्द्रीय सचिव हरिहर दाहाल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ, गण्डकी विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घनश्याम पौडेल, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तिलक सिलवाललगायतले प्रविधिमैत्री शिक्षण-सिकाइको आवश्यकतामा जोड दिएका थिए ।

प्रदेश सचिव संविधान लामिछानेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष खडकराज अधिकारीले स्वागत गरेका थिए । गण्डकी प्रदेश गतिविधिबारे केन्द्रीय सदस्य सिर्जना खनालले प्रकाश पारेकी थिइन् । कार्यक्रममा अनिल श्रेष्ठले गणित विषयको, प्रशिस स्याङ्जाका उपाध्यक्ष कृष्णबहादुर गोदारले सामाजिक विषयको र शिक्षक प्रोफाइल निर्माणका बारेमा गण्डकी प्रदेशका प्राविधिक समितिका संयोजक खेमराज पौडेलले सामग्री प्रस्तुत गरेका थिए ।

विश्वभर फैलिइरहेको कोभिड-१९, कोरोना भाइरसका कारण नेपालमा भएको लक डाउनको सदुपयोग गर्दै प्रविधिमैत्री शिक्षक समाजले अनलाइनबाटै शिक्षकहरुका लागि तालिम सञ्चालन गरेको थियो । अध्यक्ष श्रीकान्त पौडेलका अनुसार शिक्षणलाई प्रविधिसँग जोड्नका लागि आवश्यक सीप जुम नामक भिडियो एप्लिकेसनबाट शिक्षकहरुलाई प्रदान गरिएको थियो । तालिममा इमेल-इन्टरनेट, ब्लग र युट्युब, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सेल, माइक्रोसफ्ट पावर प्वाइन्ट, गुगल क्लास रुम, रुटिन निर्माण, इमिस, मोबाइल एप्लिकेसनहरु, क्लाउड स्टोरेज, इजी स्केच, अडियो भिडियो एडिटिङ, स्कुल प्रोफाइल, शिक्षक प्रोफाइल, फोटोसप, मोटिभेसनल क्लासलगायतका विषयमा  प्रशिक्षण दिइएको थियो ।